१५ चैत्र २०८०, बिहीबार

सहकारी, गरिबी र शान्ति !

२९ भाद्र २०७२, मंगलवार
सहकारी, गरिबी र शान्ति !

 सहकारी साहुकारी आसामीगिरी होईन गरिबीको न्युनीकरण र गरिबीको निवारणको केन्द्र हो ।

– नारायण क्षेत्री
नयाँ नेपालमा गाउँदेखि सहरसम्म सहकारीको स्थापना र विस्तार भएको छ । सहकारी सिद्धान्त, मुल्य मान्यता, आचरण, आचार संहिताका आधारमा गरिब, निम्न वर्ग, उत्पिडित, पछाडि पारिएका र महिलाहरुको गरिबी न्यूनीकरण, अधिकारमा पहुच पुर्याउन अन्तराष्टिय रुपमा मान्य र प्रमाणित अभियान सहकारी अभियान हो । क्यानडा, जापान, भारत, व्राजिल, चीन लगायत विश्वका कतिपय मुलुकहरुको आर्थिक तथा सामाजिक उत्थान गरी गरिबी न्यूनीकरणमा अहम भूमिका रहेको छ । सम्पन्न र सफल जीवनको लागि विपन्नता हटाउनु पर्दछ विपन्नता हटाउनको लागि विपन्न नागरिक र सदस्यहरुले अवसरहरु पाउनु पर्दछ । “जस्को विहे उसैलाई देख्न नदे” भनेझै विपन्नहरुलाई अवसर नदिई सम्पन्न र हुनेखानेलाई बढी अवसरहरु दिएर अझ सम्पन्न हुनखाने बनाएर सहकारीको भावना र उद्देश्य पुरा हुदैन । साहुकार र विचौलियाको ठगीबाट मुक्त हुने र थोरै थोरै पूँजी जम्मा गरी साझा व्यवसायबाट गरिबी कम गर्ने र जीवनस्तर उकास्ने साझा उद्देश्य हासिल गर्नका लागि सबै सदस्यहरुले सहकार्य गरेर सहकारीको संरचना संचालन गर्नु नै सहकारीताको मूल मर्म र मुल्य मान्यता हो ।

 गोप्यता र अन्धाकार, अन्धोलाई हात्ती अनि कागलाई कुहीरो जस्तो अन्योलताको भुमरी होईन, सहकारी सूचना र जानकारीको केन्द्र हो ।

 सहकारी दक्ष जनशक्ति विदेश पठाउने मेलो होईन, उत्पादक स्वरोजगारी र आयका अवसरहरु सिर्जना गर्ने अभियान हो ।

