१३ बैशाख २०८१, बिहीबार

मजदुर आवश्यकताको परिणाम सहकारी

१८ बैशाख २०७१, बिहीबार
मजदुर आवश्यकताको परिणाम सहकारी

कुवेर निरौला /

इतिहासलाई हेर्दा सहकारीको सुरुआत कामदारको आपसी आवश्यकताको परिणामस्वरूप भएको देखिन्छ। औपचारिक तथा अनौपचारिक रूपमा मजदुर तथा विभिन्न प्रकारका कामदारको आपसी आकांक्षा र आवश्यकता परिपूर्तिका लागि सहकारी सुरु गरिएको पाइन्छ। नेपाली समुदायमा कृषि कार्यका लागि आपसमा पर्मबाट कार्य सम्पन्न गर्ने परम्परा आज पनि छँदैछ।

बेलायतमा औद्योगिक क्रान्तिको समयमा रोबर्ट ओवेनले मजदुरलाई गरिबीको चपेटाबाट मुक्ति दिलाउन सुरु गरेको सहकारी नै पहिलो औपचारिक सहकारी हो। त्यसै गरी जर्मनीमा एफडब्लू राइफाइसनले ग्रामीण समुदायका विशेष गरी कृषि मजदुरलाई लक्षित गरेर बचत तथा ऋण सहकारी सुरु गरेका थिए।

वास्तवमा कामदारबीच सहकारीको सुरुआत भने औद्योगिक पुँजीवादको गम्भीर र औद्योगिक क्रान्तिको चरम अवस्थाको समयदेखि भएको पाइन्छ। अमेरिकामा सहकारिताको स्पष्ट संरचना नभए पनि उन्नाईसौ शताब्दीमा मजदुरको ज्याला सुरक्षा नै धरापमा परेको समयबाट नै अनौपचारिक रूपमा सहकारिता सुरु भएको पाइन्छ। त्यसताका टोपी बनाउने, पाउरोटी बनाउने तथा गार्मेन्ट मजदुरबाट सहकारिता भएको इतिहास छ। बेलायत सहकारीको औपचारिक सुरु गर्ने थलो मानिएको छ।

मजदुरबाट नै सहकारीको जन्म भएको हो। त्यहाँ मजदुरबीच उत्पादन गर्ने प्रकारका सहकारी स्थापना भएको इतिहास पाइन्छ। पछि गएर कृषि सहकारी तथा उपभोक्ता सहकारीले छायामा पारिदियो। पछि गएर १९७० को दशकमा कामदारको सहकारिताले नयाँ मोड लियो।

जब उद्योगमा संकटको अवस्था आउन सुरु भयो, मजदुरको अवस्थामा पनि संकट बढ्दै गयो। यस्ता समूहले आपसमा मिलेर आफैंबाट नियन्त्रित सामूहिक व्यवसाय थालेको पुष्टि हुन्छ। यस्तो सुरुआत नै सहकारिताको सुरुआत हो। सहकारिताको उपज नै विभिन्न प्रकारका कामदार तथा मजदुरका लागि हो भन्ने बुझ्न आवश्यक छ।

सहकारी पेसागत हकहित संरक्षणका लागि स्थापित, सदस्यमा आधारित निकाय भएको विषयमा दुईमत हुन सक्दैन। यद्यपि यसले कामदारको सामाजिक विकासको पाटोलाई पनि उत्तिकै महत्त्व दिएको हुन्छ। कामदारको सुरक्षाको प्रत्याभूतिमा पनि यसको महत्त्वपूर्ण भूमिका हुन्छ। मानव जीवन नभइनहुने गाँस, बास र कपासबाट आवश्यकताको सुरुआत भएर मानिसका असीमित आकांक्षातर्फ मोडिइरहेको हुन्छ। यस्तो मोडाइलाई सम्बोधन गर्न सक्नु भनेको मानिसको आर्थिक सुरक्षा हो। जब मानिसमा, परिवारमा, समाजमा अनुशासनसहितको आर्थिक सुरक्षा रहन्छ त्यहाँ उत्साहको परिवेश पनि साथै रहेको हुन्छ। आर्थिक सुरक्षाका लागि त्यत्तिकै चेतनाको आवश्यकता पर्न जान्छ।

अर्कोतर्फ हाम्रो जस्तो विकासोन्मुख मुलुकको अर्थतन्त्रको बाडँफाटलाई नियालेर हेर्ने हो भने उद्यमशील तथा मध्यमवर्गीय समुदायमा मौद्रिक प्रवाह रहेको अवस्था छ। यसलाई अत्यन्तै छरिएर रहेको अवस्थाको प्रवाह मान्न सकिन्छ। यसको एकीकृतताको परिणामको बारेमा राज्यले समेत स्पष्ट रूपमा आकलन गर्न सकिरहेको अवस्था पाइँदैन। उद्योग व्यापार सञ्‍‍चालन गर्ने हकमा हेर्ने हो भने पनि साना तथा मझौला उद्योगसम्म यस्ता वर्गको पहुँच पुग्‍न सकेको पाइन्छ।

