२३ कात्तिक २०८१, शुक्रबार

पशुपति सहकारी फलोअप : सदस्यलाई १ अर्ब ८३ करोड बचत फिर्ता गराउन बाँकी, सदस्यलाई नै जग्गा बेच्दै

२०७७ फागुन १९, बुधबार
पशुपति सहकारी फलोअप : सदस्यलाई १ अर्ब ८३ करोड बचत फिर्ता गराउन बाँकी, सदस्यलाई नै जग्गा बेच्दै

काठमाडौं : सदस्यको बचत सञ्चालकले जथाभावी लगानी गर्दा गम्भिर आर्थिक संकटमा पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ फसेको छ ।

सहकारीका सिद्धान्त अनुसार सदस्यहरुबाट संकलन गरेको बचत सदस्यहरुबीचमा नै परिचालन गर्नुपर्छ । तर, पशुपति सहकारीका सञ्चालकले कानुनी विपरित गई जथाभावी घरजग्गामा रकम लगानी गर्दा संस्था वित्तीय संकटमा परेको हो । घर जग्गामा संस्थाले गरेको लगानी डुबेपछि सदस्यहरुले बचत फिर्ता पाउन सकेका छैनन् ।

संस्थामा एक लाखसम्म बचत गर्ने सदस्यको संख्या ४ हजार ८ सय ५३ जना रहेको छ । उनीहरुको मात्रै १७ करोड २२ लाख १८ हजार ३ सय २ रुपैया २९ पैसा बचत छ । त्यसैगरी ५ लाख रुपैयाँसम्म बचत गर्ने सदस्य २ हजार १ सय २६ जना रहेका छन् । उनीहरुको ४२ करोड ६६ लाख ७७ हजार ३ सय २९ रुपैयाँ ४४ पैसा रहेको छ । त्यसैगरी १० लाखभन्दा बढी बचत रहेको १ हजार १ सय ६७ सदस्य रहेका छन् । उनीहरुको बचत १ अर्ब २३ करोड ५० लाख ६७ हजार ६ सय ५२ रुपैयाँ रहेको छ । संस्थाले सदस्यको बचत फिर्ता गर्नुपर्ने १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार २ सय ८३ रुपैयाँ ७३ पैसा रहको छ । तर, संस्था पैसा फिर्ता गर्न सक्ने अवस्थामा छैन ।

संस्थाले फागनु ६ गते विशेष साधारणसभा गरेको थियो । उक्त सभाले व्यवस्थापन समिति गठन गरी घरजग्गा र नगद मिलाएर बचत फिर्ता गर्ने जानकारी सदस्यलाई गराएको थियो । संस्थाले विजेन्द्र पसाछेँको संयोजकत्वमा २ कर्मचारी र ३ जना शेयरसदस्य रहेको व्यवस्थापन समिति गठन गरिने जनाएको भएपनि हालसम्म त्यस विषयमा आधिकारिक जानकारी गराएको छैन ।

बचत फिर्ता नदिएर जग्गा दिने तयारी

संस्थाले बचत फिर्ता दिन नसकेपछि जग्गा दिने तयारी संस्थाले गरेको छ । जग्गाको भैतिक पूर्वाधार र ठाउँको आधारमा चलनचल्तीको मुल्यमा न्यूनतम प्रति घरेडी १० लाखदेखि सुरु हुने जनाएको छ । जग्गा विक्रि गर्दा टुक्रा र थोक जग्गाको मूल्य समेत फरक हुने जनाएको छ । पैसा फिर्ता गर्न नसकेपछि जग्गा लिन सदस्यलाई संस्थाले अनुरोध गर्दै आएको छ ।

संस्थाले नारायणघाट, धुलिखेल, चन्द्रनिगाहपुर, भैंसेपाटी, लामाटारलगायतका स्थान जग्गा खरिद गरेको छ । तर, जग्गा संस्थाको नाममा वा सञ्चालकको नाममा छ भन्ने विषय यकीन हुन सकेको छैन । संस्थाले विक्री गर्न लागेका प्लटहरु हेर्न जाने सदस्य र गैर सदस्यहरुलाई यातायातको व्यवस्था गर्ने जनाएको छ । पैसको सट्टा जग्गा लिनको लागि नाम रजिष्टर पनि सुरु भएको एक सदस्यले बताए ।

२ सञ्चालकद्वारा राजिनामा

संस्था आर्थिक संकटमा फसेपछि २ सञ्चालकले राजिनामा दिएका छन् । सञ्चालक सदस्य राजिव सिं कंडेल र प्रफुल्ल बहादुर श्रेष्ठले राजिनामा दिएका छन् । तर सञ्चालक समितिले उक्त राजिनामा अस्वीकृत गरेको छ । राजिनामा आएको कुरा साधारणसभामा जानकारी गराईएको थियो ।

अभिलेख

लोकप्रिय