साना किसान सहकारी : ग्रामीण विकासको अस्त्र !

काठमाडौं । सहरी क्षेत्रमा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यबाट उठाएको बचत हिनामिना गरी सिंगो सहकारी क्षेत्र बदनाम हुन थालेको बेला ग्रामीण क्षेत्रमा संचालित साना किसान कृषि सहकारी संस्थाहरुले भने ग्रामीण आर्थिक तथा सामाजिक विकासका लागि उपस्थिती देखाउन थालेका छन् । कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने मुल उद्देश्य लिएर स्थापना भएका संस्थाहरुले बचत तथा ऋण सेवादेखि कृषिलाई व्यवसायीक बनाउन आवश्यक उन्नत मल, विउँ, प्राविधिक सेवा, बजार व्यवस्थापनका साथै सामाजिक क्षेत्रमा विद्यालय संचालन, स्वास्थ्य सेवा, लैंगिक समानता, उत्पिडित वर्गको उत्थानलगायतका काममा भूमिका खेल्न थालेका छन् ।

साना किसान सहकारी अभियानको ईतिहास धेरै पुरानो छैन । तत्कालिन सरकारले खोलेका साझा सहकारी संस्थाहरूले प्रभावकारी काम गर्न नसकपछि गाउँका कृषकलाई वित्तीय सेवा पुर्याउन कृषि विकास बैंकले ०३२ सालमा साना किसान विकास आयोजना कार्यक्रम सुरु गरेको हो । नुवाकोटको तुप्चे र धनुषाको दिगम्बरपुरमा २ वटा समूह बनाएर परीक्षणका रूपमा सुरु भएको कार्यक्रम अहिले नेपालमा नमुना कार्यक्रमको रूपमा स्थापित भएको छ । साना किसान विकास आयोजनाबाटै साना किसान कृषि सहकारीका रूपमा परिवर्तन भएको कार्यक्रमले ५५ जिल्लाका ४ लाख घरधुरीलाई यो अभियानमा समेट्न सफल भइसकेको छ ।
हाल दुई सय ७१ साना किसान सहकारी सञ्चालनमा रहेकोमा १० वर्षमा एक हजार संस्था पुर्याउने लक्ष्य लिइएको छ । साना किसानमार्फत सहकारीमार्फत चेपाङ, राउटेलगायत पिछडिएका वर्ग र दलितहरु डोम, मुसहर, चमार, धोबी, चालिमार, पासवान, बनकरिया, पहाडमा दमाई, कामी, सार्कीलगायतका जातिहरु समेत सहकारीमा आवद्ध भई व्यवसायीक गतिविधिमा लाग्न थालेको नेपाल कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक बताउछन् । सहरी क्षेत्रमा सहकारी बदनाम भएकाले बेला हामीले गरेको काम १,२,३ भनेर गनेर देखाउन सक्छौं, उनले भने । साना किसान सहकारीहरुको मुख्य लगानीमा पुँजी व्यवस्थापनका लागि राष्ट्रियस्तरको लघुवित्त बैंक साना किसान विकास बैंक समेत संचालनमा छ ।

वित्तीय सेवादेखि व्यवसायीसम्म
सहकारी ऐन ०४८ अनुसार फरक परिवारका २५ जना मिलेर सहकारी संस्था गठन गर्न सकिने व्यवस्था रहेको छ । सहकारीबारे नबुझीकन अर्काले गरेर देखेको आधारमा जो सुकैले सहकारी दर्ता गर्दा यस क्षेत्रमा विकृती पनि उस्तै छ । तर साना किसान सहकारीहरुले भने दर्तादेखि नै कडाई गरेर लगेका छन् । ‘साना किसान सहकारी अरु सहकारी जस्तो होइन, दर्ता अघि नै १० वटा चरण पार गरेपछि मात्र सहकारी दर्ता हुन्छ’ संघका महाप्रवन्धक रुद्र भट्टराई भन्छन्, यसले गर्दा साना किसान सहकारी संस्थाको अलग पहिचाहन छ ।

