आफूले मेहेनत नगरी त केही हुँदैन । मैले सबैसँग हात जोडे । सबैलाई आफ्नो योजना सुनाएँ । नभन्दै सपना साकार भयो ।
राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले १७ नोभेम्बर २०१७ मा मलेसियामा सम्पन्न भएको विश्व सहकारीको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (इन्टरनेशनल कोअपरेटिभ एलायन्स, आइसीए) को ग्लोबल बोर्डमा निर्वाचित भएर इतिहास रच्नु भएको छ । नेपालले पहिलो पटक आइसीएको बोर्डमा प्रतिनिधित्व गरेको हो । एसिया प्रशान्त क्षेत्रबाटै पहिलो पटक आइसीएको बोर्डमा महिला निर्वाचित हुनु नेपालका लागि गर्वको विषय हो ।
नेपाल सन् १९९७ देखि आइसीएको सदस्य बनेको हो । यस अघि नेपालले आइसीएमा उम्मेदवारी दिएको भए पनि निर्वाचित हुन सकेको थिएन । मल्ल भने उम्मेदवारी दिएको पहिलो पटकमै निर्वाचित हुनु भएको हो ।
आइसीएको निवार्चनको तयारी गर्ने समयमा नेपालमा प्रतिनिधि तथा प्रदेश सभाका लागि निर्वाचनको व्यापक तयारी थियो । मल्ल पनि प्रतिनिधि सभाको सदस्यको टिकटका लागि दौडधुपमा व्यस्त हुनुहुन्थ्यो । जसका कारण मल्लले मलेसिया पुगेपछि मनोनयन दर्ता फिर्ता लिने तयारी गर्नुभएको थियो । तर, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालसहितले उहाँलाई उम्मेदवारी फिर्ता नलिन दबाब दिएपछि दुई दिनको तयारीमा उहाँ निर्वाचनमा होमिनु भएको बताउनुहुन्छ । ‘सासंदको टिकट नपाएपछि मैले सहकारीको अन्तर्राष्ट्रिय क्षेत्रमा जान्छु भनेर मनमनै सोचेको थिए । त्यसैले उम्मेदवारी झिकिन । झिक्नुपरे पनि मलेसिया पुगेर झिकौला भन्ने सोचे ।’ मल्लले भन्नुभयो, ‘तर, मलेसिया पुगेपछि माहोल परिवर्तन भयो । हामीले उम्मेदवारी झिकेनौ ।’ फलरुवरुप उहाँले आइसीएको बोर्ड सदस्यमा विजय प्राप्त गर्नुभयो । उहाँ ठूलो संघर्ष, मेहेनत र लगनशीलताका कारण यो यात्रा सफल भएको बताउनुहुन्छ । ‘म भाग्यमा पनि विश्वास गर्दछु, हुने बेलामा सबै मिलेर आउँदो रहेछ,’ उहाँ भन्नुहुन्छ, ‘ज्योतिषीले पनि मंसिरबाट राम्रो हुन्छ भन्नु भएको र संयोगले चुनावको दिन पनि मंसिर १ गते नै परेको थियो ।’
निर्वाचनको अघिल्लो रातको सपना
निर्वाचनको अघिल्लो रात देखेको सपनाले पनि उहाँलाई जित्ने संकेत दिएको बताउनुहुन्छ । सपनामा नेपालका एक वरिष्ठ नेताले उहाँलाई आफू बसेको कुर्सी छोडेर बस्न आग्रह गरेका थिए । जसलाई उहाँले जितको संकेत मानेको बताउनुहुन्छ । ‘सपनाको आधारमा म जित्छु जस्तो लागेको थियो ।’ उहाँले भन्नुभयो, ‘तर आफूले मेहेनत नगरी त केही हुँदैन । मैले सबैसँग हात जोडे । सबैलाई आफ्नो योजना सुनाएँ । नभन्दै सपना साकार भयो ।’
