२३ कात्तिक २०८१, शुक्रबार

इलाममा पहिलो पटक ५ सहकारीको एकिकरण

२०७१ असोज ११, शनिवार
इलाममा पहिलो पटक ५ सहकारीको एकिकरण

इलाम। डिभिजन सहकारी कार्यालय इलामले पहिलो पटक इलाममा रहेका ५ वटा सहकारीको विधिवत रुपमा एकिकरण गरेको छ । इलामकै उत्तरी पुवामझुवा गाविसमा रहेर विभिन्न उद्देश्य लिइ संचालनमा रहेका सहकारीहरुको एकिकरण गरिएको हो ।

एकिकरणको लागि संयुक्त रुपमा डिभिजन सहकारी कार्यालय इलाममा सहकारीहरुले आवेदन गरेपछि सहकारी एकिकरण सम्बन्धि कार्यविधि  २०७० अनुरुप डिभिजन सहकारी कार्यालय इलामका प्रमुख माधवप्रसाद पोखरेलले (२०७१ असोज १०) शुक्रबार एकिकरण दर्ताको प्रमाणपत्र प्रदान गरे । सफल बहुउद्देश्यीय सहकारी संस्थाको नाममा दर्ता भएको सो सहकारी इलाम पाँचथर र ताप्लेजुङकै पहिलो एकिकरण भएको सहकारी भएको छ । पुवामझुवा गाविसमा रहेका पुवामाई बहुउद्देश्यीय सहकारी संस्था, जनहित दुग्ध उत्पादक सहकारी संस्था, सदावहार कृषि सहकारी संस्था, पुवामाई महिला कृषि सहकारी संस्था र सुनुवार गाउँ कृषि सहकारी संस्थाको एकिकरण गरिएको हो ।

एकिकरणपछि सहकारीको चुक्ता पुँजी ४३ लाख ६८ हजार नौ सय रुपैयाँ पुगेको छ । सहकारीको कुल बचत रकम १ करोड ३४ लाख १७ हजार ९ सय ६८ पुगेको छ भने शेयर सदस्यहरुको संख्या नौसय त्रिसठठी पुगेको छ ।
सहकारी एकिकरण दर्तापछि सहकारी अधिकृत पोखरेलले खुसी व्यक्त गर्दै रामो कामको थालनी भएको प्रतिक्रिया दिए ।

उनले सहकारी मापदण्ड पुरा गरि उत्कृष्ट सहकारी बन्नको लागि यस्तो प्रकारको एकिकरणले सहयोग गर्ने बताए । ठुलाठुला बैंक तथा वित्तीय संस्थाहरु पनि एकिकरण भइरहेको समयमा ग्रामिण क्षेत्रमा रहेका सहकारी हरु एकिकरण भई आफुलाई सक्षम वित्तीय संस्थाको रुपमा चिनाउन एकिकरणले मद्दत गर्ने बताउदै पोखरेलले सहकारी क्षेत्रमा मौलाउदै गएको विकृति यस्तो एकिकरणवाट नियन्त्रण हुने बताए । पुर्वी पहाडी क्षेत्रमा गरिएको पहिलो सहकारी एकिकरणको अन्य ससाना सहकारीहरुले पनि अनुकरण गर्नुपर्नेमा बहाँले जोड दिए ।

एकिकरणले सदस्यताको दोहोरोपन, ऋण लगानीमा हुने दोहोरोपन जस्ता समस्या समाधान भएको सफल बहुउद्देश्यीय सहकारी संस्थाका तदर्थ समितिका अध्यक्ष पृथसिह सुनुवारले बताए । सहकारीले दुध संकलन तथा बिक्री गर्ने, लघुवित्तको क्षेत्रमा काम गर्ने तथा सहकारीको आकारलाई विस्तार गर्दै लैजाने तत्कालिन रणनीति रहेको सहकारीका व्यवस्थापक भिम राईले बताए । एकिकरणका लागि सहयोग गर्ने महिला जागरण संघ लगायतका विभिन्न सरोकारवाला संस्थाहरुका कारण पनि एकिकरण सम्भव भएको राईले प्रतिक्रिया दिए ।

सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ को अधिनमा रहि सहकारी विभागले २०७० सालमा एकिकरण सम्वन्धी कार्यविधि ल्याएपछि सहकारी संस्थाहरुको यसरि एकिकरण गर्न संभव भएको हो ।

अभिलेख

लोकप्रिय