काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को ३२ औं वार्षिक साधारण सभामा सहकारी अभियन्ता बिकास बादे सञ्चालक समितिको सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् ।
२०४६ सालदेखि सहकारी अभियानमा क्रियाशील बादे हाल एशियास्तरको एक्सेस ब्राण्ड प्राप्त चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था, बनेपाका प्रमुख सल्लाहकार हुन् । २०४७ साल असारमा चण्डेश्वरी साकोस स्थापना गर्दा उनी सचिव थिए । त्यसयता उनी निरन्तर संस्थामा सक्रिय छन् ।
चण्डेश्वरी साकोसको दुई कार्यकाल (१० वर्ष) उपाध्यक्ष, २ वर्ष कार्यकारी अध्यक्ष र दुई कार्यकाल अध्यक्ष भएका बादे स्वच्छ छविका सहकारी अभियन्तका रुपमा परिचित छन् । चण्डेश्वरी साकोसलाई नेपाल मात्रै नभई एशिया स्तरमै उत्कृष्ट बनाउन उनको परिश्रम र योगदान मिसिएको छ ।
कोरोना महामारी बीच समेत संस्थाले एक्सेस ब्राण्ड पाएको थियो । त्यसबेला एक्सेस ब्राण्ड प्राप्त गर्ने नेपालको एकमात्र साकोस चण्डेश्वरी थियो । जबकि २०७६ सालमा नेपालका २६ वटा सहकारीले एशियाली ऋण महासंघले प्रदान गर्ने एक्सेस् ब्राण्ड पाएका थिए । यस वर्ष पनि संस्थाले एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेको छ । पछिल्लो पटक नेपालबाट चण्डेश्वरी र जनउत्थान साकोसले मात्रै ब्राण्ड पाएका हुन् । उनै बादेको नेतृत्वमा संस्थाले ब्राण्ड पाएको थियो ।
प्रारम्भिक संस्था मात्रै नभई काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको सह-सचिव, नेफ्स्कून बनेपा सदस्य सेवा कार्यालयको सदस्य र विगत आठ वर्षदेखि नेफ्स्कूनको ऋण उपसमितिको सदस्यमा कार्यरत छन् ।
नेफ्स्कूनको आसन्न चुनावी साधारण सभामा सञ्चालक बन्न तम्तयार बादे केन्द्रीय संघमा निर्वाचित भएर अभियान शुद्धीकरण र सबलीकरणको कामलाई अगाडि बढाउने सोचमा छन् । उनी भन्छन्, ‘नेफ्स्कूनको सञ्चालन बनेर बचत तथा ऋण सहकारी अभियानलाई सुशासित, पारदर्शी र सदस्यमैत्री बनाउने र सहकारी मैत्री ऐन, कानुन निमार्णमा सरकारसँगको बहसपैरवीमा सक्रिय भएर लाग्ने सोच बनाएको छु ।’
आफूसँग प्रारम्भिक संस्था बलियो बनाउन नेतृत्वदायी भूमिका खेलेको अनुभव रहेको उनको दाबी छ । ‘त्यसबाहेक स्वयंसेवी रुपमा अभियानमा निरन्तरता दिएको अर्को सवल पक्ष पनि मसँग छ,’ विषयगत केन्द्रीय संघ नेफ्स्कूनमा उम्मेदवारी दिने तयारीका कारण उत्साहित वादे थप्छन्, ‘मलाई पद र प्रतिष्ठाको लोभ होइन, केवल काम गर्ने भोक हो ।’