संघका अनुसार साना किसान सहकारीमा संस्थामार्फत १७ अर्व परिचालन भएको र त्यो रकममध्ये ७० प्रतिशत कृषि क्षेत्रमा लगानी भएको छ । पुँजी परिचालन गरेर पशुपालन गर्दा कृषकले एकैचोटी दूध, जैविक मल र मासुजन्य पशुपालनबाट कृषकले फाइदा लिइरहेका छन् । सहकारीले तालिम, सिप, पुँजी र बजारीकरणसम्मको सेवा दिएपछि ग्रामीण क्षेत्रमा व्यवसायीक कृषि गतिविधिहरु बढेको छ ।

साना किसान सहकारीमार्फत उदाहरणीय काम

sanakisan_sahakari1
सहकारी बदनाम भइरहेका बेला साना किसान सहकारीहरुले भने उदाहरणीय काम गरेका छन् । कृषि उत्पादन, प्रसोधन, बजारीकरण, भ्यालु चेनमा सहकारीको योगदान महत्वपूर्ण रहेको छ ।

साना किसान सहकारीको नाम लिने वित्तीकै सानाकिसान चिया सहकारी अभियान आउँछ । झापाको साना किसान कृषि सहकारीले चिया प्रसोधन उद्योग सुरु गरेपछि यसबाट त्यस क्षेत्रका कृषकमा छुट्टै उत्साह आएको छ । निजी क्षेत्रको उद्योगमा चियापत्ति बेच्नुपर्दा मर्कामा परेका कृषकहरुले चियाको उचित मुल्य पाउन थालेका छन् ।

७ करोड लागत मध्ये ३ करोड १० लाख सरकारको अनुदान, ३ करोड २५ लाख स्थानीय सानाकिसानको स्व–लगानी र २ करोड ऋणमा बनेको कारखानसँग दैनिक १८ हजार के.जी. हरियो पत्ति प्रशोधन गर्ने क्षमता रहेको छ । कारखानामा प्रत्यक्ष चालीस जना र अप्रत्यक्ष २००० जनाले रोजगारी प्राप्त गरेका छन् । चियाखेती बाट पृथ्वीनगरका सानाकिसानले वार्षिक ५ लाख ६ हजार के.जी. तयारी चियाको विक्रिबाट सरदर ७ करोड ८ लाख ४० हजार चियाको सफलता पश्चात मूल्य श्रृङ्खलाको लाभ किसानले पाउने गरी भावी दिनमा दुग्ध उत्पादनमासमेत प्रवेश गर्ने लक्ष्य बनाएको छ । सपना देख्नेले नै सफलता प्राप्त गर्छ भन्ने कुरा पृथ्वीनगरका सानाकिसानहरुले बुझीसकेको अध्यक्ष देवी प्रसाद कोइराला बताउँछन् ।

यसैगरी साना किसान सहकारी सस्थामध्ये साना किसान कृषि सहकारी संस्था सराङकोटले सहकारीमार्फत पर्यटन प्रवद्र्धनको काम गर्दै आएको छ । ०५४ सालमा कृषि विकास साना किसान कृषि सहकारीको आयोजनाका रुपमा सुरु भएको आयोजना ०६१ साल भदौ ९ गते सहकारीमा दर्ता भएको हो । संस्थाले पर्यटन क्षेत्रमा प्याराग्लाइडिङ र क्युरियो पसलमा लगानी गरेर अहिले पहिचाहन स्थापना गरेको छ । यसैगरी संस्थामार्फत तरकारी खेती, पशुपालन, आयआर्जन मुलक काममा लगानी गर्दै आएको छ । यसैगरी सदस्यलाई व्यवसायीक बनाउनका लागि आयमुलक सिप, अचार बनाउने तामिल, सिलाई बुनाई जस्ता सिप दिदै आएको छ ।

