‘सहकारीले सदस्यको हरेक समस्या समाधान गर्न सक्नुपर्छ’

शिव भण्डारी धादिङका किसान आन्दोलनका अगुवामध्येका एक हुन् । कृषिको व्यवसायीकरणलाई मुलमन्त्र बनाएर धादिङका साना किसानहरुको स्तरवृद्धि गर्न भण्डारीले ठूलो योगदान पुर्याएका छन् । भण्डारी हाल साना किसान कृषि सहकारी संघ धादिङका अध्यक्ष हुन् । २०५२ सालमा समुह नं. २१ मा समुह सदस्य भएर साना किसानहरुलाई संगठीत पार्दै उनी ४ कार्यकाल साना किसान सहकारी संस्था बैरेनीको अध्यक्ष, २ कार्यकाल जिल्ला संघ धादिङको सदस्य, १ कार्यकाल उपाध्यक्ष र २ कार्यकाल अध्यक्ष भएर कार्य गरिसकेका छन् । देशको कुल गार्हस्थ उत्पादनको एक तिहाई हिस्सा कृषि क्षेत्रले नै ओगटेको छ । यसै सन्दर्भमा प्रस्तुत छ कृषिको व्यवसायीकरण लाग्नुपर्छ भन्ने योजनाकार एवं साना किसानका अगुवा शिव भण्डारीसँग  सहकारीखबरका लागि कार्यकारी सम्पादक काजी श्रेष्ठले गरेको कुराकानी  ।

सर्वप्रथम साना किसान कृषि सहकारी संस्था बैरेनीको परिचय दिनुस् न ?

साना किसान कृषि सहकारी संस्था बैरेनी २०५३ साल भाद्र १९ मा डिभिजन सहकारी कार्यालय काठमाण्डौमा दर्ता भयो र अहिले हामी साँढे ४ करोडको कारोबार गर्दै आएको संस्था हो । हामीसँग ७ सय भन्दा बढि सदस्यहरु छन् । बिशेषगरि अहिले हामीले बैरेनी गाउँ विकास समितिमानै कार्य क्षेत्र बनाएर काम गरिरहेका छौँ । अहिले हामीले बैरेनी वडा नं ८ गल्छी भन्दा माथि ब्लग बनाएर यूनाईटेड मिसन टू नेपाल धादिङको सहयोगमा अर्गानिक खेती गर्न लागिरहेका छौं । साथै, त्यहाँ ८–९ वटा प्याकेजमा बाख्रापालन सम्बन्धि ट्रेनिङ चलाएर बाख्र्रापालन गरिरहेका छौं । च्याउ खेति सम्बन्धि तालिम दिएर कृषकहरुले च्याउ खेती गरिरहेका छन् । संस्थाको आफ्नै भवन छ । संस्थामा ५ देखी ११ जनाको १५२ वटा समुह छ ।

अहिले सदस्यहरुले साना किसान कृषि सहकारी संस्थाबाट के कस्तो फाईदा लिन सकेका छन् ?

पहिलो कुरा त ऋण कारोबार गर्न पाएका छन् । संस्थाका सदस्यहरुलाई आवश्यक परेको बेला ऋणको कारोबार गरि आवश्यकता पुरा गरिरहेका छन् । दोस्रो कुरा सामाजिक समुदायको क्षेत्रमा प्रत्येक वर्ष साना किसान सहकारी संस्थाले थोर बहुत पैसा दिन्छ । त्यो पैसाले उनीहरुले सामाजिक कार्यक्रम गर्न पाएका छन् । तेस्रो पाटोको रुपमा साना किसान कृषि सहकारी संस्था बैरेनीको पहल र साना किसान कृषि सहकारी संघ धादिङ, त्यस्तै नेपाल कृषि सहकारी संघको सहयोगमा विभिन्न तालिमहरु जस्तै मौसमी÷बेमैसमी तरकारी खेतीसम्बन्धि तालिम, अर्गानिक तरकारी खेतीसम्बन्धि तालिम, बिमा सम्बन्धि तालिम, वित्तिय साक्षरता तालिम, हाते कडाई सम्बन्धि तालिम दिने गरिएको छ । ग्रामिण कृषि तालिम चाहिँ जिल्ला संघ धादिङको तर्फबाट दिईएको छ । ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता हामीले नै तयारी गरेका छौ । ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता १ जना लाई अफिसको स्टाफको रुपमा राख्ने तयारी गरेका छौ ।

अहिले के समस्या देखिएको छ भने किसानले उत्पादन गरेको तरकारीले बजार नपाउने र बजार सम्म पहुँच नभएका किसानहरु पनि छन् तिनिहरुको लागी कृषि सहकारी संस्थाले के सहयोग गदै आएको छ ?

