नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा यही फागुन २४ र २५ गते काठमाडौंमा प्रमुख कार्यकारी अधिकृतहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) हुँदैछ। हरेक तीन वर्षमा आयोजना गरिँदै आएको गोष्ठीको व्यवस्थापन नेफ्स्कून साकोस म्यानजर्स क्लबले गर्दैछ । गोष्ठीको तयारीमा नेफ्स्कून र म्यानजर्स क्लब जुटिरहेको छ।
गोष्ठीको थिम “प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन” तय गरिएको आयोजकले जनाएको छ । गोष्ठीमा स्वदेशी तथा विदेशी विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछ। करिब ५ सय जनाको सहभागिता रहने गोष्ठीको उद्देश्य, अपेक्षित उपलब्धि, तयारी लगायतका विषयमा नेफ्स्कून साकोस म्यानजर्स क्लबका संयोजक के.बी. लामा स्याङ्तानसँग सहकारीखबर प्रतिनिधिले गरेको कुराकानीको सार संक्षेपः
सिईओ वर्कशपकम म्यानेजर्स क्लबको भूमिका के रहन्छ?
२ दिनसम्म सञ्चालन हुने कार्यक्रमको व्यवस्थापन नै क्लबले गर्नेछ । वर्कशप कसरी सञ्चालन गर्ने भन्ने बारेमा हामीले सल्लाह दिएका छौं । थिम तयार गर्नेदेखि, कुन विषयलाई फोकस गर्ने लगायतका कुरामा नेफ्स्कुनको टिमसँग हाम्रो छलफल चलेको थियो । कार्यक्रममा बढीभन्दा बढी सहभागिता जुटाउने विषयमा पनि हाम्रो भूमिका रहन्छ । यसपटक वर्कशपमा ‘हिरोज अफ साकोस’ नामक सेसन पनि छ । म्यानेजर्स क्लबको संयोजकको नाताले मेरो प्रस्तुतिकरण रहन्छ । केही सफल सहकारीका व्यवस्थापकहरुले अनुभव साट्ने तयारी गरिएको छ । जसमा साकोसका महिला सीइओको पनि अनुभव आदान प्रदान हुनेछ।
विगतको भन्दा फरक केही फरक हुनेछ । विगतमा उद्घाटनपछि संयुक्त सेसन एक/दुईवटा हुन्थ्यो र बीचमा २ वटा समूह बनाइन्थ्यो । विषयवस्तु र रिसोर्स पर्सनको आधारमा कुनै समूहमा धेरै सहभागी हुने र कुनै समूहमा सहभागी नै नहुने समस्या थियो । एउटा समूहमा के डिस्कसन भयो भन्ने कुरा अर्को समूहले सुन्न नै पाएनन् । त्यसैले अहिले सबै सेसन प्लेनरी गर्ने सुझाव दिएका छौं । जतिवटा कार्यपत्र प्रस्तुत हुन्छन्, सबै सेसनमा सहभागी हुन पाउने वातावरण यसपटक छ?
सहभागिता बढाउन क्लबको भूमिका के रहन्छ?
नेफ्स्कून म्यानेजर्स क्लबमा ७ वटै प्रदेशका सिईओ हुनुहुन्छ । प्रदेशगत रुपमा हामीले उहाँहरुलाई जिम्मा दिएका छौं । आफ्नो प्रदेशबाट सहभागिता वृद्धि गर्न पहल गर्न हामीले भनेका छौं । यस पटकको वर्कशपमा लागत केही बढी छ । यसले पनि केही संस्थाहरु हच्किएका छन् । अर्कोतर्फ गोष्ठीमा सहभागि हुने भन्दा पनि अहिलेको अवस्थामा संस्था कसरी बचाउने भन्ने प्रश्न छ । धेरैजना नयाँ कुरा सिक्ने भन्दापनि संस्था कसरी बचाउने भन्नेमा केन्द्रीत छन् । यो गोष्ठीबाट नयाँ इन्पुटहरु पक्कै आउँछ । संस्था चलाउन सहयोग पुग्छ भनेर हामीले लक्षित साकोसका व्यवस्थापकहरुलाई अनुरोध गरेका छौं । थिम पनि त्यही अनुसार राखेकाले प्रभावकारी हुन्छ भनेर सहभागि हुन सबैलाई अभिप्रेरित गरेका छौं । व्यवस्थापकलाई जिम्मेवार बनाइयो भने संस्था प्रभावकारी रुपमा अगाडि बढ्छ भन्ने हाम्रो विश्वास छ।
व्यवस्थापक सक्षम भए सहकारी संस्था समस्यामा पर्दैन । क्वालिटी एस्योरेन्स अन्तर्गत एक्सेस र प्रोवेशन ब्राण्डमा प्रवेश गरेका संस्थामा अहिले पनि समस्या छैन । त्यसको मतलब ती संस्थाले सुशासन कायम गरेका छन् । जिम्मेवार व्यवस्थापक भएका छन् । प्रविधिहरु सबै भित्राएका छन् । नयाँ अनुभव शेयरिङ भएको छ । संस्थाहरुबीच हरेक ३ महिनामा कार्यक्रम र आइडिया शेयरिङ हुन्छ । यसले गर्दा संस्था सुरक्षित भएका छन् । संस्था प्रविधियुक्त र सुशासनयुक्त कसरी बनाउने भनेर व्यवस्थापकलाई जिम्मेवार बनाउनु नै वर्कशपको उद्देश्य हो । नेफ्स्कुनको सहयोगी अंग म्यानेजर क्लब भएको नाताले हामीले सपोर्ट गरिराखेका छौं।
वर्कशपको अपेक्षित उपलब्धी के हुन्?