साना किसान कृषि सहकारी संस्था मैनापोखरीले तोरी मिल राखेर सेवा दिदै आएको छ । १३ लाख लगानीमा स्थापित संस्थाको तोरी मिलबाट दैनिक ५५ लिटरसम्म तेल उत्पादन गर्ने क्षमता छ । बजारमा मिसावटयुक्त तेल खादै आएका उपभोक्तालाई संस्थाले शुद्ध तोरीको तेल दिने गरेको छ । सहकारीले  कृषकबाट तोरी खरिद गरेपछि एकातिर उपभोक्ताले शुद्ध तेल पाएका छन् भने अर्कोतिर कृषकले उचित मूल्य पाएको प्रवन्धक माया पोख्ररेल बताउछिन् ।
साना किसान कृषि सहकारी संस्था मनहरी मकवानपुरले पनि दुग्ध व्यवसायमा उल्लेखनिय काम गरेको छ । १ हजार ५ सय ३६ सदस्य रहेको संस्थाले दैनिक दैनिक ६ सय लिटर दुध संकलन गरी आफ्नै चिस्यान केन्द्रमा राखेर बिक्री गर्दै आएको छ । यसबाहेक घट्टमा पिधेको पिठो, बेसार, सिस्नु पाउडर, मह, च्याख्ला बजारीकरण गरेको अध्यक्ष एकराज उप्रेतीले बताए ।

जनचेतना कृषि सहकारी संस्था काकडाले चेपाङको परम्परागत पेशामा व्यवसायीकरण गर्न सहयोग गर्दै आएको छ । संस्थाले गिट्ठाको चिप्स, भिरमौरीको मह व्यवसायीक रुपमा बिक्री गर्दै आएको छ । लोपोन्मुख चेपाङलाई तरकारी उत्पादन, व्यवसायीक पशुपालनमा लगाएर उनीहरुको आर्थिक उत्पादनमा सहयोग गरेको प्रवन्धक दिनेश चेपाङले जानकारी दिए ।

यसबाहेक पनि साना किसान सहकारीहरुले ग्रामीण क्षेत्रमा विभिन्न उदाहरणीय काम गरेका छन् । संस्थाहरुले वित्तीय सेवाका अतिरिक्त सामाजिक उत्थान र व्यवसायीक कृयाकलाप अघि बढाउदै आएका छन् । संघका अनुसार संस्थाहरुले एक गाउँ एक उत्पादन, अग्र्यानिक उत्पादन, बाली उत्पादनm सहकारी खेती÷व्यवसाय, सामुदायिक सिचाई, कृषि पर्यटन, कृषि उपजको खरिद बिक्री, बजारको व्यवस्था, कृषि समाग्रीको बेचबिखन, उपभोक्ता भण्डार डिपार्टमेन्ट स्टोर संचालन गर्दै आएका छन् ।

यसैगर कृषि प्रशोधन उद्योग, मुल्य श्रृखला, मह प्रशोधन, पशुपालन, पशु सुरक्षा कार्यक्रम, सामुदायिक बन तथा बैकल्पिक उर्जा कार्यक्रम लैगिक शसक्तीकरण, पिछडिएका वर्गलाई सामाजिक मुल प्रवाहमा समावेश गराउने कार्यक्रम संचालन गर्दै आएका छन् ।

कृषि सहकारीहरुको भूमिका प्रभावकारी भएर नै सरकारका साथै विभिन्न एनजिओ आइएनजीओहरुले साझेदारी गर्दै आएको संघका अध्यक्ष खेम पाठक दावी गर्छन् । यो कार्यक्रम देशभरका गाविसमा विस्तार गर्ने अभियानमा लागेका पाठक त्यो लक्ष्य पुरा भएपछि देशकै शसक्त कार्यक्रम हुने दावी गर्छन । ‘यो कार्यक्रम देशका सबै गावीसमा पुगेपछि गरिवी निवारणका लागि यो भन्दा शसक्त र बलियो कार्यक्रम अरु हुनेछैन’ उनले ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस