बिन्देश्वर श्रेष्ठ, प्रबन्ध सञ्चालक, संकटा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
सहकारीमा समस्या आउनुको मुख्य कारण के हो ?
सहकारीमा समस्या आउनुको मुख्य कारण भने म आफु पनि सहकारी छु भन्ने लाईन बिर्सेर हो । सहकारी भन्ने बित्तिकै एकल नेतृत्व हैन समुह हुनु पर्छ । अहिले माथिल्लो निकाय देखि तल्लो निकाय सम्म एकल नेतृत्वको चलिरहेको छ । यो पनि एउटा विकृति हो । अभिभावकहरु नै बिग्रे पछि प्रारम्भिक सहकारी संस्थाहरुको त के कुरा ? सहकारीमा नेतृत्व गर्ने नेताहरु नसचिएको कारणले पनि अहिले समस्या आएको हो ।
समस्या त आयो यसलाई कसरी निराकरण गर्न सकिन्छ ।तपाईहरु स्वनियमनमा चल्ने भन्नुहुन्छ ,राज्यले नियन्त्रण गर्ने कुरा पनि गर्छ नि ?
शब्दमा मिठो छ यो स्वनियमन भन्ने । तर सञ्चालनमा साह्रै समस्या आएको छ । स्वनियमनको अर्थ केहो भन्ने कुरा यो सहकारीमा लागेकाहरु आफुलाई पायक पर्ने नीति मात्र ल्याने रुपमा यसलाई व्याख्या गरे । सहकारीमा सदस्यहरुलाई फाइदा हुने र हितको लागि गर्नु पर्ने जुन काम छ त्यो काम गर्ने लाई स्वनियमन हुनु पर्नेमा यहाँ उल्टो काम भै रहेको छ । जो ठुला ठुला कुरा गरेर हिड्छ, सहकारीका मिठा मिठा भाषण गरेर हिड्नेले उहाँहरुको आफ्नो सहकारी कस्तो छ । त्यो खोजेर हिडौँ पहिला । सहकारीमा मै हु भने हिड्ने अहिले सहकारी अभियानका नेताहरु छन उनिहरुका सहकारीको अबस्था कस्तो त्यो खोजि हुनै पर्छ । त्यस पछि अन्य प्रारम्भिक संस्थाहरुलाई यो ठिक त्यो बेठिक भन्न सक्नु पर्नेमा यस्तो हुन सकेन । सहकारी अभियानमा लागेका अगुवाहरुको सहकारी राम्रो हुनु पर्यो अनि पो अभियानलाई गति दिन बल पुग्छ । त्यस्तै अहिले यहाँ सैद्धान्तिक ज्ञान भएका तर संस्था सञ्चालनमा कुनै अनुभव नभएकाहरुको जगजगी छ । सहकारी सञ्चालनमा राम्रो संग ज्ञान भएकाले मात्र नीत निमार्णमा दरिलोसंग लबिङ गर्न सक्छ । अभियान कम्जोर भयो र हामीले आफ्नो बाटोमा राम्रोसंग हिड्न सकेनौ भने त राज्यले केही न केही त पोलिसी बनाई हाल्छ नी ।
सहकारीमा समस्या आउनुको कारण उत्पादन मूलक क्षेत्रमा न लागेर पनि हो भन्छन नी ?
अस्ति भर्खरै सम्पन्न महासम्मेलनमा पनि आइसिएका अध्यक्षले भन्नुभयो सहकारीले उत्पादन क्षेत्रमा प्रथामिकता दिनु पर्र्छ । धेरै पैसा भएका सहकारीले उत्पादन क्षेत्रमा कसरी लगानी गर्ने राज्यले नियम बनाएको छैन । हाम्रा देशमा भएका नेता मन्त्री राष्ट्र बैंकका अधिकृतहरुले पनि सहकारीले लगानी गर्दा अब उत्पादन क्षेत्रमा लाग्नु पर्छ भन्छन्। भन्नलाई सजिलो छ । यहाँ गुरु हुन सजिलो चेला हुन गाह्रो । उहाँहरुले एउटा सहकारी चलाएर यसरी उत्पादन क्षेत्रमा लाग्नु पर्छ भनेर देखाउने हिम्मत गर्न सक्नु हुन्छ ? म उहाँहरुलाई चुनौति दिन्छु । हामी उत्पादन क्षेत्रमा जानु पर्छ भनेर खोजी गरि रहेका छौ । तर कुनै क्षेत्र फेला पर्न सको को छैन । सरकारले हामीलाई एउटा मात्र उत्पादनमा लाग्ने ठाउँ देखाइ दिओस् हामी भोली देखिनै त्यो क्षेत्रमा लगानी गर्न तयार छौँ । यो अशंभव कुरा बोलेर सहकारीलाई भ्रमित गराउने काम भै रहेको छ ।
तपाईहरुलाई उत्पादनमा जान कस्तो पोलिसि चाहिएको हो ?
