भ्रष्टाचारको चगुंलमा कृषक जागरण, लेखा संयोजकलाई ज्यान मार्ने धम्की

krisak-copy

लमजुङ । कुनै समय देशभरमै उत्कृष्ठ सहकारीको रुपमा हेरिन्थ्यो, कृषक जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई । कुनै राष्ट्रीय कार्यक्रम गर्न पर्यो भने पैसा माग्ने माध्यम बनेको थियो लमजुङको यो सहकारी । देशभरबाट यस सहकारीमा अध्ययन भ्रमणका लागि आगन्तुक आउने गर्थे । अहिले भने यही संस्था अनियमितताको चगुंलमा फसेको छ । संचालक समिति र कर्मचारीको मिलेमतोमा करोडौं रकम हिनामिना भएको तथ्य बाहिर आएको छ ।

संस्थाले बिना बिल भरपाई गएको असार २४ गते २० लाख १० हजार, असार २५ गते १ लाख ६० हजार र अघिल्लो चैत २५ गते २ लाख निकालेर अनियमिततता गरेको हो । उक्त रकमको बारेमा लेखा समितिले जानकारी माग्दा सस्थाका सीईओ राम दिक्षीतले मुद्दा जिताउन उक्त रकम घुसका लागि खर्च गरिएकाले बिल भपारई नहुने जानकारी दिए । उनले आफूलाई ज्यान मार्ने धम्कि समेत दिएको लेखा समितिका संयोजक कृष्ण गुरुङले बताए । त्यसैगरी संस्थामा लेखा समितिले गत साउन ८ गते अनुगमन गर्दा ३८ लाख ५५ हजार २ सय ७५ रुपैयाँको बिल भरपाई नभई खर्च भएको पाइएको लेखा समितिका संयोजक गुरुङको भनाइ छ ।

संस्थाले यति ठूलो रकम निकाले पनि बिना बिल भरपाई खर्च गरेपछि र एकपछि अर्कोगर्दै अनियमितता गरेपछि लेखा तथा सुपरीवेक्षण समितिले चर्को आवाज उठाएको छ । लेखा समितिका संयोजक कृष्ण गुरुङले पटक/पटक लिखित तथा मौखिक आवाज उठाए पनि संस्थामा भएको करोडांै अनियमितता गुपचुप राखेपछि संस्था भित्र अहिले भाड्भैलो मच्चिएको छ ।

संयोजक गुरुङले संस्थाका तर्फबाट अध्यक्ष प्रेम घलेलाई गत साउन २२ र २३ गते संस्थामा भएको व्यापक अनियमितता बारेमा लिखित रुपमा पत्र दिएपनि उक्त पत्र गुपचुप राखि संचालक समितिमा पेश नगरिएको संयोजक गुरुङ बताउँछन् । संस्थामा भएको व्यापक आर्थिक अनियमिताताका बारेमा लेखा समितिका संयोजक गुरुङले एक विज्ञप्ती सार्वजनिक गरी संस्थामा भएको व्यापक अनियमितताको खुलासा गर्दै विरोध गरेका हुन् । उनले सार्वजनिक गरेको विज्ञप्तीमा घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका घले लगायत संस्थाका केहि पदाधिकारीहरुले आफ्नो व्यक्तिगत काममा जाँदा पनि संस्थाको गाडिको दुरुपयोग गर्ने गरेको र संस्थाको रकम खर्च गर्ने गरेको उल्लेख गरिएको छ । साथै संस्थाको सेवा केन्द्र अनुगमन गर्दा समितिका केही पदाधिकारीले टिएडिए लिएपनि प्रतिवेदन दिने नगरेको, अघिल्लो बर्ष साधारणसभामा प्रस्ताव नै नभएको एजेण्डा पछि संस्थामा उपाध्यक्ष शुभाष पौडेलले माइन्यूट लेखि अध्यक्ष प्रेम घलेले मासिक २५ हजार तलब तोकेको उल्लेख छ । उक्त साधारणसभाको माइन्यूट सचिव कृष्ण के.सी.लाई लेख्न नदिई उपाध्यक्ष पौडेल आफैले लेखेका थिए । पछि पौडेल आफैले माइन्युट लेखेर गत असार १५ गतेबाट लागु हुनेगरी आफ्नो र कोषाध्यक्षको मासिक ७/७ हजार तलब तोकेका थिए । सहकारीको कुनै पनि कानुनमा संचालक समितिले तलब खान पाउने व्यवस्था छैन ।

