‘सहकारी मेरो पहिलो पाठशाला हो’

amarawati maharjanअमरावती मर्हजन :-
अध्यक्ष, उपासनामहिला बचत तथा ऋण सहकारी संस्था, सितापाइला काठमाडौं |

प्राय नेपाली महिलाहरु अहिलेको युगमा पनि चुलोचौकोमा मात्रै रुमल्लिएका देखिन्छन् । गृहिणीबाट माथि उठ्न अझै महिलाका लागि निकै सकस र संघर्षको जरुरत पर्छ । एसएलसी दिँदा नदिँदै कर्मचारीका रुपमा सहकारीमा प्रवेश गरेकी अमरावती महर्जन भने कुशल गृहिणी मात्रै नभएर यतिबेला एक सफल सहकारीकर्मीका रुपमा स्थापित नाम बनिसकेको छ । काठमाडौंको सितापाइला ४ मा जन्मिएकी महर्जनले १० वर्ष सहकारीमा कर्मचारीको रुपमा काम गर्दा बटुलेको अनुभव अहिले आएर सफल सहकारीकर्मी बन्नमा उपयोग गरेकी छिन् । उनीले महिलाहरुलाई सहकारीका बारेमा ज्ञान मात्रै बाँडिनन्, उनीहरुलाई नै समेटेर सहकारी स्थापना गरेकी हुन् । उनी अहिले महिला सहकारीका क्षेत्रमा त्यही संघर्ष, लगाव, लगान र समर्पणले सफल भएको बताउँछिन् । एउटी महिलाका लागि घर व्यवहारसँगै कुनै सँस्थालाई समेत स्थापित बनाउँन निकै कठिन छ । महर्जन भने त्यही कठिन यात्राकी एक यात्री हुन् । उनी अहिले जिल्ला सहकारी संघ काठमाडौकी संचालक समेत बन्न सफल भएकी छिन् । यसै सेरोफेरोमा रहेर उनीसँग सहकारी खबर डटकमका लागि काजी श्रेष्ठले गरेको भलाकुसारी :

तपाईंको सहकारी यात्राको बारेमा के भन्नुहुन्छ ?
उपासना स्थापना गर्नुभन्दा पहिला १० वर्ष सहकारीमा काम गरेँ । जुन सहकारीमा म कामर्दथें त्यो सहकारीले डोमिनेट गरेका कारण केही महिलाहरु मिलेर हामी आफै सहकारी स्थापना गरौं भनेर लागेका हौं । सोही संस्थामा चार जनालाई संस्थाबाटै निकालिदिने वातावरण भयो । अन्याय सहन नसकेका कारण हामी पनि संस्था छाडेर यस सहकारी स्थापना गरेका हौं । हामीले २९ जनाबाट सहकारी सुरु गरेका हौं । अहिले ७ औं वर्षमा पुगेको छ । हाम्रो सहकारीमा ३५ सय ७० सदस्य छौं । संस्था स्थापना गर्दा २५ हजार संकलन गर्ने भनेका थियौं । कोहीले ५ हजार मात्र पनि राख्नुभयो । सहकारी स्थापना गर्दा हामी ५ लाखबाट सुरु गरेकोमा हाल ४ करोडको कारोबार गरिरहेका छौं ।

सदस्यको सफलता बारेमा बताइदिनुस् न ?
महिलाहरु विभिन्न व्यवसायमा आवद्ध भएका छन् । राम्रो व्यवसाय गरिरहनु भएको छ । महिलालाई कुनै व्यवसायमा अगाडि बढाउने हो भने, उनीहरु पछि हट्दैनन् । यस संस्थामा आवद्ध सदस्यहरुले ठूलाठूला व्यवसाय पनि गरिरहेका छन् । धेरै सदस्यहरुले पढेका पनि छैनन् । तर पनि व्यवसायमा सफल हुनुभएको छ । यसमा यस सहकारीको ठूलो योगदान रहेको छ । सहकारीबाट विभिन्न तालिमहरु दिएका छौं । सोही तालिमअनुसार व्यवसाय सुरु गरेका छन् । सहकारीमा आवद्ध भएपछि नाम लेख्न सक्ने भएका छन् । खुलेर बोल्न सक्ने भएका छन् । व्यवसाय बढाउन खुलेर ऋण लिन थाल्नु भएको छ । ऋण समयमै तिर्नु हुन्छ । हामीले तोकेको मिति भन्दा बाहिर जानुहुन्छ । बचत पनि नियमित गरी रहनु हुन्छ ।