उहाँलाई महासंघका अध्यक्ष बडालको अभिव्यक्तिले पनि हौसला प्रदान गरेको थियो । उहाँ भन्नुहुन्छ– ‘बडाल सरले प्रजातान्त्रिक प्रक्रिया हो । जिते पनि हारे पनि उठ्नुपर्छ । यसले नेपाललाई त चिनाउने मौका मिल्छ, भन्नुभयो । त्यसैगरी एसिया प्रशान्त क्षेत्रका अध्यक्ष लिलगायत सबैले हौसला दिनुभयो ।’ निवर्तमान अध्यक्ष मोनिक र अध्यक्षमा निर्वाचित ग्वार्काेले पनि आफूलाई आत्मविश्वास भरिदिएको मल्ल बताउनुहुन्छ । ‘त्यस्तै श्रीमान केदार ढकालको पनि एमफीलको जाँच अगाडि सरेर सँगै जान पाउनु पनि एउटा संयोग नै हो । उहाँको साथले मलाई थप मद्दत पुग्यो ।’
२ मिनेटको भाषण
उहाँ आफ्नो जितको एउटा आधार दुई मिनेटको भाषणलाई पनि मान्नुहुन्छ । ‘मलाई एसिया एपीका अध्यक्ष लिले भन्नुभएको थियो कि दुई मिनेटको भाषण तेरो जित र हारको निर्णायक हुनेछ । त्यसैले हामीले अघिल्लो रातभरि त्यसका लागि तयारी ग¥यौं ।’ मल्ल स्मरण गर्नुहुन्छ, ‘केदार ढकाल सरको अंग्रेजी राम्रो, उहाँले भाषण लेख्नुभयो । हामीले रातभरि अभ्यास ग¥यौं । मैले भाषणमा संविधानसभा सदस्यका रुपमा आफूले सहकारीको विकासका लागि खेलेको भूमिका, तीन खम्बे अर्थनीतिलाई संविधानमा समावेश गर्न खेलेको भूमिका, २६ बर्षपछि सहकारी ऐन संशोधन गर्न गरेको मेहेनतलाई उल्लेख गर्दै दिगो विकास लक्ष्य प्राप्तिका लागि आइसीएको बोर्डमा रहेर काम गर्न चाहेको कुरा उल्लेख गरेको थिएँ ।’
राष्ट्रिय सहकारी महासंघको उपाध्यक्ष र संविधानसभा सदस्य नभएको भए पनि आफ्नो उम्मेदवारी ओझेलमा पर्ने मल्लको बुझाई छ । ‘हाम्रो दुई दिनको तयारी थियो । अरुको महिनौदेखिको । त्यसैले डर लागिरहेको थियो । तर विजयी घोषणा गर्ने समयमा २६ उम्मेदवारमध्ये १५ औं नम्बरमा मेरो नाम घोषणा हुँदा मैले त शुरुमा पत्याइन । तर त्यहाँ उपस्थित सबै नेपालीहरु खुसीयाली मनाउन थालिसक्नु भएको थियो ।’ उहाँ भन्नुहुन्छ,‘त्यसपछि हामीले खुसी भएर एक अर्कालाई अंकमाल ग¥यौं । त्यो क्षणमा अध्यक्ष बडाल र मेरो आँखा खुसीले रसाएका थिए ।’ ‘मैले आफ्नो दायित्व बढेकोे महसुस गरेको छु । जित्नुमात्र ठूलो कुरा होइन त्यो पदको मर्यादालाई कायम राख्नु ठूलो कुरा हो । यो नेपालको इज्जत पनि हो’उहाँ भावुक हुँदै भन्नुहुन्छ ।
सहकारी यात्रा
