१६ जेष्ठ २०७७, शुक्रबार

सहकारीका साधारणसा व्यवस्थापनको सवाल

१३ चैत्र २०७४, मंगलवार
सहकारीका साधारणसा व्यवस्थापनको सवाल
yadav humagain
यादव हुमागाई 
  • नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको हालै सम्पन्न साधारणसभामा भएको खर्च र उम्मेदवारी शुल्कका विषयमा बन्दशत्रमै विवाद भयो । साधारणसभामा भएको निर्वाचन प्रक्रिया समेत नियम अनुसार नभएको भन्दै परेको उजुरीमाथी सहकारी विभागले छानविन गरिरहेको छ । 
  • नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) का तत्कालिन अध्यक्ष ऋषिराज घिमिरेले दुई वर्षअघि सामाजिक संजाल फेसबुकमा सहकारी संस्थाले छिटो छरितो बनाउनका लागि ९ बुँदे सुझाव राखेका थिए । जसमा वर्षेनी एउटै गते र समयमा सभा गर्ने, बाह्य अतिथि नबोलाउने, सदस्यबाट सभा उद्घाटन गर्ने, उद्घाटन कार्यक्रम एक घण्टामा सक्ने, तीन जनालाई मात्र सम्बोधन गर्न दिने, प्रतिवेदन दोस्रो सत्रमा मात्र बाचनगर्ने लगायतका कुरा उल्लेख थिए । यसैगरी उनले साधारणसभामा अनावश्यक खर्च नगर्ने भन्दै ७ बुँदे अर्को सुझाव दिए । जसमा साधारणसभाका अतिथिहरुलाई उपयोगमा नआउने महंगो मायाको चिनो नदिने, महंगा खादाहरु नओढाउने, उपस्थित सदस्यलाई बढी रकम यातायात खर्च नदिने, अतिथिलाई महंगा माला नलगाईदिने, ठुलो भोज नगर्ने, अतिथिलाई पुश्पगुच्छाले मात्र स्वागत गर्ने, सदस्यलाई उत्प्रेरणा हुने विषय छनोट गरी विज्ञलाई बोल्न दिनेलगायतका थिए । 