बजारीकरणको हिसाबले यो संस्था आफैले अर्गानिक तरकारीहरु बजारसम्म पुयाउने भनेर बैरेनी बजारमा एउटा अर्गानिक पसल निर्माण गरि सुरु गर्न लागेका थियौ । तर अर्गानिक तरकारी १/२ प्रकारको मात्र उत्पादन भई बजारमा आउने र बजारमा धेरै प्रकारका तरकारी चाहिने भएकाले यसमा हामी सफल हुन सकेनौ । हामी जिल्ला संघको तर्फबाट र यू एम एन धादिङको पहलमा विभिन्न ठाउँमा साना किसान सहकारी संस्थाको मार्फत तरकारी संकलन केन्द्र खोल्दै छौ । धादिङको विभिन्न ठाउँ सलाङ, भुमेस्थान, महादेवेशी, धार्के जस्ता ठाउँमा साना किसान सहकारी संस्था मार्फत तरकारी संकलन केन्द्र खोल्ने र कृषि उत्पादनमा वृद्धि गर्नको लागी रासायनिक मल बिउ, बिजन, किटनाशक औषधि उपलब्ध गराउने काम गर्यौं । किसानहरुले उत्पादन गरेको तरकारी पनि साना किसान कृषि सहकारी संस्थाले नै बिक्रि गर्ने व्यबस्था गरिरहेका छौँ । विशेषत साना किसान सहकारी संस्था बैरेनीले नै त्यो सुरुवात ग¥यो तर पूर्णरुपमा भने सफल हुन सकिरहेका छैनौं ।

तपाई संघको अध्यक्ष पनि हुनुहुन्छ, अहिले जिल्लामा कति कृषि सहकारी संस्था आबद्ध छन् ?

अहिले जिल्लामा १९२ वटा साना किसान कृषि सहकारी संस्था छन् । साना किसान कृषि सहकारी संघको मोडलमा चाहीँ ४० आवद्ध भईसकेका छन् । साना किसान कृषि सहकारी संघ धादिङमा १ गाउँ विकास समितिमा १ साना किसान कृषि सहकारी संस्था बनाउने योजना थियो । अहिले ४६ वटा गाविस र एक नगरपालिकाका विभिन्न स्थानमा गरि ५० वटा साना किसान कृषि सहकारी संस्था पुगिसकेको छ ।

अहिले साना किसान सहकारी संस्थामा कस्तो कारोबार भईरहेको छ र कति वटा संस्था आफ्नै खुट्टामा उभिन सक्ने स्थितिमा छन् ?

म जिल्ला संघको हैसियतले मुल्याङ्कन गर्दा २० वटा सहकारी संस्थाहरु आफ्नै खुट्टामा उभिन सक्ने स्थितिमा छन् । उनीहरुको कारोबारको दृष्टिकोणले हेर्दा ५ करोड देखि १५ करोड रुपैंयासम्मको कारोबार गर्न सक्ने अवस्थामा छन् । धादिङको सलाङ, कुम्पुर, कल्लेरी, भुमेस्थान, केवलपुर जस्ता सहकारी संस्थाहरुले कराडौंको मुल्य पर्ने भवन निर्माण गरिसकेका छन् । सदस्यको दृष्टिकोणले ७ सय देखी १५ सय सम्म सदस्यहरु छन् । एउटा गाउँ विकास समितिमा ती सदस्यहरुलाई पर्ने समस्याहरु आर्थिक समस्या, प्राविधिक समस्या, कृषिका अन्य समस्या जस्ता सबै समस्याहरु धादिङका कृषि सहकारी संस्थाहरुले नै पुरा गरिरहेको देख्दा २० वटा साना किसान कृषि सहकारी संस्थाहरु आफ्नै खुट्टामा उभिन सक्ने छन् । बाँकी ३० वटा कृषि सहकारी संस्थाहरु मध्ये पनि १ करोड देखी ५ करोड सम्म कारोबार गर्ने १५ वटा साना किसान कृषि सहकारी संस्थाहरु छन् । उनीहरु पनि आफ्नो घर, जग्गाको व्यवस्था गरेर अगाडी बढ्छन् । ३५ वटा साना किसान कृषि सहकारी संस्था राम्रो सँग अगाडी बढीरहेका छन् । १५ वटा साना किसान कृषि सहकारी संस्था भर्खरै दर्ता भएका छन् । हाल ती संस्थाहरु १ लाख देखि १ करोड सम्मको कारोबार गर्दै अगाडी बढिरहेका छन् । उनीहरु पनि यहि रफ्तारमा अघि बढे भने आउँदो ५ बर्ष भित्रमा धादिङ जिल्लाको सबै साना किसान कृषि सहकारी संस्थाहरु सक्षम हुन्छन् भन्ने मलाई लाग्छ ।

अहिले कति वटा साना किसान कृषि सहकारी संस्था सामुदायिक भईसके त ?