 सहकारी भनेको सामाजिक परिचालन मार्फत आफ्नो लागि आफै गर भन्ने स्वाभिमानको सिंढी हो ।
 सहकारी भनेको सामुहिक व्यवसाय गरी विविधता विचको एकतालाई वलियो बनाउने सामाजिक एकीकरणको अभियान हो ।
 सहकारी कालो अक्षर भैसि बरावर भन्ने आहान होईन सबैलाई वित्त, व्यवसाय र समाज सिकाउने पाठशाला हो ।
 सहकारी एकलकाटे, विभेद र दुर्भावनाको गुलिया (समूह) होईन, सामुहिकता, समानता र सद्भावको केन्द्र हो ।
 सहकारी राजनीति जस्तो फोहोरी खेल होईन, सभ्यता सिकाउने स्वच्छ आत्माहरुको सत्संग हो ।
 सहकारी एकतामा अनेकताको विष होईन अनेकतामा एकताको अमृत घोलेर बाँच्न सिकाउने जीवनको एउटा कला हो ।
यसै भावभुमीमा सवै सहकारीहरुले सेवा नै पुरयाईरहेको दावि गरिरहको सुनिन्छ तापनि सरकार भने सहरका सहकारीहरुलाई मात्रै हेरेर सहकारी भनेको नाफामुखी संस्थाहरु हुन भन्दै नाफामा २० प्रतिशत कर लगाउने ध्याउन्नमा मात्रै रहेको र हाल पुर्वाधार विनाका धेरै गाविसहरुलाई समेत नगरपालिका घोषणा गरी त्यहाँका जनता र संघ संस्थाहरुलाई अधिक करको दायरामा समेटने तर सहकारीहरुलाई विकासका साझेदारका रुपमा अंगिकार नगर्ने मनस्थितिमा रहेको देखिन्छ । तसर्थ कृषि र उत्पादनको क्षेत्रमा लगानी तथा काम गर्ने ग्रामिण तथा शहरी सहकारीहरुलाई कर छुटको व्यवस्था गर्नु पर्ने र अनुदान दिने तथा न्यून व्याजमा सरकारले लगानी गर्नु पर्दछ । वित्तीयमात्र कारोवार गर्ने शहरी सहकारीहरुलाई अधिकतम १० प्रतिशत र ग्रामिण सहकारीहरुलाई ५ प्रतिशत नाफामा करको व्यवस्था गरी सबै सहकारीहरुलाई करको दायरमा ल्याउने हो भने कर छल्ने प्रवृत्ति पनि कम हुने र सहकारी मार्फत नेपालको गरिबी न्युनीकरणमा अझ महत्वपूर्ण योगदान पुग्नेछ ।
ग्रामिण भेगमा कार्यरत कृषि तथा अन्य सहकारीहरु र सहरी भेगमा कार्यरत सहकारीहरुविच भिन्नता पनि नपाईने होईन । सहकारीको नाममा सिमित वा २५ जनाले साझे व्यापार गरिरहेको वचत अपचलन गरेको गुनासोहरु प्रसश्त सुनिन्छ । यसो भन्दैमा सबै सहकारीहरुलाई एउटै बास्केटमा हाल्न मिल्दैन । तराई र शहरी क्षेत्रमा संचालित प्रत्येक सहकारीहरुमा १०००, पहाडमा ५०० र हिमालमा २०० न्यूनतम रुपमा डमी सदस्य होईन वास्तविक सदस्यहरु रहनु पर्ने थ्रेसहोल्ड राखे सहकारी व्यवस्थित गर्न सहज हुन्छ । प्रत्येक सहकारीको कम्तीमा पनि स्थायी रुपमा कर्मचारी, कार्यालय, १० लाख शेयर पँुजी, उत्पादनशिल कार्यक्रमहरु संचालन भएको हुनै पर्ने अन्यथा मर्जर तथा खारेजीमा लैजानु पर्ने नीति सरकारले लिनुपर्ने देखिन्छ । सहकारी क्षेत्र व्यवस्थित नहुँदा सहकारीको नाममा नागरिकहरुको समय, शक्ति र लगानी खेर गई रहेको अवस्था देखिएको छ ।
नेपालमा हाल लगभग ३२,००० प्रारम्भिक सहकारीहरु, १८ विषयगत केन्द्रीय संघहरु, एउटा राष्टिय सहकारी बैंक, साना किसान कृषि सहकारीहरुको साना किसान विकास बैंक, ६९ वटा जिल्ला सहकारी संघ, २४५ वटा विषयगत जिल्ला सहकारी संघहरु सक्रिय रहेका छन् । ४४ लाख भन्दा बढी नै सदस्यहरु यी संस्था र संघहरुमा आबद्ध छन् । महिलाहरुको सहभागिता कुल सदस्यमा ४४ प्रतिशतले रहेको छ । सहकारी क्षेत्रमा करीब ३ खरबको आर्थिक कारोबार हुने गरेको अनुमान गरिन्छ र वित्तीय कारोबारमा २० प्रतिशत भन्दा वढी हिस्सा रहेको छ । सहकारीहरुको कुल शेयर पँुजी ४० अर्ब, वचत १७० अर्ब र लगानी १७८ अर्ब रुपैया रहेको छ । यस क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिसतको योगदान पुरयाएको अनुमान छ । १ लाख भन्दा बढी नेपालीहरुले यी संघ संस्थाहरुमा रोजगारी पाएका छन् ।