sahakari-agm

यी विषयहरुले सहकारीका साधारणसभालाई व्यवस्थित बनाउनुपर्ने बहसलाई अगाडी सारेको छ । सहकारीका साधारणसभा, साधारणसभाको नाममा संस्थाको प्रचारसभा बन्न थालेको छ भने विकृत्ती समेत बढ्दै गएको छ । त्यसैले सहकारीका साधारणसभालाई व्यवस्थित बनाउनका लागि सरोकारवालाहरुको ध्यान पुगोस् भन्नका लागि यो लेखमा विषय उठान गरिएको छ ।
सिद्धान्तत स्वनियमनमा रहने सहकारी सदस्यद्वारा नियन्त्रीत संस्था हो । सहकारीमा साधारणसभा सबैभन्दा सर्वोच्च निकाय हो । साधारणसभाले गर्ने निर्णयको मान्यता  सबैभन्दा उपल्लो हुन्छ । सामान्य अवस्था बाहेक हरेक वर्ष साधारणसभाबाट संस्थाको वर्षभरी भएको कामको साथै वासलातको समिक्षा गर्दै आगामी वर्षको लागि कार्ययोजना बनाउने दायित्व हुन्छ । यसैगरी संचालक समिति तथा व्यवस्थापनबाट भएका कामको समिक्षा र निर्देशित गर्ने सभा पनि हो । यसैबाट कतिपय महत्वपूर्ण कामको जिम्मेवारी संचालक समितिलाई अधिकार दिने, बचत तथा ऋण लगायतका व्याजदर तय गर्ने, नीति, नियम, विनियमहरु बनाउने जस्ता महत्वपूर्ण काम पनि हुन्छन् । लेखापरिक्षक नियुक्ती गर्ने, उसको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिको चयन गर्ने जिम्मेवारी पनि यही सभाको हो । महत्वपूर्ण सभाको गरिमालाई पछिल्लो समय विकृत्त बनाइएको छ । सदस्यले समेत यसको महत्व नबुझ्दा सिमित व्यक्तिहरुले हालिमुहाली गर्ने प्रवृत्तीले प्रश्रय पाएको छ ।
साधारणसभामा प्रभावकारी नहुनुको एउटा प्रमुख कारण समय र अतिथीको मन्तव्य हुन् । लामा लामा कार्यक्रम र लम्बेतान भाषणको कारण साधारणसभाको गरिमा कमजोर बनिइरहेको छ । समयमै कार्यक्रम सुरु नगर्ने, मञ्चभरी अतिथीहरू राखेर घण्टौं लामो भाषण गराउने । संचालकको मञ्चभरी टन्नै अतिथी हुन्छन् । सहकारी नेतासँगै राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी, सामाजीक संघसंस्था, कलाकार, पत्रकारको आवरणमा पनि अतिथीहरुको लिस्ट लामो हुन्छ । यसबाहेक नियामक निकायका प्रतिनिधिहरु पनि छदैछन् ।
अनि सबै अतिथीहरुले भाषण गर्नुपर्ने, चाहे साधारणसभाका सदस्यका लागि प्रभावकारी होस् या नहोस्, सुनुन् वा नसुनुन् । यस्ता लम्बेतान भाषणबाट वाक्क दिक्क भएपछि सेयर सदस्यहरु कार्यक्रम छोडेर बिचैमा निस्कन्छन् । यसपछि साधारणसभाको मूख्य विषय बन्दसत्र संस्थाको नीति तय गर्ने बेलासम्ममा अधिकांश सदस्य घर फर्किसकेका हुन्छन् । त्यसपछि सिमित सदस्य राख्यो, ताली पड्कायो अनि निर्णयमा संचालक समिति र सिमित व्यक्तिको नै हालीमुहाली ।
साधारणसभाका यही विकृत्तीले संचालक समितिका केही व्यक्तिलाई मनोमानी गर्न पाउने वातावरण सिर्जना गरिरहेको छ । अतिथि छउन्जेल सभामा सहभागिता देखाउन यातायात खर्च नबाड्ने, खाना नखुवाउने गरी थुनेर राख्ने र त्यसपछि सदस्यहरु घर जाउन् र आफुले मन लागेको निर्णय गर्न सकियोस् भन्ने उद्देश्यअनुरुप काम भइरहेको छ ।
साधारणसभाको गरिमा घट्दै जानुको अर्को पक्ष भनेको प्रचारसभाको रुपमा यसलाई दुरुपयोग गर्नु पनि हो । विगतमा सहकारीका साधारणसभा अतिथिहरुलाई बाडिने खामवन्दी नगद उपहारको निकै चर्चा हुने गर्र्थो । उपहारको आकारका आधारमा त्यस्ता संस्थामा जानका लागि अतिथिहरुबिच हानथाप नै चल्थ्यो । सहकारी विभागदेखि डिभिजन सहकारी कार्यालयहरुका हाकीम र सहकारी अभियानका नेताहरु उपहारको आकार हेरेर कार्यक्रममा जाने नजाने निर्णय गर्ने प्रचलन छ ।