सदस्यलाई ऋण मात्रै दिनुहुन्छ कि व्यावसायिक तालिम पनि ?
हामी वास्तविक सहकारी बन्ने कोसिशमा छौं । सदस्यहरुको माग बमोजिम काम गर्छौं । सदस्यको आवश्यकता के छ ? त्यसलाई पहिलो प्राथमिता दिन्छौं । हामी सदस्यलाई कर्जा मात्र प्रदान गर्दैनौं । सदस्यलाई व्यावसायिक तालिमसँगै शिक्षा पनि दिँदै आएका छौं । केही समयअघि संस्थाले सदस्यलाई १५ दिने पाकिस्तानी जुत्ता बनाउने तालिम दियौं । लगभग ६०/६५ जना सहभागी हुनुहुन्थ्यो । तालिमपछि लगानी पनि गरिदियौं । तर त्यो व्यवसायले मार्केट लिनै सकेन । चाइनिज सामानका कारण हामीले उत्पादन गरेको प्रडक्ट महंगो पर्न गयो । ढाका व्यवसाय चाँही राम्रो भएको छ । २०/२५ जना सदस्यहरुले ढाका व्यवसाय गरिरहनु भएको छ । धेरैजसोले कृषि, च्याउ खेती, पाछापालन गरिरहनु भएको छ ।

के कस्ता व्यवसायमा लगानी गर्नुहुन्छ त ?
विशेष गरी कृषि क्षेत्रमा लगानी गरेका छौं । कृषिमा कुखुरा पालन, माछा पालन, बाख्रा पालन छ । ब्युटी व्यवसाय, अन्य विभिन्न व्यवसायमा लगानी छ । सदस्यहरु पूर्ण रुपमा सक्रिय छन् । संस्थाबाट ऋण लिएपछि नियमित किस्ता बुझाउने, ब्याज बुझाउने गर्नुहुन्छ ।

बढीभन्दा बढी महिलालाई सहकारीमा आवद्ध गराउन के कस्ता योजना छन् ?
यस क्षेत्रका प्राय महिलाहरु सहकारी आवद्ध भएका छन् । सदस्यलाई सक्षम र सक्रिय बनाउनका लागि विभिन्न तालिम प्रदान गर्छौ । नेतृत्व विकास तालिम । निःशुल्क स्वस्थ्य शिविर वर्षमा दुई पटक गर्छाैं । महिलाका लागि तीज विशेष कार्यक्रम, कानुनी सेवा, विभिन्न अन्तरक्रिया कार्यक्रम गर्दै आएका छौं । महिलाहरु आर्थिक पक्ष, पारिवारिक पक्ष सबै चाहिन्छ । महिला एउटा अभिभावक पनि हुन् । अभिभावकलाई दिनुपर्ने तालिम पनि दिने गरेका छौं । बच्चाहरुलाई कसरी ट्रेन्ड गर्ने ? भारतबाट टे«नर ल्याएर सदस्यलाई तालिम दियौं । अन्य सहकारीको तुलनामा हामी भिन्न छौं र भिन्न बन्न चाहन्छौं पनि । हरेक पक्षबाट सक्षमबन्न चाहन्छौं ।

महिला सहकारीले देशैभरी उदाहरणीय तथा नमुना काम गरिरहेका छन् । अन्य सहकारीको तुलनामा महिलाले सञ्चालन गरेको सहकारी सक्षम र प्रभावकारी देखिएका छन् । यसको खास कारण के होला ?
महिलाहरु सक्षम भएर संस्था सक्षम भएका होइनन् । तर महिलाहरु जिम्मेवार हुन्छन् । कुनै पनि काममा हात हालेपछि जिम्मेवारीबोध गरेर कामगर्ने भएर सफल भएका हुन् ।

