२४ असोज २०८१, बिहिबार

विकू साकाेसको ३३ वर्षे यात्रा: ५० पैसाबाट १० अर्बसम्म !

२०८० भदौ ५, मङ्गलबार
विकू साकाेसको ३३ वर्षे यात्रा: ५० पैसाबाट १० अर्बसम्म !

गैंडाकोट (नवलपुर) : मुलुककै उत्कृष्ट सहकारी संस्था विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड आज (भदौं ५ गते) बाट ३३औं वर्ष प्रवेश गरेको छ । विकू बचतको स्थापना २०४८ सालमा आजकै दिन भएको थियो ।

तत्कालीन विजय युवा क्लबको सक्रियतामा २६ जना सदस्य मिली विकू बचतको स्थापना भएको थियो । तत्कालीन विजय युवा क्लबको एउटा कार्यक्रमको रुपमा ‘विजय युवा क्लब क्रेडिट युनियन’ भनेर संचालन गरिएको थियो । विकूको वित्तीय अभियान प्रति व्यक्ति दैनिक ५० पैसा संकलन गरी सुरु भएको थियो । २६ जनाबाट सुरु भएको विकूमा हाल एक लाख १३ हजार ३४ आवद्ध छन् भने ९ अर्ब ४९ करोड २३ लाख २८ हजार ६ सय ९२ रुपैयाँ २४ पैसाको कुल सम्पत्ति पुगेको छ ।

समाजमा ब्याप्त गरिबी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको विकास गराउने विकूको मुख्य उद्देश्य थियो । यसरी बचत भएको रकमलाई सदस्यहरु भित्रै परिचालन गरी विभिन्न किसिमका सामाजिक उद्यमहरुको प्रबद्र्धन गर्नु अभियानको उद्देश्य थियो । विकू बचतले २०५४ सालदेखि नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने स्वीकृति प्राप्त समेत प्राप्त गरेको थियो ।  हाल भने राष्ट्र बैंक बाहिरिसकेको छ ।

अथक मेहनतको साथ वित्तीय, गैरवित्तीय तथा उच्च प्रविधियुक्त सेवा सहज र सर्वशुलभ तरिकाले प्रदान गर्दै आज विकू बचत नेपालमा मात्रै नभई एसिया स्तरमै परिचित छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाउँदै विकू बचत स्थानीय समुदायको पहिलो रोजाईको सहकारी बन्न सफल भएको संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले बताउँछन् ।

विकूले सदस्यहरुको आर्थिक र सामाजिक साँस्कृतिक पक्षमा मात्र नभएर वित्तीय साक्षरता, स्वास्थ्य साक्षरता र प्रविधि साक्षरताका अभियान समेत चलाइरहेको छ । आगामी दिनमा विकूले सदस्यहितका थप प्रभावकारी कार्यक्रम अघि बढाउने र गुणस्तरीय र विस्तारित सेवा प्रदान गर्ने प्रतिवद्धता विकू बचतले गरेको छ ।

असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी ८९ करोड ७३ लाख ९ हजार २ सय रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ५६ करोड ४६ लाख १३ हजार ७ सय ५२ रुपैयाँ २१ पैसा र अन्य विभिन्न कोषमा ६ करोड १६ लाख १ सय ८७ रुपैयाँ ५४ पैसा रहेको छ ।

संस्थाको कुल संस्थागत पुँजी ६४ करोड ५४ लाख ४३ हजार ८ सय ५६ रुपैयाँ ४५ पैसा, बचत रकम ७ अर्ब ५२ करोड ६ लाख १२ हजार ५ सय २३ रुपैयाँ ३ पैसा र लगानी ६ अर्ब ८८ करोड ४ लाख ३८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसा रहेको छ ।

संस्थासँग लगानी योग्य रकम (तरलता) २ अर्ब ३८ करोड ५८ लाख ७७ हजार ६ सय २ रुपैयाँ ७६ (३१.७२ प्रतिशत) रहेको छ । संस्थाबाट ८ हजार ४ सय ३ जनाले कर्जा लिएको छ ।

अभिलेख

लोकप्रिय