४ बैशाख २०८१, मंगलवार

इन्दिरा गान्धी हत्याको तीस वर्ष,सत्तामा गान्धी वंशको अस्तित्व सङ्कट

१३ कार्तिक २०७१, बिहीबार
इन्दिरा गान्धी हत्याको तीस वर्ष,सत्तामा गान्धी वंशको अस्तित्व सङ्कट

नयाँ दिल्ली । सन् १९८४ को अक्टोबर ३१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई जब उहाँकै अङ्गरक्षकले गोली हानी हत्या गरे सो समयमा गान्धी वंशको निरन्तरताका लागि उहाँका छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीको पदमा राखियो । भारतमा गान्धी परिवारलाई राजनीतिक वंशजका रुपमा पनि लिइन्छ । सोही वंशजको विरासत धान्न छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीका रुपमा आसिन गराइएको थियो ।

तर भारतीय राजनीतिमा एक बलियो उम्मेदवार (आइरन लेडी) का रुपमा रहेकी पूर्व प्रधानमन्त्री गान्धीको हत्याको आज तीस वर्ष पुग्दा भने भारतको सो राजनीतिक वंशजलाई यतिखेर निकै अप्ठेरो परिरहेको महसुस भएको छ । सो राजनीतिक वंशजले गरिरहेको भारतीय काँग्रेस पार्टी यतिखेर सत्तामा छैन । सत्तामा नभएको मात्र होइन यतिखेर सो दल निकै कमजोर प्रतिपक्षका रुपमा उभिएको छ ।सोही राजनीतिक वंशजका एकजना कनिष्ठ सदस्य राहुल गान्धी (इन्दिरा गान्धीका नाती र पूर्व प्रधानमन्त्री राजिव गान्धीका छोरा) यतिखेर पार्टी नेतृत्वमा आइपुगेका छन् तर संसद्मा झिनो मतका आधारमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छन् ।
गएको मे महिनामा भएको आमनिर्वाचनमा त्यहाँको विपक्षी दल भारतीय जनता पार्टी सत्तामा आएको छ भने सत्तारुढ दल काँग्रेस विपक्षमा उभिएको छ ।  काँग्रेस दुई दशकलामो शासनपछि सानो आकारको प्रतिपक्षी दलका रुपमा पछिल्लो समयमा देखिएको छ ।  भारतमा काँग्रेसका बारेमा कयौँ पुस्तक लेखेका एकजना बुद्धिजीवी रसिद किदवायी भन्छन्– इन्दिरा गान्धी वास्तवमा भारतमा काँग्रेसलाई व्यापकता दिने नेत्री थिइन् तर अहिले सो कुराको खाँचो उक्त पार्टीभित्र महसुस भइरहेको छ ।
जसको अभावका कारण पनि भारतमा काँग्रेसको यो गत सुरु भएको छ– उनको भनाइ छ । भारत स्वतन्त्र भएको ६७ वर्षमा भारतमा काँग्रेसले कम्तीमा पनि ५० वर्ष शासन गरेको छ । भारतमा काँग्रेसलाई नै सधैँ सत्तारुढ दलकै रुपमा विकास गरिएको थियो । इन्दिरा गान्धीका पिता जवाहरलाल नेहरू भारत स्वतन्त्र भएपछिका पहिलो प्रधानमन्त्री हुन् । उनले सन् १९४७ देखि १९६४ सम्म प्रधानमन्त्रीका रुपमा काम गरेकाछन् ।नेहरू प्रधानमन्त्रीबाट हटेको दुईवर्षपछि देखि नै इन्दिरा गान्धी प्रधानमन्त्री बनेकी हुन् । उनले पनि सन् १९६६ देखि १९७७ सम्म भारतमा प्रधानमन्त्रीका रुपमा सेवा गरेकी छिन् ।
त्यसपछि पनि उनी सन् १९८० पछि फेरि प्रधानमन्त्रीका रुपमा सत्तामा आएकी थिइन् । उनी प्रधानमन्त्री रहेकी बेला हत्या भएको थियो । उनको हत्यापछि पनि उनका छोरा राजिव गान्धीलाई भारतको प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो । पछि उनको पनि हत्या भएको थियो । राजिव गान्धीको हत्या सन् १९९१ मा तामिलहरूले गरेका थिए । उनलाई पनि प्रधानमन्त्री रहेकै बेला हत्या गरिएको थियो । त्यसपछि भने उनकी श्रीमती सोनिया गान्धीले पार्टीको बागडोर सम्हाल्दै आएकी छिन् । उनको नेतृत्वमा सन् २००४ र सन् २००९ मा भएको आम निर्वाचनमा काँग्रेस नै ठूलो दल बनेको थियो । सोही बमोजिम नै काँग्रेसले दश वर्षसम्म शासन गरेको हो ।एएफपी

अभिलेख

लोकप्रिय