यसअघि संस्थाका वरिष्ठ उपाध्यक्ष बमबहादुर थापा र सचिव कृष्ण के.सी. ले संस्थामा व्यापक अनियमितता भएको, सुशासन नभएको र संस्था विधिमा नचलेको भन्दै गत चैत २ गते अध्यक्ष प्रेम घले समक्ष ज्ञापनपत्र बुझाएका थिए । उक्त कुराको कुनै सुनुवाइ नभएपछि वरिष्ठ उपाध्यक्ष र सचिवले चैत ८ गते राजीनामा दिएका थिए । लेखा तथा सुपरीवेक्षण समितिका संयोजक कृष्ण गुरुङले आफू विगतदेखिनै सहकारीको विधि र पद्धतीका लागि लड्दै आएको बताएका छन् ।

ज्यान मार्ने धम्की
संस्था भित्र अनियमिता बढेको आवाज उठाएपछि लेखा समितिका संयोजक कृष्ण गुरुङलाई कार्यालय भित्र समेत पस्न दिइएको छैन । अनियमितताको आवाज उठाएपछि ज्यान मार्ने धम्कि दिइएको छ । गुरुङले आफूलाई ज्यान मार्ने धम्कि दिइएको भन्दै गत असोज २० गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जिउ ज्यानको सुरक्षागरी पाउँ भनि निवेदन दिएको गुरुङले बताए । संस्थामा भएको व्यापक अनियमितताको आवाज उठाउँदा संस्थाका सिइओ राम दिक्षीतले ज्यान मार्ने धम्कि दिएको उनले निवेदन दिइएको पत्रमा उल्लेख छ ।

एकल निर्णयमा ५० लाख भन्दा बढी ऋण
गत बैशाख २३ गते ऋण समितिका सदस्य कृष्ण प्रसाद अधिकारीको एकल निर्णयका आधारमा ५० लाख भन्दाबढी ऋण वितरण गरिएको लेखा समितिले सार्वजनिक गरेको छ । ऋण समितिको माईन्युटमा अधिकारीले मात्र हस्ताक्षर गरी ऋण वितरण गरेका हुन् । ऋण समितिको संयोजक संस्थाका उपाध्यक्ष समेत रहेका शुभाष पौडेल र अर्का सदस्य महेन्द्र थापा भएपनि अधिकारीले एकल निर्णयका आधारमा ५० लाख भन्दा बढी ऋण वितरण गरेका हुन् । महेन्द्र थापालाई भने ९ पटकसम्म ऋण समितिको बैठकमा नबोलाईएको थियो ।

कृतिम व्यक्तिका नाममा शंकास्पद खाता
संस्थामा बहादुर थापा, बहादुर घले नामक कृतिम व्यक्तिका नाममा शंकास्पद खाता खोली संस्थाका विभिन्न आम्दानीहरु लुकाई उक्त खातामा जम्मा गरिएको प्रमाण समेत लेखा समितिले फेला पारेको छ । उक्त खाता गैर कानूनी भएको लेखा समितिले आवाज उठाउँदै आएको छ । उक्त खातामा भएको रकम पटक पटक खर्च गरी लेखा समितिले २०७३ साउन पहिलो साता अनुगमन गर्दा उक्त खातामा झण्डै ७३ लाख रहेको र उक्त खाताको रकम सिमिति व्यक्तिले नीजि प्रयोजनमा खर्च गर्ने गरेको पनि लेखा समितिले खुलासा गरेको छ ।