मल्ल २०५५ सालमा सहकारी अभियानमा होमिएको बताउनुहुन्छ । ‘मेरो भाइ मिलनबाबु मल्लले साथीहरुसँग मिलेर रिलायवल सहकारी खोलेका थिए । त्यसमा म एउटा सदस्य थिए । त्यतिबेला म क्रिएटिभ ओमन नेपालमा अध्यक्षको रुपमा काम गर्थे । त्यसैले सहकारीको सदस्य भए पनि त्यस विषयमा त्यति ज्ञान थिएन ।’ मल्ल सहकारी छिर्दाको अनुभव सुनाउनुहुन्छ ।
नाम कमाउनुपर्छ, समाज सेवा गर्नुपर्छ भन्ने सोचले नै उहाँ सामाजिक क्षेत्रमा सक्रिय रहनुभएको थियो । बुबा गोर्खाको तत्कालिन धुवाँकोट गाविसका प्रधानपञ्च हुँदा पिँढीभरि मान्छे बसेर बुबाका कुरा सुनेको छाप उहाँमा परेको थियो । त्यसैले सानैदेखि उहाँमा नाम कमाउनुपर्छ भन्ने लाग्थ्यो । रिलायवल संचालन भएको दुई बर्ष नवित्दै संस्थामा समस्या सिर्जना भयो । जसका कारण उहाँ सहकारीमा सक्रिय रुपमा सहभागी हुनैपर्ने अवस्था सिर्जना भइदियो । ‘संस्थाका अध्यक्ष माधव अर्याल घरमा आएर मलाई संस्था बचाउनुप¥यो । तपाई यसको अध्यक्ष बन्नुप¥यो भन्न थाल्नुभयो,’ मल्ल सुनाउनुहुन्छ, ‘मरेको सहकारी बचाउछु भनेर ३५ लाख लिएर म आए । त्यतिबेला ३७ लाख ऋण लगानी भएको थियो । जसमा १२ लाख घाटामा थियो । ९ लाखको हिसाब÷किताब नै थिएन ।’
त्यतिबेला संस्थाको हिमालयन बैंकको खातामा २ हजार मात्र रकम थियो । बचत गर्न भन्दा पनि बचत फिर्ता गर्न आउनेहरुको ठूलो भिडको मल्लले सामना गर्नुपरेको थियो । तर उहाँ अलिकति पनि विचलित हुनुभएन । ‘खिलानाथ लुइटेल भाइसँग म ऋण उठाउन दिनरात नभनि हिँडे । फलस्वरुप तीन महिनामा नै २९ लाख उठाएँ । जसले मलाई अझ हौसला दियो ।’ उहाँ भन्नुहुन्छ । त्यसपछि डुबेको संस्था बचाउने महिला भनेर उहाँलाई सहकारी अभियानले समेत हौसला प्रदान ग¥यो । संघका पदाधिकारीहरुले खोज्दै आउन थाले । काठमाडौं जिल्ला संघमा आमन्त्रित सदस्यका रुपमा मल्ललाई सहभागी गराइयो । यसरी मल्लले सहकारीमा आफ्नो नयाँ उचाई स्थापित गर्नुभयो ।
खर्च घटाउनकै लागि शखंमुलको आफ्नो घरमा रिलायवल सहकारी संस्था सार्नुभयो । सहकारीमा भिज्दै गएपछि उहाँमा सहकारीको विषयमा अझ धेरै बुझ्ने भोक जागेको थियो । त्यति नै बेला राष्ट्रिय सहकारी महासंघका तत्कालिन उपाध्यक्ष स्व. ओम प्रकाश शर्माले बोलाएर भारतबाट पहिलो पटक सहकारीमा डिप्लोमा गर्ने अवसर आएको छ, जानुपर्छ भनेपछि एकातिर परिवारको चिन्ता, अर्काेतिर सहकारी बुझ्ने भोकले उहाँलाई अलमल्ल बनायो । ‘परिवारले पनि जाउ भनेपछि पहिलो पटक म घर छोडेर सहकारी पढ्न भारत गए ।’ उहाँ सम्झनुहुन्छ, ‘ सहकारीको विषयमा धेरै बुझे । जसले मलाइ अझ धेरै सहकारी क्षेत्रमा होमिन प्रेरित ग¥यो । यो सामाजिक व्यवसाय रहेछ भन्ने बुझे । त्यसपछि जापानमा गएर अध्ययन गर्ने अवसर पाए । यसले अझ मेरो ज्ञानको दायरालाई फराकिलो बनायो ।’ सहकारीका जिल्ला संघ, राष्ट्रिय सहकारी महासंघको महत्व बुझेपछि उहाँ चुप लागेर बस्न सक्नु भएन । जुन बेला काठमाडौं बचत संघ मरेको अवस्थामा थियो त्यो बेला केशवनरसिंह राजभण्डारी अध्यक्ष हुनुहुन्थ्यो । आफ्नै घरको आँगनमा सदस्यता बृद्धि गरेर संघको साधारणसभा गराउन उहाँले गरेको प्रयास सफल भएको बताउनुहुन्छ । त्यसैगरी उहाँले विज्ञका रुपमा दुइ पटक राष्ट्रिय सहकारी विकास बोर्डमा रहेर समेत सहकारीको विकासका लागि काम गर्नुभएको थियो ।
राष्ट्रिय सहकारी महासंघको यात्रा
२०६६ मा १७ बर्षपछि राष्ट्रिय सहकारी महासंघको निर्वाचन हुन लागेको थियो । सहकारीमा महिलाको उत्साहजनक सहभागीता भए पनि नेतृत्व तहमा महिलाको उपस्थिति न्यून थियो । महिलाले नेतृत्व लिनुपर्छ भन्ने अठोट लिएर उहाँ महासंघको निर्वाचनमा उम्मेदवारी दिने योजना बनाउँदै केशव बडाललाई भेटेर आफ्नो इच्छा व्यक्त गरेको बताउनुहुन्छ ।
‘बडाल सरले तपाई जस्तो सक्षम महिलाले नेतृत्व तहमा आउनुपर्छ भनेर हौसला दिएपछि ममा आत्मविश्वास बढेको थियो,’ उहाँ भन्नुहुन्छ, ‘नभन्दै म निर्विरोध चयन भएँ । त्यसपछि मैले महिलाको ३३ प्रतिशत सहभागीताको कुरा गरे । तर, महिला प्रतिनिधिको सख्या नै कम भएपछि त्यो पूरा हुन सकेन । देशभरिबाट ५ जना महिलाको मात्र प्रतिनिधित्व थियो । त्यसपछि मैले महासंघको विनियममा महिला उपाध्यक्षको प्रावधान राख्नका लागि जोड गरेको थिएँ ।’ फलस्वरुप उहाँ दोस्रो पटक महासंघको पहिलो महिला उपाध्यक्षका रुपमा निर्विरोध निर्वाचित हुनुभयो । उहाँले डेरामा रहेको महासंघलाई आफ्नै भवनमा सार्नका लागि समेत अध्यक्ष बडालसँग मिलेर भूमिका खेलेको सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘आज महिला उपाध्यक्ष भएकै कारण म आइसीएमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न सक्षम भएको छु । यो नेपाली महिलाका लागि एउटा उदाहरण बन्ने छ भन्ने मैले विश्वास लिएको छु ।’
मल्लको राजनीति यात्रा