आर्थिक पहुँच तथा व्यावसायिक गतिविधिमा संलग्‍नताको विषयलगायत मानिसको धन सञ्चय एउटा अत्यन्तै महत्त्वपूर्ण विषय हुन जान्छ। यो कार्य मानिसको जीवनको आर्थिक सुरक्षा एउटा महत्त्वपूर्ण विषय हो। जबसम्म राज्यले नागरिकको आधारभूत अधिकार (रोजगारी, स्वास्थ्य, शिक्षा, वृद्ध अवस्थाको हेरचाह) को प्रत्याभूति गर्न सक्दैन तबसम्म मानिस आफैं यसका लागि तत्पर हुन जरुरी हुन्छ। त्यसैले पनि हामीमा आर्थिक सुरक्षा तथा सामाजिक सुरक्षा दुवै अत्यावश्यक छ र यसलाई मिलन गर्न सामाजिक तथा आर्थिक सचेतनाको आवश्यकता रहन्छ भन्ने स्पष्ट हुन्छ।

मानव जीवनको आजको अवस्था र कल्पना गरिएको भविष्यको अवस्थाको खाली पूरा गर्न आफैंले पुल निर्माण गनुपर्ने हुन्छ। यसका लागि आर्थिक तथा सामाजिक सचेतनाका साथसाथै सोही समुदायमा आधारित संस्थाको आवश्यकता रहन्छ, जसमा सबैको सहभागिता तथा पहुँचको आवश्यकता रहन्छ। यसरी आवश्यकताको आधारमा सदस्य र समुदायमा आधारित संस्थाको कानुनसम्मत ढंगले स्थापना गरी आफैंले सञ्चालन गर्न सकिने र आवश्यकतालाई सम्म्बोधन गर्ने संस्था सहकारी संस्था हुन सक्छ।

विभिन्न प्रतिष्ठानमा कार्यरत कामदार तथा स साना पेसा व्यवसायमा संलग्न मजदुरका साथै मुलुकको ग्रामीण समुदायमा कार्यरत विशेष गरी कृषि मजदुरको कामको प्रकृति फरकफरक भए पनि सबैको प्रमुख समय आफ्नो नियमित पेसामा नै केन्द्रित हुनेगर्छ। मानिसलाई यसका अतिरिक्त थप सक्रिय बनाई थप क्रियाकलापको आवश्यकता महसुस गरी युनियनले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेमा मध्यमवर्गीय समाजको आर्थिक विकासका लागि अवश्य पनि सहकारिता कोसेढुंगा नै साबित हुनेछ।

कामदारको बीचमा सहकारिताको आवश्यकता कुन क्षेत्रमा हुन सक्छ भन्ने पक्ष अर्को महत्त्वपूर्ण विषय रहन्छ। सहकारी सामूहिक व्यवसाय हो। यसका ग्राहक भनेका यसैका सदस्य हुन्। सदस्य भनेका यसका मालिक हुन्। यसबाट के स्पष्ट हुन्छ भने सामूहिक व्यवसाय सञ्‍चालन गर्न आवश्यकतामा आधारित भएर सञ्चालन गर्नु उपयुक्त हुन्छ।

सहकारीको रूपमा सञ्‍चालन गरिने व्यवसाय जीवनयापनमा सहजता तथा सरलताका लागि थप सहयोगी हुन्छ। त्यसैले कामदारलाई आवश्यक पर्ने आधारभूत पक्षमा सहयोग पुग्‍ने किसिमको सहकारी सफल र उपयोगी हुन्छ। उदाहरणका लागि समुदायमा उपभोक्ता सहकारी सञ्‍चालन गर्न सकेमा सरल मूल्यमा सहज तरिकाले गुणस्तरीय दैनिक उपभोग्य सामग्री प्रयोग गर्न सकिन्छ। यसबाट मूल्य तथा गुणस्तरमा सम्झौता गर्नुपर्ने अवस्था नरहन सक्छ। त्यसैगरी यस समुदायमा बचत तथा ऋण सहकारीको स्थापना गर्न सकेमा मानिसमा बचत गर्ने बानी बसाल्नुका साथै भविष्यका आकांक्षाको परिपूर्तिका योजना तयार गर्न सकिन्छ।

हाम्रो मुलुकको परिवेशमा विभिन्न क्षेत्रका कामदारका लागि औपचारिक सहकारिताका लागि अध्ययन अनुसन्धान गरी थुप्रै सम्भावना एकत्रित गर्न सकिन्छ जसले गर्दा यसका सदस्यको वर्तमान आवश्यकता परिपूर्तिका साथै भविष्यका आवश्यकताको आधार बन्न सक्छ। साभार Annapurna Post.

अभिलेख

लोकप्रिय