२२ मंसिर २०८०, शुक्रबार

सहकारीका समकालिन इस्यू !

६ फाल्गुन २०७२, बिहीबार
सहकारीका समकालिन इस्यू !

– नेत्रप्रसाद घिमिरे 
सहकारी भन्नाले कुनै निश्चित उद्देश्य प्राप्तिका लागि समुदायका मानिसहरु आफ्ना आवश्यकताहरु परिपूर्ति गर्न मिलेर गरिने कार्यलाई बुझाउँदछ । हरेक मानिसहरुमा रहेको आ—आफ्नो क्षमतालाई सामूहिकरुपमा उपयोग गरी बढी लाभान्वित हुने व्यावसायिक प्रणाली सहकारी हो । मानिस एक्लै केही गर्न सक्दैन, उसले केही गर्नका लागि सामूहिक कार्यमा आबद्ध हुन जरुरी छ । कमिला, मौरी तथा अन्य प्राणीहरु जसरी आ आफ्ना समूहमा आपसमा मिलेर बस्दछन् र काम गर्दछन् । त्यसैगरी मानव समुदायमा पनि एकआपसमा मिलेर संगै काम गरेमा त्यसको उद्देश्य हासिल गर्न सकिन्छ भन्ने दृष्टिकोण नै सहकारी भावना हो । सहकारी भनेको समान आर्थिक हैसियत, समान उद्देश्य, समान सोंचाइ भएका व्यक्तिहरु मिली आफ्नो आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि गरिने सामूहिक कार्य हो, जो प्रजातान्त्रिक तरिकाबाट सञ्चालन गरिन्छ । अर्थशास्त्रीहरुको भनाइमा सहकारी भनेको आर्थिक शोषणबाट मुक्ति पाउनु हो । त्यस्तै समाजशास्त्रीको भनाइमा सहकारी भनेको सामाजिक उत्पीडनबाट मुक्ति पाउनु हो ।

उल्लेखित सहकारीको सिद्धान्त अनुसार नेपालको सहकारी अभियानको विश्लेषण गर्दा नेपाल जस्ता कमजोर अर्थतन्त्र भएको देशका लागि उपयुक्त मोडेलका रुपमा सहकारीलाई लिएको पाइन्छ । अत नेपालमा निजी, सरकारी र सहकारी गरी तीनखम्बे अर्थनीतिलाइ अवलम्बन गरेको पाइन्छ । व्यवहारको कसीमा सहरी क्षेत्रका सहकारीहरुमा सहकारी भावना र मर्मविपरीत कार्य गरिएको आवाजहरु उठ्न थालेका छन् । सहकारी र बंैकवीचको अन्तरलाई केही सहकारीहरुले समान हुन् की भन्ने जस्तो काम गरेर त्यस्तो सन्देश दिने प्रयास गरिरहेका छन् । हामीले बुझ्नुपर्ने विषय के हो भने सहकारी व्यवसाय सदस्य केन्द्रित र सदस्यहरुको नियन्त्रण र व्यस्थापनमा चल्ने सामाजिक सामूदायिक व्यवसाय हो । सदस्यले कारोवार गर्दा शेयर खरिद गरेपछिमात्र संस्थाको सदस्य भइन्छ, सदस्य भनेको संस्थाको मालिक हो, सदस्यले साधारणसभामा भाग लिने, संचालकमा निर्वाचनमा भाग लिने, नीति कार्यक्रम निर्माणमा भाग लिने, संस्थामा कुनै अनियमितता भयो भने कारवाही गर्ने, संस्थाको सफलता र असफलताको जसअपजस सदस्य स्यम्ले लिनुपर्दछ । समय समयमा सदस्य आफै अनुगमन गरेर संस्थाको जोखिम व्यवस्थापनमा सहयोग गर्नुपर्ने हुन्छ । सहकारी स्वनियमनमा आधारित व्यवसाय भएकाले सदस्यहरुबाट हुने अनुगमन प्रभावकारी हुन्छ । अमुक सहकारी अमुक पार्टीको, अमुक सहकारी अमुक पार्टीको भनेर कित्ताकाट गरेर समेत चुनावी कार्यक्रमहरु भएको सुन्न पाइन्छ ।