अहिले ४० वटा साना किसान कृषि सहकारी संस्थाहरु सामुदायिक भईसकेका छन् । १० वटा साना किसान सहकारी संस्था रि, लापा, सेर्तुङ, झार्लाङ दक्षिणी वेल्टमा गजुरी र किरान्चोक , मध्य भागमा मुलपानी, गुम्दी, मार्पाक चाहीँ समुदायमा हस्तान्तरण हुन बाकीँ छ ।

जस्तो जिल्ला संघमा अरु पनि धेरै कृषि सहकारी संस्थाहरु आवद्ध छन् ति सहकारी र यो साना किसान कृषि सहकारी संस्थाले दिने सेवा सुविधामा फरक छ होला नि ?

देशकै परिवेशमा सहकारी संस्था हेर्दा ३२ हजार भन्दा माथि दर्ता भईसकेका छन् । र धादिङकै परिवेशमा हेर्दा पनि ४२० वटा सहकारीहरु दर्ता भईसकेका छन् । धादिङमा रहेका कृषि सहकारी संस्था पनि १८० भन्दा माथि रहेका छन् । स्वतसिद्ध रुपमा यी साना किसान सहकारीको छाता संगठन धादिङ नै हुनुपर्ने हो । धादिङ जिल्लामा साना किसान कृषि सहकारी संस्थाको जन्म चाहीँ २०३२ सालमा भयो । सर्वप्रथम साना किसानले गरिबी निवारणका लागी पहल ग¥यो । धादिङमा रहेको सबै साना किसान कृषि सहकारी संस्थाको छाता संगठनको रुपमा धादिङ नै रहनु पर्ने हो । अर्को कुरा यि सब संस्थालाई समेट्नुपर्ने र समेटिरहेको हुनाले ५० वटा साना किसान कृषि मोडलका सहकारी हुन् भने अरु १४ वटा कृषि सहकारीहरु पनि साना किसानका सदस्यहरु हुन । अप्ठ्यारो कुरा चाहीँ के भने २८ जना मिलेपछि सहकारी दर्ता हुन्छ । सहकारी जन्माउनु मात्र ठुलो कुरा होईन कि त्यो सहकारी मार्फत सबै कुराको आवश्यकता पुरा गर्नु नै ठुलो कुरा हो । सरकारले पनि कृषि क्षेत्रको हकमा १ सहकारी १ गाउँ विकास समितिमा पु¥याउने निती लिएको छ । साना किसान कृषि सहकारी बनाउनुको अर्थ नेपाल सरकारले नै १ गाउँ विकास समितिमा १ साना किसान संस्था बनाईनुपर्छ भन्ने उदेश्य रहेको छ । हामीले पनि एक गाउँ विकास समिति भित्र १ घर १ सहकारी सदस्य बनाउनुपर्ने कुरा अगाडी सारेका छौँ ।

एउटा गाउँ विकास समितिमा एउटा सहकारी भयो भने त्यहाँका मानिसको आवश्यकता पुरा हुन सक्छ । धादिङको निलकण्ठको मात्रै कुार गर्ने हो भने ५० भन्दा बढि वचत तथा ऋण सहकारी खुलिसकेका छन् ।

वचत तथा ऋण सहकारी संस्था र साना किसान कृषि सहकारी संस्थामा कुन चाहीँ बढि प्रभावकारी देखिन्छ ?

