‘बचत तथा ऋण सहकारी एकीकरण गरी ५ सयमा झार्नुपर्छ’

– शिवजी सापकोटा
प्रमुख कार्यकारी अधिकृत, नेफ्स्कून
बचत तथा ऋण सहकारी संस्थाको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) मा १८ असारबाट शिवजी सापकोटा प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नियुक्त भएका छन् । काभ्रेको पनौती नगरपालिकाका बासिन्दा साकोटाको विगत १७ वर्षदेखि सहकारी क्षेत्रमै क्रियाशील छन् । नेफ्स्कूनले पहिलोपल्ट सहकारी विज्ञलाई नै सीईओका रूपमा नियुक्ती दिएको हो । यसले बचत तथा ऋण सहकारी (साकोस) क्षेत्रमा उत्साह बढेको छ । तथापि सीईओ सापकोटा साकोसमा थुप्रै चुनौती देख्छन् ।
२०६३ साल भदौ १ गतेदेखि नेफ्स्कूनमा आवद्ध भएका साकोटाले नेफ्स्कूनले संचालन गरेको विभिन्न विकास प्रोजेक्टहरू सफलतापूर्वक सम्पन्न गरेका छन् । साकोसभित्रका चुनौतीहरूको सामना गर्दै यसलाई प्रतिष्ठित संस्थाका रूपमा विकास गर्ने योजना राखेको सापकोटासँग सहकारीखबर डटकमका लागि कार्यकारी सम्पादक काजी श्रेष्ठले गरेको कुराकानी ।

नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु भएकोमा यहाँलाई बधाइ छ । यो अवसरलाई कसरी लिनु भएको छ ?
म सहकारी क्षेत्रमा हुर्केको मान्छे हुँ । सहकारी अभियानका विषयमा मैले बुझेको छु । यसका नेतृत्व पङ्ती के चाहान्छ र व्यवस्थापपक के चाहन्छन् भन्ने कुरामा म सुसूचित छु । अभियानले सहकारी मर्यादित कसरी गर्ने ? दिगो कसरी गराउने भन्ने कुरा चाहन्छ । व्यवस्थापनले चुस्त, दुरुस्त र प्रगतिशील व्यवस्थापन चाहन्छ । नेतृत्वले प्रतिनिधित्व चाहान्छ । त्यसैले यो बुझाइलाई म व्यवहारमा उतार्दै सहकारी अभियानलाई मर्यादित बनाउने कुरामा म कुनै सम्झौता गर्ने छैन ।

साकोसलाई कसरी मर्यादित र व्यवस्थित बनाउन सकिन्छ त ?
देशको अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान रहेको कुरा राज्यले नै स्वीकार गरिसकेको छ । तर यो क्षेत्रलाई मर्यादित बनाउनका लागि ‘टुल्स एन्ड टेक्निक्स’ को आवश्यकता छ । नीति र विधिमा संस्था चल्ने वित्तिकै साकोस मर्यादित हुन्छ । त्यसका लागि हामीले भूमिका खेल्नुपर्छ ।

विभिन्न इन्टे«ष्टका मानिसहरू अभियानमा छन् । त्यो दबाबदाई कसरी सामना गर्नु हुन्छ ?
सबैको इन्ट्रेस्ट नेफ्स्कून बनाउने, अभियानलाई माथि उठाउने नै छ भन्ने मेरो बुझाइ हो । अभियानको नेतृत्व नेफ्स्कूनले लिएकाले यहाँ व्यक्तिगत स्वार्थमा काम गर्नुहुँदैन । त्यसका लागि दबाब नदिए हुन्छ । मबाट व्यक्तिगत स्वार्थका लागि कुनै काम हुँदैन तर अभियानका लागि म २४ घन्टा दिन तयार छु । किनकि हामी बिग्रनु भनेको देशभरी रहेका १३ हजार बचत तथा ऋण सहकारी बिग्रनु हो । नेतृत्वले यसलाई मनन् गरेको मैले पाएको छु ।

अबको नेफ्स्कून कसरी अघि बढ्छ ?
नेफ्स्कूनले नेपालमा पल्र्स मनिटरिङ सिस्टम भित्र्याएको थिएन भने बचत तथा ऋण सहकारीको वित्तीय सक्षमता मापन कसरी गर्ने भन्ने कुरा नै अन्योल हुने थियो । नेफ्स्कूनले यस्तै टुल्स दिएर संस्थालाई सक्षम र सवल बनाउने हो । हामी विश्व समुदायसँग जोडिएका छौं । विश्वभर भएका असल अभ्यास, प्रविधि नेफ्स्कूनमार्फत भित्र्याइन्छन् । भोलिका दिनमा नेफ्स्कूनले साकोसहरूलाई अन्य वित्तीय संस्थाहरूसँग प्राविधिक तथा विश्वसनीयतामा प्रतिस्पर्धा गर्ने छ ।