यसैगरी साधारणसभालाई संस्थाको मार्केटिङ गर्ने प्रचारसभाको रुपमा समेत दुरुपयोग हुन थालेको छ । जुन संस्थाले ठुलो पदमा भएका चर्चित व्यक्तिलाई अतिथि बनाउन सक्छ उसैको साधारणसभा भब्य सफल । जति पावरफुल व्यक्ति ल्याएर सभा गर्न सक्यो संस्थाको प्रचार उती नै बढी । यहि होडबाजीका कारण अतिथिहरुलाई लाखौ खर्च गरेर साधारणसभामा लगेर विज्ञापन गर्ने काम समेत भइरहेको छ । जिल्ला जिल्लाका सहकारीले प्लेन टिकट, महंगो होटलको मोजमानीसहित केन्द्रबाट प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरुका साथै कलाकारहरु उपस्थिती गराउने होडबाजी नै चल्छ । ठुला व्यक्ति ल्याएर भाषण गराएपछि ती संस्थामा सोझा सर्वसाधारण त आकर्षित हुने नै भए । देशको सार्वजनिक पदमा बसेको व्यक्तीले गरेको भाषणको आधारमा कुनै व्यक्ति संस्थाको सदस्य बनेर भोली संस्थाले बदमासी गर्र्यो भने जिम्मेवारी कसको ? अतिथीहरुले लामो लामो भाषण गर्नु सदस्यहरुले आफ्नो महत्वपूण एजेन्डामा छलफल गर्ने अधिकार हनन गर्नु पनि हो । यसैगरी महंगो भोज गरेर सदस्यहरुलाई अलमल्याउने, यातायात खर्चका नाममा पैसा बाड्ने, सदस्यहरुलाई समयमा प्रतिवेदन नबाड्ने प्रवृत्तीहरु ब्याप्त छन् । यसका कारण एकातिर साधारणसभा संस्थाको प्रचारसभा बनेको छ भने अर्को पक्ष यसबाट सहकारीको स्वनियमको सिद्धान्तको समेत बर्खिलाप भइ सिमित व्यक्तिले मनोमानी गर्न पाउने वातावरण समेत सिर्जना भएको छ ।
हुन त केही सहकारी संस्थाहरुमा साधारणसभा मितव्ययी ढंगले छिटो छरितो रुपमा संचालन गर्ने प्रचलन पनि केहीले प्रयोगमा ल्याएका छन् । विषेश गरी समुदायमा आधारित केही सहकारीमा स्थानीय समाजसेवी, वृद्ध सदस्यलाई अतिथि बनाउने राम्रो प्राक्टिस पनि छ । साधारणसभाको खर्च मितव्ययी गरेर सदस्यको हितमा वा सामाजीक काममा पनि खर्च गर्ने गरेको पाइन्छ । केही सहकारीका नेताहरुले पनि साधारणसभाले सदस्यहरुको सभाको रुपमा विकास गर्न समेत लविङ गरेको देखिन्छ । तर, यसले साधारणसभाका दृश्यहरुमा परिवर्तन ल्याएको देखिदैन । अधिकांश सहकारीमा संस्थामा अहिले पनि पुरानै ढर्रामा साधारणसभा हुन्छन् ।
साधारणसभाको नाममा विकृती बढ्दै गएपनि यसलाई व्यवस्थित गर्नेतर्फ नियामक निकाय वा सहकारीका संघहरुको ध्यान पुग्न नसकेको अवस्था छ । सहकारी विभागले जारी गरेको सहकारी दर्ता तथा नियमन मापदण्ड–२०६८ मा साधारणसभा मितव्ययी ढंगले गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, यो व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । अहिले विभागले निर्वाचन निर्देशिका मात्र जारी गरेको छ । साधारणसभालाई रचनात्मक ढंगले सदस्यलाई आकर्षित गर्ने र उसले संस्थालाई दिएको समयको पूर्ण उपयोग गर्ने गरी सभाको कार्यक्रम डिजाइन गर्नु आवश्यक छ । साधारणसभामा बाहिरी अतिथी नबोलाउने, उद्घाटन शत्र छोटो समय सक्ने, बन्दशत्रमा संस्थाको विषयमा घनिभुत छलफल गर्ने र त्यसबाहेकको समय शिक्षमूलक र सिपमूलक काम समेत गर्न सकिन्छ । यसका बरु नियामक निकाय, छाता संगठनहरुले सहकारी संस्थाको साधारणसभा सम्बन्धी निर्देशिका नै जारी गरेर व्यवस्थित गर्नेतर्फ कदम चाल्नुपर्छ ।
याे सामग्री हामीले yadavhumagain.com.np बाट साभार गरेका हौं । – सम्पादक

अभिलेख

लोकप्रिय