२४ असोज २०८१, बिहिबार

नमुना सहकारी 'दिदीबहिनी'

२०७३ भदौ १२, आईतवार
नमुना सहकारी 'दिदीबहिनी'

rojina

उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुँर्द प्रवन्धक रोजिना क्षत्री राई ।

म्याग्दी । बेनी स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले शनिबार पाँचौं साधारणसभा सम्पन्न गरेको छ । ‘महिला वर्गको समृद्धि, सशक्तिकरण र आर्थिक उन्नति’ भन्ने मूल नारासहित महिलाहरुको आफ्नै सक्रियता र व्यवस्थापनमा सञ्चालित सहकारीले तीज विशेष कार्यक्रमसहित आफ्नो पाँचौं साधारणसभा गरिएको हो ।

सहकारीमा कुल ५ सय ३३ जना शेयर सदस्यको एक करोड ४३ लाख ९४ हजार एकसय रुपैयाँ शेयर पुँजी रहेको छ । गत आर्थिक वर्षमा पाँचकरोड ४८ लाख ४४ हजार एकसय ५३ निक्षेप सङ्कलन, स्वरोजगार कोषसहित पाँचकरोड २० लाख एकहजार २७० लगानी, ७८ लाख ४७ हजार ३७६ आम्दानी र ६६ लाख ८० हजार १९७ रुपैयाँ खर्च भएको सहकारीले जनाएको छ ।

didi
६ जनालाई मुठ्ठीदान हस्तान्तरण

साधारणसभाको अवसरमा दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न ६ जनालाई मुठ्ठीदान हस्तान्तरण गरेको छ । म्याग्दीको बेनी नगरपालिका–१३ थामडाँडाका मृगौलापीडित तेजेन्द्र गुरुङलाई तातोपानी घरभई हाल कोरियाबाट भीमकुमारी तुलाचनमार्फत प्राप्त नगद १० हजारमा सहकारीले एकहजार १११ रुपैयाँ थपगरी कुल ११ हजार १११ रुपैयाँ उपचारका लागि सहयोग हस्तान्तरण गरिएको छ । यसैगरी बेनपा–६ मङ्गलाघाटका भूकम्पपीडित लक्ष्मी बानियाँलाई मुठ्ठीदानमार्फत घर निर्माणका लागि भन्दै सहकारीले नगद पाँचहजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिएको छ ।

त्यस्तै म्याग्दीको झिँ–८ घरभई हाल मङ्गला शिक्षा क्याम्पस बाबियाचौरमा अध्ययनरत दृष्टिविहिन धनमाया विकलाई पनि मुठ्ठीदानबाटै नगद पाँचहजार ५५५ रुपैयाँ सहयोग गरिएको छ । यसैगरी उनलाई कार्यक्रमको अवसरमा कार्यक्रमका अतिथि र संस्थाका शेयर सदस्यहरुबाट गरी कुल २४ हजार ३८५ रुपैयाँ आर्थिक सङ्कलन गरी सहयोग हस्तान्तरण गरिएको छ । त्यसैगरी बेनपा–५ जरबुटाकी मृगौलापीडित ईन्द्रा खत्रीलाई पनि पाँचहजार ५५५ रुपैयाँ सहयोग प्रदान गरिएको सहकारीका अध्यक्ष जमुना आचार्यले बताइन् ।

यसैबीच बेनपा–३ खबराकी माया नेपाली र बेनपा–५ की नैनकली विकलाई मुठ्ठीदानस्वरुप सङ्कलित खाद्यान्न सहयोग गरिएको छ । उनीहरुलाई क्रमशः ११/११ पाथी चामल, पाँचपाँच लिटर खानेतेल, पाँचपाँच केजीका दरले दाल, चिनी र नुन तथा एकएक केजी चियापत्ति सहयोग गरिएको सहकारीका सचिव विष्णु गौतम सापकोटाले जानकारी दिएकी छिन् ।

सहकारीमा आबद्ध २२ जनालाई सम्मानः साधारणसभाकै अवसरमा सहकारीले संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने विभिन्न २२ जनालाई सम्मान गरेको छ । सहकारीले उत्कृष्ट कारोबारतर्फ संस्थाका सहसचिव सुगम श्रेष्ठ, पर्व बचततर्फ कमला गिरी, असल कारोबारमा जानकी मल्ल, दैनिक बचत धिरन श्रेष्ठ, लखपति बचतमा ईश्वरी सापकोटा रहेका छन् । यसैगरी कर्जा लगानी धितोमा पवित्रा कँडेल, बचत धितोमा कोपिला दमाई, बाल बचतमा रेश्मा खत्री, सुनौलो बचततर्फ सुजाता श्रेष्ठ र पेन्सन बचतमा सुनिता कँडेल सुवेदी रहेका छन् ।

सहकारीले संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै प्रवन्धक रोजिना क्षत्री राई, एसएलसीमा उत्कृष्ट अङ्क ल्याउने स्मृति श्रेष्ठ, करण सुवेदी, सफल उद्यमीद्वय अनिता मल्ल केसी, सङ्गीता कार्की र ईन्दिरा शर्मा आचार्यलगायत सम्मानित सबैलाई मायाको चिनो र सम्मानपत्रले सम्मान गरिएको थियो । एकल महिला प्रोत्साहनतर्फ निर्मला श्रेष्ठ, हिराकुमारी शर्मा, हेमकुमारी पौडेल, प्रभा आचार्य र कमला गिरीलाई क्रमशः नगद पाँचपाँच सयका दरले सम्मान गरिएको छ ।

साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले सहकारी अब उद्यमशिलतातर्फ अग्रसर हुनुपर्ने धारणा राखेका थिए । उनले सहकारीले व्यावसायिक र उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकास गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष अमृता भण्डारी, ओमकुमारी शान्ति कोषका संरक्षक चन्द्रकुमार केसी, बेनी नगरपालिकाका कार्यक्रम अधिकृत सविता शर्मा कँडेल, लायन्स क्लब अफ म्याग्दी दोभानका प्रतिनिधि गीता शर्मा रिजाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका जिल्ला स्वयंसेवक विज्ञान सुवेदी,ु संगिनी बचत तथा ऋण सहकारीका उपाध्यक्ष गौरी, पत्रकार घनश्याम खड्का र शेयर सदस्य ज्ञानु बानियाँले मन्तव्य राखेका थिए ।
साधारणसभामा संस्थाका सचिव विष्णु गौतमले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साधारणसभाको अवसरमा सहभागी सबैलाई दर समेत खुवाइएको थियो भने तीजगीत प्रस्तुत गरिएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष जमुना आचार्यको अध्यक्षता, उपाध्यक्ष ज्योती लामिछानेको स्वागत र सचिव गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

बानियाँ सम्मानित
म्याग्दी जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार प्रताप बानियाँलाई सम्मान गरिएको छ । सदरमुकाममा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो पाँचौं वार्षिक साधारणसभाको अवसरमा उनलाई सम्मान गरेको हो ।

पत्रकारिताको माध्यमबाट सहकारीको विकास र प्रवद्र्धनमा समाचार सम्प्रेषण गरी सहयोग पु¥याएको भन्दै पत्रकार बानियाँलाई सहकारीले नगद तीनहजार ३३३ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेको सहकारीले जनाएको छ । सहकारीका अध्यक्ष जमुना आचार्य र कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले सम्मान गरेका हुन् ।

अभिलेख

लोकप्रिय