तपाईंको रणनीति के छ ?
रणनीतिक हिसाबमा मैले दुई, तीनवटा कुरालाई प्राथमिकता दिएको छु । साकोस एकीकरणलाई नेफ्स्कूनले प्राथमिकतामा राखेको छ । २३ सय बचत तथा ऋण सहकारी संस्थालाई एकीकरण गरी करिब पाँच सयमा झार्नुपर्छ । यसका लागि कडा नियमनको आवश्यकता छ । दोस्रो कुरा बचत तथा ऋण सहकारी संस्थालाई वित्तीय अनुशासनमा राखेर सुशासनमा चलाउनका लागि पहल गर्छु । साकोसको एउटा छुट्टै पहिचान दिनुपर्छ । साकोस युनिफिकेसन प्रणालीको लागू गर्नेमा मेरो जोड हुन्छ । कोरियामा नौ सय २१ बचत तथा ऋण सहकारी छन् । सबै संस्थाको सूचना केन्द्रीय संघमार्फत पाउन सकिन्छ । सबै सहकारीको सूचना एउटै कोठाबाट दिने प्रविधि र अभ्यास गर्नका लागि अध्ययन अनुसन्धान जारी छ । यो लागू गर्नका लागि मैले महत्वपूर्ण काम गर्ने योजना बनाएको छु ।

युनिफिकेसन लागू गर्न नेपालको सन्दर्भमा कठिन छैन ?
पहिलोचरणमा साइनबोर्ड, संस्थाका नीति–नियम, लेटरहेड, सफ्टवेयर, ब्याजदरलागतमा एकरूपता ल्याउने र कुरालाई विस्तारै लागू गर्दै जाने हो । एकीकृत रूपमा लैजाँदैगर्दा पनि एउटै नेटर्वकमा आउँछ । त्यो इच्छाशक्तिले गर्ने काम हो । म भन्छु, चुनौती छ असम्भव छैन ।

थ्रुपै संस्थाले अझै सामान्य प्रविधिको उपयोग गर्न सकेका छैनन्, तपाईंले कुरा गर्नुभएको प्रविधि कसरी सम्भव छ ?
त्यसैले त हामीले एकीकरणलाई प्राथमिकतामा राखेका छौं । एकै पटक एकीकरण, एकरूपता प्रणाली र प्रविधिमा जोड दिने हो । हाम्रो २३ सय सदस्यमध्ये एक हजारसँग पनि इन्टरनेट छैन जस्तो लाग्छ । सफ्टवेयर चलाउनेसक्ने स्थिति छैन । एकीकरणको माध्यमबाट त्यो साइज कम हुन्छ । एकीकरण गरी गुणस्तरीय संस्था बनाउँदै जाने र उनीहरूलाई प्रविधियुक्त बनाउने सोच छ ।

प्रविधिको कुरा गर्नुहुन्छ तर नेफ्स्कूनले तयार गरेको सफ्टवेयरको विषयमा थ्रुपै आलोचना सुनिन्छ नि ?
हामीले अहिले बनाएको सफ्टवेयर प्रारम्भिक चरणको हो । कतिपय कुराहरू संस्थाको क्षमता अनुसार बढ्दै जान्छ । हिजाको केही कमीकमजोरीलाई सुधार गर्दै यसलाई अन्तर्राष्ट्रिय स्ट्यान्र्डडको बनाउनका लागि यतिबेला युद्धस्तरमा काम भइरहेको छ । समयअनुसार हामीले यसलाई बनाउन सकेनौं भने हामी पछि पर्छाैं । त्यस विषमा हामीले सचेत छौं । केही समयपछि नै इन्टरनेट बैंकिङ, ई—इस्टेटमेन्ट, मोबाइल बैंकिङमा हामी जानैपर्छ । यस्ता अत्याधुनिक कुरालाई पनि हामीले सफ्टवेयरमा समेट्छौं । यसका लागि आईटी ईन्जिनियरकै व्यवस्था हुँदै छ । अहिले नेफ्स्कूनमा आईटी शाखा मात्रै छ । यसलाई विभाग बनाउने तयारी गर्दैछौं । सबै सदस्यको सूचना÷जानकारी नेफ्स्कूनमा स्टोर गर्ने गरी यसलाई विकास गर्ने सोच छ ।