समग्र सहकारीलाई कसरी लिनुभएको छ ?
सरकारले सहकारीलाई सिरियस भएर हेरेको छैन । कर्जा असुली विभाग, लगानी नीति ल्याइदेओस । यसले सहकारी बलियो हुन्छ । कडाभन्दा कडा नियम कानुन आवश्यक छ । ताकि बलियो कानुन भयो भने सहकारीमा बदमासी गर्ने सोच नै आउँदैन । धरासयी भएका सहकारीहरु सञ्चालकले फ्रड काम गरेर भएको छ । यसलाई नियन्त्रण गर्न जरुरी छ । सदस्यहरुको फसेको रकम छिटो भन्दा छिटो फिर्ता गराउन सहकारी अभियान र सरकारले चासो दिनुपर्यो । यसमा चासो दिएको जस्तो मलाई लागेको छैन ।

संस्थाको आगामी कार्ययोजना के छन् ?
हामीले महिलालाई सक्रिय बनाउन विभिन्न खालका कार्यक्रमहरु ल्याएका छौं । पहिलो कुरा हाम्रा सदस्यहरुलाई आफ्नै खुट्टामा उभिसक्नु भएको छ । हामी एक किसिमले सक्षम पनि भैसकेका छौं । अबचाँही केही नयाँ काम सहकारीमार्फत गर्ने सोचमा छौं । यसअघि उपासना होटल चलाउने विचार थियो । आइतबार दर्ता गर्ने भनेका थियौं । तर विडम्बना वैशाख १२ गते शनिबार भूकम्प गयो । यसको काम पनि अघि बढिरहेको छ । अर्को काम प्लानिङ गरिरहेका छौं । सितापाइला क्षेत्रमा ५ रोपनी जग्गा लिएर फुटपातको बजार स्थापना गर्ने सोचमा छौं । सितापाइला क्षेत्रका अव्यस्थित बजारलाई व्यवस्थित बनाउने हाम्रो सोच हो । जग्गाको भाडामा कुरा मिलेको छैन । अन्य नाफामुलक व्यवसाय गर्ने कि भनेर सोच बनाएका छौं ।

प्रसंग बदलौं, जिल्ला सहकारी संघ काठमाडौंको सञ्चालक पनि हुनुहुन्छ । समय कसरी व्यवस्थापन गर्नु हुन्छ ?
जिल्ला संघको हरेक मिटिङमा उपस्थित हुन्छु । समय हामी आफैले व्यवस्थापन गर्ने हो । बिहान उठेदेखि १० बजेसम्म म गृहीणी हुँ । सबै परिवारलाई रेखदेख गर्छु । त्यसपछिको १/२ बजेसम्म अफिस हेर्छु । संस्था मेरो पहिलो प्राथमिकतामा पर्छ । सहकारी मेरो पहिलो पाठशाला हो । कार्यालयलाई एउटा मन शान्त हुने ठाँउको रुपमा लिएको छु । त्यसपछिको समय व्यवस्थापन गरेर अघि बढ्छु । फुर्सद निकै कम हुन्छ । उपासना छ त हामी छौं । यदी उपासनानै छैन भने जिल्लामा पनि हुँदैनौ । एकदम महत्वपूर्ण काम अन्य भयो भने मात्र सहभागी हुन्छु ।

जिल्ला संघको आगामी कार्ययोजना के हुन्छ ?
जिल्ला संघको १५ वर्षे इतिहासमा पहिलोपटक केही समयअघि रणनीति बनाएका छौं । आगामी ३ वर्षमा संघलाई कहाँ पुर्याउने ? भन्ने योजना बनाएका छौं । योजना बनाएपछि काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मेरो तर्फबाट गर्नुपर्ने काम गर्ने छु । साथ दिनु पर्ने ठाँउमा दिनेछु । काममा दबाब दिनुपरेको खण्डमा पनि तयार छु । संघले एक वर्षमा ६३ लाख आम्दानी गर्ने र खर्च ५५ लाख हुने योजना बनाएको छ । हाम्रो कार्यकाल भित्र संघको आफ्नै भवन बनाउने लक्ष्य छ । यसलाई जसरी पनि पुरा गर्नेछौं । संघमा जुनसुकै प्यानलबाट आए पनि सबैको ऐकेबद्धता छ । संघ राजनीतिक थलोको रुपमा बनाउने छैनौं र बनाउन पनि दिने छैनौं । सहकारीको हितहुने मात्र काम गर्ने अठोट पनि छ ।



प्रतिक्रिया दिनुहोस