सहकारी मापदण्ड अनुसार असोजपछि साधारण सभा गर्ने प्रारम्भिक संस्थाहरुमा समस्या हुनसक्छ भन्ने हामीले बुझ्नुपर्दछ त्यस्ता संस्थाहरु कुनैपनि बेला समस्यामा पर्न सक्छन् । विगतको संघहरुको इतिहासमा निर्वाचनमा राजनीतिक प्यानेल खडा गरी निर्वाचन सम्पन्न हुनुले सहकारी अभियानमा राजनीतिक विभाजन आयो भनेर निर्वाचनमा पराजित प्यानेलका उम्मेदवारले भनिरहेका छन् । यस्ता विषयलाई समयमा नै सहकारी सिद्धान्त अनुसार व्यवस्थापन गर्दै लैजानुपर्ने चुनौति देखिएको छ । डिभिजन सहकारी कार्यालयमा सहकारीका नाममा दर्ता भएका हजारौ संस्थाहरुलाई देखाएर नेपालमा सहकारीको विकास भएको कुरा गर्नुभन्दा संस्थाहरुको नतिजा र प्रभावको कुरा गर्ने समय आएको छ । सहकारीमा लोकतान्त्रिक अभ्यास हुने भएकाले, समुदायका सबै मानिसलाई व्यवसायिक छाताभित्र गोलबद्ध गर्ने भएकाले, छरिएर रहेको पुजी, श्रम, सीप र साधनलाई एकिकृत गर्ने सशक्त माध्यम भएकाले नै यसलाई देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा लिइएको हो तर शहरका सहकारीहरुमा लोकतान्त्रिक अभ्यास गराई सहकारीको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने देखिन्छ । आज सहकारीमा बचतकर्ताबाट रकम उठाएर उसलाई सदस्यताको अधिकार दिइदैन । ऋणीले ऋण भुक्तान गरिसकेपछि उसलाइै निस्क्रिय सदस्यमा गणना गरेर उसकोे सेयर रकम दायित्व हिसाबमा देखाइन्छ । एक व्यक्तिको नाममा सहकारी चिनिन्छ । जस्तै सुधिरको सहकारी यस्तै । अनि, त्यस्तै निजी फर्म झै सञ्चालन भएका सहकारीलाई देखाएर कर र अन्य सुविधाका विषयमा लचकता अपनाउन राज्य मान्दैन । सहकारी नाफामुखी भए भनेर सरकारले २०५७ देखि कर लगाउन सुरु गर्यो । यसरी साँच्चिकै सहकारी मूल्य र मान्यतामा चलेका संस्थाहरु दोहोरो चेपुवामा परेका छन् । एक त निजी फर्मका रुपमा सञ्चालन भएका वा राजनीति गर्न स्थापना गरिएका संस्थाहरुले निहित स्वार्थ पूरा गर्न गरेका जालझेलका कारण उनीहरु मारमा परेका छन् भने अर्कोतर्फ सरकारले त्यस्तै सहकारीलाई हेरेर नीतिनियम बनाउने गरेको पाइन्छ । अहिलेको नेपालको सन्दर्भमा समकालिन इस्यू पनि यहि हो ।