नेपाल कसैको उपनिवेश नभै स्वतन्त्र रुपमा रहेको भएता पनि अझसम्म नेपाली जनता गरिबीको चपेटामा उत्तीकै आहत भएका छन् । उपनिवेश र साम्राज्यवादको चंगुलबाट करिब संग संगै मुक्त भएका दुई विशाल छिमेकी देश चीन र भारतले विकासको परिदृष्यमा अव विश्वलाई नै नेतृत्व गर्ने अवस्थामा पुगिसकेका छन् । नेपालले किन अझसम्म काचुली फेर्न सकेन यो गम्भिर छलफल र अध्ययनको विषय भएको छ ।
नेपाल कृषिप्रधान र ग्रामिण परिवेश अनि जनजीवनको वाहुल्यता भएको मुलुक हो । गाउँ गाउँमा विकास पुर्याउनु र कृषिलाई आधुनिक, व्यवसायिक वनाउदै उत्पादन बृद्धि गरी आयात प्रतिस्थापन गर्नु र गरिब र किसानहरुको आयमा बृद्धि गरी गरिबी न्यूनीकरण गर्नु नै सरकारको प्रमुख दायित्व भित्र पर्दछ । यसको लागि सरकारको कृषिमैत्री नीति, विश्व वजारमा प्रतिष्पर्धी वनाउनको लागि कम लागतमा अधिक उत्पादन गर्न कृषिमा व्यवसायिकता, आधुनिकीकरण, तालिम, अनुदानको व्यवस्था र निर्यात बृद्धि आपुर्तिको व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।
भनिन्छ, “कृषि गलत भए कुनै पनि कुरा सही हुदैन ।” If Agriculture goes wrong; then nothing will be right. मानव तथा जीव मुख्यतया आहारले बाँच्छ, पैसा, सुन, चादि हिरा मोती जस्ता धातुहरु खाएर होईन । आहारको लागि जैविक अन्नवाली उत्पादन गर्नु पर्दछ । उचित आहार, विहार र विचारले सफल र निरोगी जीवन विताउन सकिन्छ । सिनेमाहलमा चलचित्र हेरेर, घरमा वसेर टिभी सिरियलहरु हेरेर, पसलमा बसेर व्यापार गरेर, स्वघोषित राजनीति र समाजसेवा गर्छु भनेर, कार्यालयमा जागिर खाएर कृषि उत्पादन हुदैन । किसान र श्रमिकले धरतीमा नङग्रा ख्याउनु पर्छ प्रविधिको प्रयोग गर्नु पर्छ रगतलाई पसिना बनाएर वगाउनु पर्दछ अनि मात्र हुन्छ उत्पादन । संसारका किसान र श्रमिकले उत्पादन नगरे के खाएर बाच्छौ ए हुने खाने हो, सम्पन्न भन्नेहरु हो, राजा महाराजा, राष्टपति, प्रधानमन्त्री, राजनीतिज्ञ, समाजसेवी, डाक्टर, जागिरेहरु ! मानव टिकेको छ कृषि, उत्पादन र विकासमा । त्यसर्थ देश हाक्ने चालक भन्नेहरु हो भूमिको व्यवस्थापन गर, प्रविधि र व्यवसायिकता अपनाउ, गरिखानेलाई न्यायोचित पारिश्रमिक व्यवस्था गर अनि कृषिलाई सही मार्ग देउ, खरबौंको आयात घटाउ, सके निर्यात बढाउ नसके आफुलाई चाहिने आफै उत्पादन गर्ने व्यवस्था मिलाउ ।
यसो भनिरहदा कृषि र त्यसको उत्पादनले मात्र गरिबी न्युनीकरण हुन्छ भन्ने होईन । कृषि भनेको प्राणी पालिने महत्वपूर्ण पक्ष हो । उद्योग, व्यवसाय, यातायात, शिक्षा, स्वास्थ्य, पर्यटन, खानी, जल, जंगल, जडिबुटी समग्रको सही सदुपयोग र विकास त्यतिकै आवश्यक छ । उत्पादन र विकास भएर मात्र हुँदैन, उत्पादन, उपलब्धि र अवसरको न्यायोचित वितरणले मात्र गरिबी न्युनिकरणको डुँगा पार हुन सक्छ । म खाऊ मै लाऊ सुख सयल वा मोज म गरु, म हासु मै नाचु मरुन सव अरु दुर्वलहरु भनि दारा धस्ने प्रबृत्तीले गरिबी निवारण त के न्यूनिकरण पनि हुदैन र अरबौ खरबौपतिहरुको र सम्पन्न भनाउदाहरुको दरबारमा अनि मन मन्दिरमा साथै दुनियामा कहिल्यै शान्ति आउदैन । सहकारी अर्थात सहकार्य नै मानव सभ्यता हो र सभ्यताको विकास सहकार्यबाटै भएको हो मानव भन्ने विवेकशिलहरुले मनन गरौं ।

अभिलेख

लोकप्रिय