चीनद्वारा निजी क्षेत्रमा तीन बैंक स्थापना गर्न अनुमति

 साङघाइ । चीनले इन्टरनेटको ठूलो संस्था टेनसेन्टका साथै तीन संस्थालाई निजी बैंक स्थापना गर्न अनुमति दिएको यस उद्योगका नियमक संस्थाले शुक्रबार जानकारी दिएको छ ।

यस मुलुकमा सरकारी बैंकहरूलाई प्रतिस्पर्धा दिन लामो समयसम्म यस प्रकारको आर्थिक सुधारको अपेक्षा गरिएको थियो । यसअघि चीनमा मिनसेङ बैंक तथा पिङ आन बैंक गरी निजी क्षेत्रमा दुई बैंक मात्र भएको सरकारी आमसञ्चारले जनाएको छ ।

चाइना बैंककिङ रेगुलेटरी कमिसन (सीबीआरसी) ले दक्षिणी भागमा आर्थिक रूपमा सम्पन्न सेनझेन, उत्तरी भागको बन्दरगाहयुक्त नगर तियानजिन तथा पूर्वी भागमा अवस्थित नगर वेनझाउमा निजी क्षेत्रमा यी बैंक स्थापना हुने जानकारी दिएको छ । वेनझाउलाई निजी व्यापारिक संस्थाको केन्द्रको रूपमा लिइन्छ ।

मार्च महिनामा सरकारले बैंककिङ क्षेत्रमा सुधार गर्ने घोषणा गरेको थियो । हाल चीनमा सरकारले सञ्चालन गरेका चारवटा बैंक छन् । यी सबैको अल्पसङ्ख्यक सेयर स्टक बजारमा सूचीबद्ध छन् ।

सीबीआरसीका अध्यक्ष साङ फुलिनले वास्तविक आर्थिक विकासमा सहयोग गर्न वित्तीय सेवालाई विविधीकरण गर्न तथा प्रभावकारी बनाउन यो लक्ष्य लिइएको बताउनुभयो भनी एक विज्ञप्तिमा जनाइएको छ ।

टेनसेन्ट चीनमा इन्टरनेटमा वीचाट नामक लोकप्रिय ‘मेसेज एप्लिकेसन’ तयार गर्ने संस्था हो । यस संस्थाले सेनझेनमा नयाँ बैंक स्थापना गर्न प्रमुख भूमिका खेल्ने भएको छ । यहाँ नै यस संस्थाको केन्द्रीय कार्यालय रहेको छ ।

टेनसेन्टले एक छुट्टै विज्ञप्ति प्रकाशन गरी आफूहरूको बैंकको अङ्ग्रेजी नाम ‘वी बैंक’ रहेको जानकारी दिएको छ ।

स्थानीय दुई लगानीकर्ता संस्था सेनझेन बैययुआन इनभेस्टमेन्टको तथा सेनझेन लिय ग्रुपले टेनसेन्टसँगै लगानी गर्ने जानकारी सीबीआरसीले दिएको छ । यसले खुद्रा व्यापार तथा साना व्यापारिक संस्थामा लगानी गर्ने बताइएको छ ।टेनसेन्टले प्रतिस्पर्धी अलिबाबालाई यस दौडमा पछि पारेको देखिएको छ ।

इन्टरनेट व्यापारमा ठूलो सस्था अलिबाबाले अमेरिकामा दशौँ लाख अमेरिकी डलर बराबर सेयर उपलब्ध गराउने तयारी गरिरहेको छ । यस संस्थाले पनि बैंकिङ संस्थाका लागि अनुमतिपत्र माग गरेको जानकारी दिएको थियो ।

इलेक्ट्रिकल उपकरण उत्पादक चिन्ट ग्रुप तथा सामग्री तथा वित्तीय क्षेत्रमा क्रियाशील हुआफोनले पनि वेनझाउ बैंक स्थापना गर्ने भएका छन् । यस कम्पनीको अनेकौँ स्थानीय कम्पनी छन् ।माइगोउ ग्रुप तथा हुवाबेइ ग्रुपले तियानजिनमा तेस्रो बैंक स्थापना गर्नेछन् । यसले संस्थागत बैंकिङमा ध्यान दिनेछ ।

माइगोउले व्यापारिक सम्पत्ति, खुद्रा व्यापार तथा वित्तीय सेवा सञ्चालन गरेको छ । हुवाबेइ इलेक्ट्रिकल तार, सम्पत्ति, वित्तीय क्षेत्र तथा अन्य सामग्रीको व्यापारमा संलग्न छ ।सरकारी संस्थाहरूले मार्च महिनामा साङघाइको व्यापारिक संस्था फोसुनले पनि निजी क्षेत्रमा बैंक स्थापना गर्ने योजना बनाएको जानकारी दिएका थिए । एएफपी



प्रतिक्रिया दिनुहोस