बिना धितो ऋण र कम ब्याजमा लगानी
संचालक समितिका उपाध्यक्ष एंव ऋण समितिका संयोजक समेत रहेका शुभाष पौडेलले बिना धितो गत असार ३ गते ७ लाख, गत चैत १६ गते सिइओ राम दिक्षीतले बिना धितो १२ प्रतिशत व्याजमा ८ लाख, संस्थामा जिएम सुरेश थापाले गत जेठ २० गते बिना धितो ८ लाख ऋण लिएको पनि खुलासा भएको छ । लेखा समितिले अन्य शेयर सदस्यलाई धितो चाहिने तर मुख्य र जिम्मेवार व्यक्तिलाई कम व्याजमा बिना धितो ऋण लिने कुराको विरोध गरेको छ । त्यसैगरी संस्थाको विचौर सेवा केन्द्रका कर्मचारी सुकबहादुर तामाङले शाखा प्रबन्धक दिपेन्द्र पराजुलीको मिलिमतोमा ८ लाख भन्नाबढी अनियमितता गरेको, चक्रतिर्थ सेवा केन्द्रका कार्यरत कर्मचारी तुला गुरुङले ५० लाख ६३ हजार ४ सय ६९ रुपैयाँ हिनामिना गरेका थिए । तुला गुरुङका बाबु राम प्रसाद गुरुङले २०७१ जेठ १२ गते उक्त रकम तिर्छु भनेर कपाली तमसुक गरेपनि उक्त विषयमा पछि संस्था मौन बसेपछि संस्थाका अध्यक्ष घले, उपाध्यक्ष सुभाष पौडेल र सिइओ राम दीक्षितको मिलेमतो हुनसक्ने अनुमान गरिएको छ ।

साधारणसभामै माईक खोसियो
गत असोज १७ गते संस्थाको साधारणसभा सम्पन्न भयो । संस्थामा भएको व्यापक अनियमितता र अपारदर्शीताका बारेमा लेखा समितिका संयोजक कृष्ण गुरुङले बोल्दै गर्दा माइक बन्द गरिएको उनी बताउँछन् । गुरुङका पक्षमा आवाज उठाउँदा सदस्यलाई बोल्न दिइएको थिएन ।

१ अर्ब बढी जोखिममा
गण्डकी अञ्चलभर कार्यक्षेत्र भएको यस संस्थाको झण्डै २६ हजार शेयर सदस्य छन् । संस्थाको कारोबार १ अर्ब १४ करोड २१ लाख ४३ हजार २ सय ६ रुपैयाँ रहेको छ । संस्थामा व्यापक अनियमिता, विधि तथा शुशासन नभएपछि २६ हजार सदस्यको रकम जोखिमा पर्ने भन्दै लेखा समितिले आवाज उठाएको संस्थाका लेखा समितिको संयोजक कृष्ण गुरुङले बताए । उता सदस्यहरु आफ्नो रगत र पसिनाको कमाईले आर्जन गरी सो संस्थामा शेयरमा लगानी गरेको रकम तथा बचतमा राखेको रकम समयमानै फिर्ता नपाउँदा आफ्नो रकम डुव्ने होकि भन्ने चिन्तामा रहेका छन् ।

अध्यक्षको भ्रष्टाचारको मुद्दा अख्तियारमा
तमु छोँज धिँ का समेत अध्यक्ष रहेका प्रेम घलेले तमु छाँेज धिँमा व्यापक अनियमितता गरेको भन्दै लमजुङका अधिकाँस तमुहरुले २ बर्ष देखि तमु छोँज धिँको कार्यलयमा तालाबन्दि गर्दै आएका छन् । तमु छोँज धिँमा गरेको भ्रष्टचारको मुद्धा अख्तीयारमा छ ।

Displaying Scan1(3).JPG

 

Displaying Scan10002.JPGDisplaying Scan10003.JPGDisplaying Scan10004.JPGDisplaying Scan1000345.JPG



प्रतिक्रिया दिनुहोस