१६ चैत्र २०८०, शुक्रबार

गण्डकी प्रदेश सहकारी संघ बनाउन कार्यदल गठन, संयोजकमा जिसी

२७ कार्तिक २०७६, बुधबार
गण्डकी प्रदेश सहकारी संघ बनाउन कार्यदल गठन, संयोजकमा जिसी

पोखरा, २६ कात्तिक
सहकारी ऐन २०७४ अनुसार प्रदेश स्तरमा सहकारीको संघ तथा विषयगत संघहरु गठनका लागि गण्डकी प्रदेशका सहकारी संघहरुको भेला मंगलवार पोखरामा सम्पन्न भएको छ ।

भेलाले गण्डकी प्रदेश सहकारी संघ लिमिटेड तथा प्रदेश स्तरीय विषयगत सहकारी संघहरु गठनका लागि राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।


उक्त कार्यदलका सदस्यहरुमा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका लेखा संयोजक युवराज पराजुली, नेफ्स्कुनका सञ्चालक भीमबहादुर गुरुङ र चण्डीप्रसाद शर्मा, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल र जिल्ला सहकारी संघ नवलपुरका केशवप्रसाद सापकोटा रहेका छन् ।


भेलाले प्रदेश स्तरमा गठन हुने सबै खाले सहकारी संघहरु गठनका लागि विनियम निर्माण लगायत आवश्यक प्रक्रिया सम्पन्न गरी संघ दर्ताका लागि कार्यदल गठन गरेको जनाइएको छ ।

भेलामा बोल्दै राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले सहकारी अभियानलाई प्रभावकारी बनाउन तथा राज्य र अन्य निकायसंग समन्वय गरेर अगाडि बढ्न तथा प्रदेश सहकारी संघ र विषयगत सहकारीको प्रवद्र्धन र विकासका लागि प्रदेश सहकारी संघ गठन गर्ने व्यवस्था ऐनमा रहेकोले सबै प्रदेशमा संघहरु गठनको प्रक्रिया अगाडि बढेको बताए ।

कार्यक्रममा महासंघका लेखा संयोजक धर्मदत्त देवकोटा, महासंघका सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य प्रभा कोइराला, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा नेफ्स्कुनका महासचिव चन्द्र ढकाल लगायतले प्रदेशका सबै संघहरुलाई क्रियाशिल गराई सहकारीमार्फत समाज रुपान्तरणका लागि प्रदेश सहकारी संघ क्रियाशिल हुनु पर्नेमा जोड दिए ।

सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीको अध्यक्षतामा भएको भेलामा गण्डकी प्रदेश अन्तरगत गठन भएका जिल्ला सहकारी संघहरु र विषयगत संघहरुका अध्यक्ष तथा प्रतिनिधिसहित ८० जनाको सहभागिता रहेको थियो ।


सहकारी ऐनको प्रावधान अनुसार प्रदेश स्तरमा गठन भएका सबै जिल्ला सहकारी संघ तथा विषयगत सहकारी संघको ५० प्रतिशत सहभागितामा प्रदेश सहकारी संघ र विषयगत सहकारी संघहरु गठन गर्न सकिने प्रावधान रहेको छ ।

प्रदेशका ११ जिल्लामा रहेका सबै संघहरुको सहभागितामा छिटै प्रदेश सहकारी संघ लगायत विषयगत सहकारी संघहरु गठनका लागि प्रदेश रजिष्ट्रार कार्यालयमा आवेदन पेश गरिने कार्यदलका संयोजक रामबहादुर जि.सी.ले जानकारी दिए ।

अभिलेख

लोकप्रिय