यस्ता खालको गोष्ठीमा सहभागिता जनाउँदा सहभागिले धेरै लाभ लिन सक्छन् । यसलाई कसरी लिने भन्ने कुरा हो । अरु केही बुझिएन भने पनि साकोसका व्यवस्थापकहरुसँग चिनजान र भेटघाट हुन्छ । यो नै ठूलो उपलब्धी हो । त्यसैगरी सहकारीका विद्यमान समस्यालाई समाधान गर्ने विषयका सेसन रहेका छन् । गोष्ठीबाट केही न केही उपलब्धी पक्कै पनि हुन्छ । कतिपय साथीहरुले लागत बढी भयो भनेर प्रश्न उठाउनुभएको छ । कतिपयले तारे होटलमा नगरेको भए हुन्थ्यो भन्नुभएको छ । सानोतिनो होटलमा चार पाँच सय जना बसेर गोष्ठी गर्न सम्भव नहुने रहेछ । अर्कोतर्फ विदेशी प्रशिक्षकहरु पनि भएकाले कार्यक्रमको गरिमालाई कायम गर्नुपर्ने हुन्छ । रिसोर्स पर्सनहरु विदेशी समेत भएकाले स्टाण्डर्ड मेन्टेन गर्नैपर्यो । उहाँहरुबाट कस्तो ठाउँमा कार्यक्रम गरे भन्ने पनि आउन सक्छ । जसले गर्दा शुल्क केही महँगो भएको छ । तथापी गोष्ठी उपलब्धि मूलक हुनेछ।
अहिलेको अवस्थाको बारेमा पनि सिईओहरुको अनुभव बढीभन्दा बढी आदानप्रदान गर्ने भनेका छौं । अन्तर्राष्ट्रिय स्तरमा कसरी साकोसहरुलाई दिगो बनाइएको छ? अन्य देशमा कस्तो ऐन छ? सहकारीका समस्यामा छाता संघले मात्रै लबिङ गर्छ भनेर बस्नुभएन । हामीले यो पाटोमा सुधार आवश्यक छ भनेर फिडब्याक दिनुपर्यो । त्यसका लागि केही कन्टेन्टहरु ल्याउनुपर्छ । गोष्ठीको अन्त्यमा घोषणापत्र जारी हुन्छ । त्यसबाट केहि मार्ग प्रसस्त हुन्छ । व्यवस्थापकहरुले सिकेपछि सञ्चालकहरुलाई पढाउन बुझाउन सजिलो हुन्छ । करिब डेढ घण्टाको सेसनमा ४५ मिनटको प्रस्तुतिकरण र ४५ मिनटको अन्तक्र्रिया गर्ने भनेका छौं । छलफलबाट धेरै कुरा आउँछ । विद्यमान समस्याको बारेमा रिसोर्स पर्सन र आधिकारिक व्यक्तिहरुबाट समाधानको उपाय सुझाइनेछ । विगतमा प्रस्तुतकर्ताले एकोहोरो कार्यपत्र प्रस्तुत गर्ने मात्र हुन्थ्यो । यसपटक सहभागी बीच प्रसस्तै छलफलको कार्यक्रम तय भएको छ । सहभागीहरुले आफ्ना प्रश्न राख्न सक्ने र समाधान आउनेगरी रिसोर्स पर्सनले जवाफ दिनुहुनेछ । यो वर्कशपले वेआउट गर्छ।
अन्त्यमा के भन्नुहुन्छ?
सहकारी संस्थाले धेरै खर्च गर्नुहुँदैन भन्ने सोच छ । मानव संशाधनमा गरेको लगानी उपलब्धीमूलक हुन्छ । संस्थामा समस्या आयो भनेन चुप लागेर बसेर समाधान हुँदैन । हामीले संस्थामा पनि सञ्चालक समिति, कर्मचारी र सदस्य माझ छलफल र अन्तरक्रिया गरिराखेका छौं । त्यसो भए यो पनि किन गर्ने भन्ने कुरा आउँछ । म्यानेजरको क्षमता अभिवृद्धि गर्ने र संस्थालाई कसरी सुरक्षित र दिगो बनाउने भन्ने गाइडलाइन दिने हो । सदस्यको बचतलाई सुरक्षित बनाउने क्षमता पक्कै बढ्छ । साकोसको अभियानमा मानव संशाधनलाई क्षमतावान बनाउन सकिएको छैन । बैंकका कर्मचारीको क्षमता कति माथि छ ? हामी पनि बचत ऋण नै गर्छौं ।
बैंकिङ कारोबार नै गर्ने भएकाले क्षमता अभिवृद्धि भएन भने संस्था जोखिममा पर्छ । अवस्था र समय ठिक नहोला तर व्यवस्थापकको क्षमता अभिवृद्धि गर्ने काम रोकिनु हुँदैन । यो निरन्तर चल्नुपर्छ । संस्था आफैंले आयोजना गरे भएपनि क्षमता अभिवृद्धि गर्नैपर्छ । नेपालभरका सीइओहरु सहभागी हुने भएकाले गोष्ठीले राम्रो सन्देश दिन्छ । साकोस अभियानलाई यसरी लैजानुपर्ने रहेछ भनेर मार्गप्रशस्त गदर्छ।