२०४७ सालमा पद्मकन्या क्याम्पसमा पढ्दा मल्ललाई तत्कालिन स्ववियू सभापति कमला पन्तले नेविसंघको सदस्यता दिएपछि उहाँले पर्दा पछाडि बसेर नेतृत्वलाई सहयोग गरेको स्मरण गर्नुहुन्छ । ‘हुन त मेरा माइती राप्रपा हुन तर म कांग्रेसको राजनीतिमा आएँ ।’ उहाँ भन्नुहुन्छ,– ‘पदका लागि कहिल्यै राजनीति गरिन । तर संविधानसभाका लागि भने मैले सहकारीबाट प्रतिनिधित्व गराउनुपर्छ भनेर नेताहरुलाई भने । फलस्वरुप म संविधानसभा सदस्यका लागि समानुपातिकबाट चुनिए । जसको गरिमा मैले राखेको महसुस गरेको छु ।’ उहाँले सहकारी क्षेत्रको प्रतिनिधित्व गर्दै संविधानमा सहकारीलाई समेट्नका लागि खेलेको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै बताउनुहुन्छ । ‘अब म राजनीतिबाट टाढा हुन सक्दिन । नीति निर्माणका लागि राजनीति आवश्यक छ । संविधानसभा सदस्य भएकाले पनि मलाई आइसीएमा निर्वाचित हुन सहज भएको महसुस गरेको छु ।’ उहाँ भन्नुहुन्छ ।
१६ औं नम्बरकी सन्तान ओमदेवी
ओमदेवी मल्ल गोर्खाको धुवाँकोटका तत्कालिन प्रधानपञ्च कृष्णदास मल्लकी १६ औं नम्बरकी सन्तान हुनुहुन्छ । २०२९ सालको साउन १९ गते बिहिबारको दिन गोर्खाको धुवाँकोटमा माता राधामाया मल्लको कोखबाट उहाँको जन्म भएको हो । अथाह जग्गा जमीनका मालिक जमिनदार कृष्णदास मल्लका तीन श्रीमतीमध्ये कान्छी श्रीमतीका ९ सन्तान मध्येकी आठौ नम्बरकी सन्तानका रुपमा ओमदेवीको जन्म भएको थियो । ‘बुबाले ‘यो विश्वकी देवी हुन्छे । विश्वमा आफ्नो नाम फैलाउँछे’ भनेर मेरो नाम ओमदेवी राखिदिनुभएको रे, त्यसैले युवा अवस्थामा आइपुग्दा बुढो नाम लागे पनि मैले परिवर्तन गरिन,’ मल्ल सम्झनुहुन्छ ।
कृष्णदासका तीन पत्नीबाट ९ वटा छोरी र ८ जना छोरा गरी १७ सन्तान भए । सम्पन्न परिवार भएकाले ओमदेवीले कहिल्यै पनि अभाव र समस्या झेल्नु परेन । तीन कक्षासम्म बुबाको घोडा चढेर गाउँ बेंशी गरेको स्मरण गर्नुहुन्छ । ओमदेवी भन्नुहुन्छ, ‘ घरमा दुइवटा घोडा थियो । कालो र खैरो । बुबाको घोडा हिड्ने बाटो पनि छुट्टै हुन्थ्यो । म घोडा चढेर बुबासँग हिड्थँे । बुबाको प्यारी पनि थिएँ ।’ उहाँ आमा बुबालाई भगवान झै सम्मान गर्ने गरेको बताउनुहुन्छ । ‘बुबा ०६१ सालमा वित्नुभयो । आमा ८१ बर्षको हुनुहुन्छ । म आमा बुबालाई भगवान झै सम्मान गर्छु । बुबाको फोटो भगवानकै स्थानमा राखेको छु ।’ सिद्ध प्राविमा प्रारम्भिक शिक्षा लिएकी ओमदेवीले मित्रता मावी तनहुँबाट एसएलसी दिनुभएको थियो । पद्मकन्या क्याम्पसबाट स्नातक गर्नुभएको मल्लले त्रिभुनव विश्वविद्यालयबाट समाजशास्त्रमा स्नात्तकोत्तर गर्नुभएको थियो । उहाँका दुई सन्तान ओकिता र ओकिन अहिले अस्ट्रेलियामा अध्ययनरत छन् ।
साभारः सहकारी सन्देश