साँच्चिकै वास्तविक सहकारीहरु, गरिबका सहकारीहरु, ग्रामीण सहकारीहरु,महिला,दलित आदिवासीका सहकारीहरु मारमा परेका छन् भने व्यक्तिगत स्वार्थ पूरा गर्न डिभिजन सहकारी कार्यालयमा दर्ता भएका केही संस्था भने माल कमाउन व्यस्त छन् जुन कुरा ओरन्टलले प्रमाणित गरिसक्यो । सहकारीले मानव सशक्तिकरणमा मद्दत गर्छ, समाजमा भातृत्व, सहिष्णुता, आपसी प्रेम, हामीको भावना र सहकारीमा नेतृत्व विकास हुन्छ । सबभन्दा महत्वपूर्ण कुरा समाजलाई लोकतान्त्रिकरण हुन योगदान गर्दछ अर्थात समाजमा रहेको अपराधिक र निरंकुश र पक्षपाती एकतन्त्रीय विचारलाई विस्थापन गर्न सहकारीले सहयोग गर्दछ यो कुरा अमेरिका, युरोपजस्ता देशमा देखिएको छ । किनभने ग्रासरुटको जनताका लागि लोकतन्त्रको पहिलो पाठशाला सहकारी बन्दछ र बन्नुपर्दछ । त्यहाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुन्छ । त्यहाँ सम्पूर्ण सदस्यलाई भोटिङको अधिकार हुन्छ । सेयरको अनुपातमा नभएर एक व्यक्ति एक भोटको आधारमा सहकारी सञ्चालन हुन्छन् । तर यो विषयलाई शहरका खासगरी उपत्यकाका केही सहकारीहरुले परिपालनामा अटेर गरेको देख्न पाइन्छ । समयमा नै सचेत गराउँदै लगिएको भए सुधीर बस्नेतको ओरेन्टलले यति धेरै सदस्यको निक्षेपमाथि खेलवाड गर्न पाउँदैन थिए होला । बाटो बिराउन थालेको थाहा पाएर पनि सम्बन्धित सरोकारवालाहरुले सचेत गराउन चाहेनन् त्यही एक दुइवटा मुद्धालाई इस्यू बनाएर नेपाली समाज सहकारीमा कठोर कानुनको माग गरिरहेको छ । सदस्य शिक्षाको लागि एक पैसा पनि खर्च नगर्ने यस्ता संस्थाहरुले ठूल्ठूला विज्ञापनमार्फत सुनका सिक्कादेखि भ्रमणका प्याकेजसमेतको लोभ देखाएर निक्षेप संकलन गरिरहेका थिए । संकट त्यही दिन देखा परेको थियो । त्यसलाई त्यही नै समाधान गर्न सकिन्थ्यो । त्यो गलत कामलाई समयमा नै बिथोलिदिएको भए उनीहरु जनताको निक्षेप कुम्ल्याउने अभियानमा सफल हुने थिएनन् । सहकारीले आफ्ना सदस्यभित्र कारोबार गर्नुपर्छ, सदस्यका हितका लागि काम गर्नुपर्दछ । तर अहिले पनि थुप्रै सहकारी ठूलो व्यानारको बोर्डहरुबाट आममानिसलाई आकर्षित गर्न खोजिरहेका छन् । प्रतिष्ठित मानिसलाई सल्लाहकारमा राखेर सदस्यहरुलाई आकर्षित गर्ने प्रयास गर्दैछन् । छद्म सदस्यका नाममा विभिन्न व्यक्तिगत व्यवसायमा लगानी गर्दैछन् । त्यहाँ सदस्यको हितभन्दा पनि सदस्यलाई गरिब बनाउने प्रतिस्पर्धा चलेको पो हो कि जस्तो देखिन्छ । अझ संकलकहरुबाट बचत संकलन भैराखेको छ भने समय समयमा संस्थामा गएर पासवुक भिडान गरिएन भने त्यस्तो वचत निक्षेप जोखिममा पर्ने गरेको देखिएको छ । अत संकलकमाथि मात्र विश्वास गर्नु हुदैन । यस्ता समस्या रुपन्देहीमा कममात्र रहेको देखिन्छ तर चनाखो बन्न जरुरी चाँही छ ।