उत्पादन हामीले कस्तो किसिमको गर्ने ? अहिले सबैले जाने बुझेको कृषिको उत्पादन हो । कृषि र दुध बाहेक अरुलाई उत्पादन नै भन्दैनन् । कुन क्षेत्रलाई उत्पादन भन्ने ? यहाँ अहिले काठमाडौमा मसला उत्पादन भै रहेको छ । जुन घरघरमा प्रयोग हुन्छ । यो पनि उत्पादन हो । यसलाई उत्पादनमा गनिएको छैन । एउटा सानो उद्योग चलाउ छु भन्ने संस्थाले अनुमति लिन जुन कठिनाई छ भने । अरु उत्पादन के गर्ने ? कहाँ गर्ने ? सहरका सहकारी पशुपालनको अनि कृषिको उत्पादन सम्भव कहाँ हुन्छ ? यहाँ जग्गा जमिनको कमी छ । १ सय गाई पाल्छु भन्दा ठाँउ जुटाउने अबस्था छैन । सहरमा रहेका सहकारीले करोडौ रुपैयाँ लगानी गरेर याँहाको बजार धान्छु भन्ने अबस्था पनि छैन । तर राज्यले गाँउका सहकारीसंग समन्वय गर्ने नीति बनाइदिओस र वतावरण बनाए काम गर्न सकिन्छ ।
तर यो गर्नलाई सहकारीहरुलाई अन्तर सहकारी कारोबार गर्न सरकारले रोक लगाएको छ । अनि कसरी गर्ने उत्पादनको काम । उतपादनमा जाने वित्तिय सहकारीलाई नयाँ नीति बनाएर अन्तरसहकारी कारोबार गर्न खुल्ला गर्ने हो भने उत्पादन मुलक क्षेत्रमा जान सकिन्छ । न्यूरोडमा करोडौ पैसा भएको सहकारीलाई उत्पादनमा जा भनेर के गर्ने ? उत्पादन क्षेत्रमा जा भन्दैमा पिपल बोटमा गएर धान रोप्ने र गाई पाल्ने कुरा भएन ।
सञ्चालकहरु नै कार्यकारी भएर सहकारी बिगारे भन्ने आरोप पनि छ नी ?
सञ्चालक र कार्यकारी प्रमुख एकै हुनु हुदैन भन्ने कुरा नाङ्लो ठटाएर हात्ती तर्साउने खेल मात्र हो । एउटाको उदाहरण लिएर सबैलाई गन्ने भन्दा पनि कार्यकारी र सञ्चालकहरु एकै भएको सहकारीले गरेका काम खोजौ न ति ठूला भनेका बैंक भन्दा सहकारीले दिएका सेवा उत्कृष्ठ छन् । समुदायमा आधारित रहेर स्थानिय स्तरमा सञ्चालन भएका सहकारीले जुन सेवा दिएका छन् । यसलाई कसरी सहयोग गर्ने र बचाउन भन्दा पनि यिनीहरुलाई कसरी बिस्थापित गर्ने भन्ने नियत खराब हो । जुन सहकारी समुदायमा आधारित रहेर बसेका छन् तिनमा कार्यकारी र सञ्चालक एकै भएकाले कुनै फरक पारेको छ भन्ने मलार्ई लाग्दैन । समुदायमा आधारित भएर सञ्चालन भएका सहकारीमा यो नियम लागु गर्ने भए आज सम्म सञ्चालनमा भएका ७५ प्रतिशत सहकारी बन्द हुन्छन् ।
निर्णय व्यक्ती केन्द्रीत भयो । सदस्य त ताली पड्काउनेमा मात्र सिमित भए भन्छन नी ?
एक व्यक्तीको निर्णय भयो की ? समुहको भयो माइनोट हेर्नु पर्छ । यो माइनोट के को लागि राखेको हो ,त्यसलाई नबुझी कन गरेको हल्ला हो । भोली केही भयो भने सञ्चालक पनि बिग्रन्छ । बदमासी भयो भने सञ्चालक नै जेल जान्छ । उसको घर जग्गा सम्पती जान्छ उनिहरुलाई पनि डर छ। एकल निर्णय होइन । जो संस्थामा कार्यकारी छ उसले सबैको अध्ययन गरि निर्णयका लागि पेस गरेको हुन्छ । अरु सञ्चालक आ आफ्नो ब्यापार व्यवसायमा व्यस्त हुन्छन । उनिहरुले अध्ययन गर्न भ्याउदैनन् । कार्यकारीले ल्याएको प्रस्ताव पास हुनुको कारण यो हो । एउटा व्यापारिले दिन भर आफ्नो व्यापार व्यवसायमा ब्यस्त हुन्छ । भोली सहकारीको बैठक छ भनेर एजेन्डा बनाउन त सक्दैन नी । जति सुकै अध्ययन गरेर ल्याएको छ भने नराम्रो कुरा त पास हुदैन ।