वचत तथा ऋण सहकारी संस्थाले वचत राख्ने र ऋण दिने काम मात्रै गर्छ । साना किसान कृषि सहकारी संस्थाले वचत राख्न लगाउने र ऋण दिने काम मात्र नभएर सदस्यहरुको विभिन्न आवश्यकताको पुरा गर्ने काम गरिरहेको छ । संस्थाका सदस्यहरुलाई तरकारी सम्बन्धि तालिम दिने तथा किसानहरुले पालेको पशुहरुको बिमाको व्यवस्था गरिएको छ । साना किसान संघले ३५ जनालाई तरकारी सम्बन्धि, ३५ जनालाई पशु सम्बन्धि तालिम दिई प्रत्येक ३५ वटा साना किसान कृषि सहकारी संस्थामा १–१ जना राख्ने व्यवस्था मिलाएको छ । हाम्रो धादिङमा ५० प्रतिशत भन्दा बढि कृषिमा लगानी गरिएको छ । साना किसान सहकारी संस्थाले आफ्नो सदस्यहरुको विभिन्न आवश्यकता पुरा गरेको हुनाले वचत तथा ऋण सहकारी संस्था भन्दा साना किसान कृषि सहकारी संस्था बढि प्रभावकारी मानिन्छ ।

वचत तथा ऋण सहकारी संस्थालाई साना किसान कृषि सहकारी संस्थामा मर्ज गर्न सकिदैन ?

वचत तथा ऋण सहकारी संस्थालाई साना किसान कृषि सहकारी संघमा मर्ज गर्न सकिन्छ । १ बर्ष भन्दा अगाडी हामीले महादेववेशीमा वचत तथा ऋण सहकारी संस्था लाई साना किसान कृषि सहकारी संघमा मर्ज गरिसकेका छौ । तर मानिसहरुमा के कुराको ईगो हुँदो रहेछ भने म यो संस्थाको अध्यक्ष भनेर जुँगाको लडाई चलेको अवस्था भएकाले उनीहरुले मर्ज गर्न मानिरहेका छैनन् । तर यि सहकारी ठुलो सहकारीसँग मर्ज हुनैपर्छ । किनकि कुनैकुनै सहकारी स्थापना भएको ८ बर्ष हुँदा पनि १०० जना सदस्य पनि प¥ुयाउन सकिरहेका छैनन् । प्रत्येक बर्ष सहकारी घाटामा गईरहेको छ । यो अवस्थामा उनीहरुले कसरि सहकारी चलाउन सक्छन् । यो हिसाबले सानातिना सहकारीहरु कि मरेर जान्छन् कि ठुला सहकारी संग मर्ज हुनैपर्छ ।

जस्तो एउटा यस्तो ट्रेन्ड बनेको छ कि गाउँघरमा सहकारीमा सदस्य किन बन्ने भन्दा सदस्य बनेर ऋण लिएर घरखर्च चलाउन पाईन्छ, साना किसानबाट ऋण लिएर घरखर्च चलाउने भन्दा पनि केहि उत्पादनमुलक व्यवसायिक कामहरु गर्नुपर्छ भनेर अग्रसर गराउन यो संस्थाले केही कार्यक्रम पनि गर्दै आएको छ कि ?

साना किसान कृषि सहकारी संस्थाले साना किसानहरुलाई अग्रसर पार्नको लागी तरकारी खेति, बिमा, वित्तिय साक्षरता सम्बन्धि तालिम दिईरहेको छ । सलाङ जस्ता सहकारी संस्थाले त के पनि गर्न थालेका छन् भने प्रत्येक एक÷एक महिनामा हुने अन्तर सम्बन्धको मिटिङमा १–२ घण्टा समय दिएर एकपटकको अन्तर सम्बन्धको मिटिङमा बिमा सम्बन्धि अर्को पटकको अन्तर सम्बन्धको मिटिङमा वित्तिय साक्षरता सम्बन्धि जस्ता फरक फरक कुराहरु सिकाई रहेका छन् । यसैगरि प्रत्येक साना किसान कृषि सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा लगायतका विषयहरु सिकाई अघि बढ्न प्रेरित गरिरहेका छन् ।

धादिङमा साना किसान कृषि सहकारी संस्था मार्फत सहकारीका सदस्यहरुले के कस्ता उत्पादनको बजारीकरण गरिरहेका छन् ?

धादिङमा पहिलो कुरा त तरकारी उत्पादन नै अगाडी आएको छ अनि माछा पालन र ब्रिकेट आईरहेको छ । उत्तरी क्षेत्रमा चाहीँ ह्यान्डीक्राफ्टा सम्बन्धि तालिम दिई ति सामानहरुको बजारिकरण भईरहेका छन् ।

धादिङमा साना किसान कृषि सहकारी संस्थामा कति लगानी भएको छ त ?