कतिपय तत्काल नाफा कमाउन सकिने खालको व्यवसायका रुपमा लिएर सहकारीमा व्यक्तिगत लगानी गरेर सञ्चालन गरेको पाइन्छ । सहकारी जनताले आफ्ना लागि आफै विकास गर्ने आर्थिक मोडेल हो । जो ठूला उद्योगधन्दामा लगानी गर्न सक्छन्, त्यस्ताले नीजि लगानीमार्फत उद्योग खोल्नुपर्नेमा उनीहरु सहकारी दर्ता गरेर ब्याजमा पैसा लगाउने कामलाई औपचारिक वैधानिकता दिन चाहन्छन् । यस्ता थुप्रै कारणले गर्दा सहकारीप्रति आमजनताबाट प्रश्न उठाउने वातावरण किन निर्माण गरिदै छ ? विकृत राजनीतिकरण र व्यापारीकरणको प्रवत्तिलाई नियन्त्रण गर्र्न तत्काल सम्बोधन गर्न सबै क्षेत्रबाट पहलकदम हुनुपर्छ । के कस्ता काम गरेमा तत्काल कस्तो कारवाही हुने भन्ने सहकारी कानुनमा स्पष्ट र प्रभावकारी व्यवस्था नभएकाले पनि डिभिजन सहकारी कार्यालयहरुलाई नियमनमा कठिनाइ भएको देखिन्छ । ठगीमा हुने कारवाही झन्झटिलो र अव्यवहारिक देखिन्छ अत सहकारी सिद्धान्तविपरीत काम गर्नेलाई तत्काल प्रभावकारी दण्डित गर्ने कानुन निर्माणमा ढिलाई गर्नु हुँदैन । मानिसहरुलाई सामाजिक उत्पीडन र आर्थिक उत्पीडनबाट मुक्त दिलाउन अंग्रजहरुले परिकल्पना गरेका सहकारी मोडल कतै शोषण गर्ने वैधानिक हतियार त बनिरहेको छैन हामीले सोच्ने बेला आएको छ । सहकारी किन आवश्यक छ भन्ने प्रश्नको व्यवहारिक उत्तर दिनु पर्ने बेला आइसकेको छ । सामाजिक उत्पीडनबाट मुक्ति पाउन, आर्थिक उत्पीडनबाट मुक्ति पाउन, धनी र गरिबबीचको विभेद अन्त्य गर्न, चेतनाको स्तर वृद्धि गर्न, रोजगारीको अवसर सिर्जना गर्न, बचत गर्ने बानी बसाउन, नेतृत्वदायी भूमिकाको विकास गर्न, गाउँको उत्पादन बजार र बजारको रकम गाउँमा लैजान, सुपथ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउन, सामूहिकरुपमा व्यवसाय सञ्चालन गर्न, एकता नै बल हो भन्ने कुरा आत्मसात गर्न, पुँजीको स्रोत बढाउन, सोचमा परिवर्तन ल्याउन, मेरो नभई हाम्रो भन्ने भावनाको विकास गर्न, कम पुँजीबाट व्यवसाय सञ्चालन गर्न, नयाँ जनशक्ति तयार गर्न, खेर गएको जनशक्ति परिचालन गर्न, निर्वाहमुखी व्यवसायको अन्त्य गरी निर्यातमुखी व्यवसाय सञ्चालन गर्न सहकारी आवश्यक छ । यसलाई व्यवहारमा उतार्न सहकारीमैत्री कानुन,वातावरण,नागरिक समाज आवश्यक रहेको छ ।

सबैका लागि एक र एकका लागि सबै सहकारीको मूल आदर्श र मान्यता भावनाले ओतप्रोत भई सहकारी मार्फत गाउँ, समाज र राष्ट्रको समृद्धिमा समाहित हुने वातावरण निर्माण गर्न आवश्यक छ । अझै पनि मेरो सहकारी, मैले दुःखले सफल बनाएको सहकारीमा म नै सञ्चालक हुनुपर्छ अरु सदस्य त सञ्चालक हुनै पाउदैनन, सञ्चालक हुन मेरो पाटीको विचारसंग मेल खाने हुनुपर्छ, बचत गर्न सदस्य हुन पर्दैन जसले गरेपनि हुन्छ, कर्जा लैजान धेरै व्याज दिने र वलियो धितो र रणसभामा भाग लिन चाही पाइदैन यदि सदस्यता लिइ साधारणसभामा भाग लिन इच्छा जाहेर गरिहाल्यो भने निस्क्रिय सदस्य, भाका नघाएको सदस्य आदि बहानामा सदस्यता निकाष्काशन गर्ने अभ्यासलाई सहकारी कसरी भन्ने ? फेरि प्रचलित कानुन र सिद्धान्त अनुरुप संस्थाका सबै अंग र सदस्यहरुले आ−आफ्नो जिम्मेवारी दायित्व र अधिकारप्रति वफादार रही काम गर्ने हो भने सहकारी सफल हुन्छ । सञ्चालक इमान्दार र मिहनेती, कर्मचारी व्यवस्थापन सक्षम तथा सदस्यहरुमा जागरुकता र सचेतता आउने हो भने सहकारी अभ्यासमा बल पुग्दछ र सहकारी मर्म अनुसार संस्थाले सफलता प्राप्त गर्न कुनै आइतवार कुर्नु पर्दैन ।

अभिलेख

लोकप्रिय