लविङ गर्ने संघ नेफ्स्कून वित्तीय कारोबारमा मात्रै बढी केन्द्रीत भएको छ भन्ने आरोपलाई कसरी हेर्नु हुन्छ ?
नेफ्स्कूनको पहिलो काम लविङ हो । सदस्यको स्तरबृद्धिका लागि काम गर्ने हो । आत्मनिर्भर हुन वित्तिय कारोबार गरिरहेका हौं । हामी सक्षम भएपछि मात्र सेवा दिन सक्छौं । हामीले सदस्यको सपोर्टमा बहस चलाउने, पैरवी गर्ने हो । तर हामी हात फैलाउन चाहँदैनौं । त्यसका लागि वित्तीय कारोबार पनि गरिरहेका हौं । हामी विश्वमा कस्तो अभ्यास भइरहेको छ, भनेर चनाखो पनि बनिरहेका छौं । त्यसपछि सदस्यलाई ती अभ्यासका विषयमा सुुसूचित गर्ने ज्ञान र सीप दिने काम पनि गरिरहेका छौं ।

नेफ्स्कूनले ल्याएको युनिफिकेसन, स्थिरकरणलगायतका कार्यक्रमहरू ठूला ठूला गोष्ठि, सेमिनारमा मात्रै सिमित भएका हुन् ?
त्यस्तो होइन । सुरुमा चर्चाका लागि फोरमको आवश्यकता महसुस गरेर गोष्ठि सेमिनार गर्यौं । जसले सकारात्मक अवस्था सिर्जना गरेको छ । स्थरीकरण, एकीकरण, युनिफिकेसन, सुशासन आउँदै छ भनेर हामीले विभिन्न कार्यशालामा भन्दै आएका छौं । अब एउटै प्याकेजमा यी कार्य गर्नका लागि नेफ्स्कूनलाई सहज भएको छ । युनिफिकेसन मोडेलमा जाने हो । त्यसमा हामी स्पष्ट भइसकेका छौं । त्यो कार्यन्वयनका लागि ती गोष्ठि सेमिनार उपयुक्त सावित भएका छन् । गोष्ठी र सेमिनार गरेर कार्यान्वयन पक्षमा नजाने काम नेफ्स्कूनले गर्दैन । प्रारम्भिक चरणमा ती कार्य गर्नैपर्छ । अब कार्यान्वयन गर्ने लेबलमा छौं ।

बचत तथा ऋण सहकारीमा विसंगती, विकृति छ भन्ने आरोप छ । केही संस्थाहरू भागेका पनि छन्, यो चुनौतीलाई कसरी समाना गर्न सकिन्छ ?
संस्थालाई संस्थागत रूपमा सञ्चालन गरी दिगो विकास गर्नेतर्फ हामी अगाडि बढिसकेका छौं । २०६६ सालदेखि नै संस्थालाई कसरी मर्यादित बनाउने, सदस्य प्रति संस्थालाई कसरी जवाफदेही बनाउने, उनीहरूलाई जिम्मेवार कसरी बनाउने भन्ने विषयमा नेफ्स्कूनले काम गरिरहेको छ । अब युनिफिकेसनमार्फत यी समस्या समाधान गर्ने हो । एकीकरण गरेर संस्थालाई बलियो बनाउनुपर्छ भनेर हामी लबिङ गरिरहेका छौं । सरकार पनि पोजेटिभ छ । यसलाई अब द्रूत गतिमा लैजानुपर्छ । तथापी नेफ्स्कूनको स्कुलिङ खराब छैन । नेटवर्कमा आवद्ध नभएकाले सहरी क्षेत्रका संस्थामा समस्या देखिएको हो । त्यो विषयमा पनि सरकासँग मिलेर हामी काम गर्छौं । एकीकरणपछि लगभग सबै नेफ्स्कूनको नेटवर्कमा आउँछन् भन्ने विश्वास छ ।

अन्त्यमा, सहकारी अभियानमा सञ्चार क्षेत्रको भूमिकालाई कसरी हेर्नु भएको छ ?
सहकारी अभियानमा मिडियाको ठूलो भूमिका रहन्छ । सहकारी मोडेलको प्रचार प्रसारले अभियानलाई महत्वपूर्ण टेवा दिन्छ । यस क्षेत्रमा देखिएका कमी कमजोरीलाई सुधार गर्नका लागि स्वच्छ आलोचना गरेर वाचडगको रूपमा मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । हाम्रोजस्तो मुलुकमा सहकारी मोडेलबाटै विकास सम्भव हुन्छ । यस कुरामा सञ्चार क्षेत्र कन्भिन्स हुनुपर्छ । सञ्चार क्षेत्र प्रवद्र्धनमा लाग्नु पर्छ । व्यावसायिकरण गर्ने कुरामा हामी लाग्छौं ।



प्रतिक्रिया दिनुहोस