गत बर्ष धादिङले गरेको रेकर्डमा ५ अर्ब भन्दा बढि लगानी गरिएको छ । त्यसमा ५० प्रतिशत भन्दा माथि कृषिमा लगानी गरिएको छ । धादिङ जिल्लाको परिवेशमा साना किसान कृषि सहकारी संस्थासंग आबद्ध भएका सदस्यहरुको हिसाब हेर्ने हो भने ५३ हजार भन्दा बढि सदस्यहरु रहेका छन् । ६५ प्रतिशत भन्दा बढि त महिला मात्र छन् । १४ वटा संस्थाहरु महिलाले मात्र चलाएका छन् । यसमा एक जना पनि पुरुष छैनन् जस्तै : महादेस्थान, खरि, केवलपुर उत्तरी क्षेत्रमा सेमजुङ, कटुन्जे, मार्पाक जस्ता सहकारी संस्थाहरु महिलाले मात्र चलाएका छन् ।

अहिले सहकारीमा देखिएका समस्याहरु के के छन् त ?

अहिले हामी यसरि निरन्तर रुपमा लागिरहँदा पनि संस्थाका सदस्यहरुलाई अझ राम्रो संग बुझाउन सकिरहेका छैन । उत्तरी क्षेत्रका गाउँ विकास समितिमा किसानहरुले उत्पादन गरेको तरकारी बजारीकरण गर्न गाह्रो भईरहेको छ । कहीलेकाहीँ संस्थामा सानातिना आर्थिक समस्याहरु देखिएका हुन्छन् । कर्मचारीबाट नै केही कमजोरीहरु हुने गरेका छन् । ति देखिएका कमजोरीहरु कृषि विकास बैक र साना किसान जिल्ला सहकारी संघले निराकरण गरिरहेको छ ।

अहिले साना किसान कृषि सहकारी संघमा अरु एनजिओ हरुसंग पनि सहकार्य गरेर केही कामहरु भईरहेको छ की ?

साना किसान जिल्ला सहकारी संघ धादिङले युनाईटेड मिसन टू धादिङ कलस्टरसंग ९ बर्ष अधि बाट सहकार्य गरि काम गरिरहेको छ । बिभिन्न गाउँ बिकास समितिमा बाख्रा पालन, अर्गानिक खेती, बङ्गुर पालन, कुखुरा पालन, माछा पालन सम्बन्धि तालिम दिईरहेको छ । जस्तै : नैबिसे गाउँ बिकास समितिमा ४५ रोपनि जग्गामा जिल्ला कृषि कार्यालय धादिङ, विपिभन्न एजजिओ, यू एम एन धादिङको सहयोगमा तरकारीको प्लट बनाई तरकारी खेति सुरु गरेका छौ । केवलपुरमा पनि त्यो काम सुरु गर्न लागेका छौ । यू एम एन र कृषि सम्बन्धि काम गर्ने एउटा संस्था एग्रिटेरा दी नेदरल्यान्डसंग मिलेर गत ४ बर्ष अगाडी देखि काम गरिरहेका छौ । साना किसान बनाउने कुरामा नेपाल सरकारको पनि सहयोग छ । एग्रिटेडा दी नेदरल्यान्ड संग पनि अनुरोध गरि ८ वटा गाउँ विकास समितिमा नेदरल्यान्डको सहयोगमा साना किसान कृषि सहकारी संस्था बनाएका छौँ । अहिले हामीले अर्को हेल्भेटास, उर्जा विकास समितिसँग मिलेर बायोब्रिकेट बनाउने काममा अगाडि बढिरहेका छौं । यसलाई हामी कोइला चारकुल पनि भन्दछौं ।

अहिले जति धेरै नाफा कमायो त्यो सहकारी चाहीँ राम्रो भनेर बुझ्ने चलन छ नि ?

म चाहीँ कुनै पनि सहकारीले धेरै नाफा कमायो भन्दैमा त्यसलाई राम्रो मान्दिन । सहकारीको काम नाफा कमाउने होईन । जुन सदस्यको हरेक समस्याको समाधान गर्न सक्दछ र सेवा सुविधा उपलब्ध गराउन सक्छ त्यस्तो सहकारी चाहीँ राम्रो हो । सहकारीले सदस्यको हरेक समस्या समाधान गर्न सक्नुपर्छ ।

धेरै बर्ष भयो तपाईले सहकारीमा आवद्ध भएर काम गर्न थाल्नु भएको खासमा सहकारी भनेको चाहीँ के हो त ?

छोटो र गाउँले भाषामा भन्नुपर्दा सहकारी भनेको सबै मन मिल्ने मान्छेहरु मिलेर काम गरौं त्यो काम गर्दा जे फाईदा हुन्छ त्यो सबै मिलेर खाउँ र घाटा हुन्छ भने सबै मिलेर सहुँ भन्ने नै हो ।



प्रतिक्रिया दिनुहोस