BREAKING NEWS:
Search

ललितपुर बचत संघको २५औं साधारणसभा तथा रजत वर्ष सम्पन्न

काठमाडौं, २२ कार्तिक ।

प्रतिनिधि सभा सांसद पम्फा भुषालले व्यक्ति, समाज र राष्ट्रको आर्थिक विकासमा सहकारीको ठूलो योगदान रहेको बताएकि छिन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाको २५औं वार्षिक साधारणसभा एवं रजत वर्ष समापन समारोहको प्रमुख अथितिको रुपमा बोल्दै उनले सो कुरा बताएकि हुन् ।

संघमा आवद्ध रहेका ५१० सहकारीले १/१ विपन्न तथा गरिब परिवारलाई छनोट गरी उनीहरको क्षमता र रुचिको आधारमा सस्तो व्याजदरमा ऋण लगानी गर्न उनले सुझाव दिइन् । दुईतीन वर्षभित्र ५११ परिवार गरिबीमुक्त हुने भन्दै उनले यसबाट राष्ट्रिय समृद्धि र सुखी जनता बन्न सकिने बताइन् । 

सभामा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले मन्तब्य राख्दै संघको ऐतिहासिक अवसरले सफलता पाओस् भन्दै संघको अनुकरण मुलुकभरका बचत संघहरुले गर्नु सकुन् भन्ने शुभकामना दिए । संसारका कमै मात्र देशहरुले संविधानमा नै सहकारीलाई समावेश गरेको बताउँदै बाँस्कोटाले नेपालको संविधानले सहकारीलाई पनि समान अवसर प्रदान गरेकाले यसलाई अवसरको रुपमा लिएर काम गर्न सुझाए । सहकारी र समृद्धि सँगसँगै जाने भएकाले राज्यले सहकारीमाथि हस्तक्षेप गर्न नहुने उनको भनाई थियो । ऐनको दफा २६मा राष्ट्र बैंकबाट स्वीकृति लिएर बचत ऋणको कारोबार गर्न पाउने भन्ने त्यति बेलाको सानो व्यवस्थाले आज बचतऋण अभियानले ठूलो क्षेत्र ओगट्न सकेको बाँस्कोटाले स्मरण गरे । 

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले प्रवद्र्धनात्मक वित्तीय क्रियाकलाप गरी सदस्य संस्थालाई सहयोग पुर्‍याएकोमा संघको प्रशंसा गरे । बचतऋणको कारोबार गर्न भन्दा बाहेक उत्पादनमूलक कार्य गर्ने संस्थाहरु घाटामा रहेको भन्दै त्यसको कारण सरकार रहेको उनले बताए । भारतमा सहकारीलाई सहुलियत कर्जा र अनुदानको व्यवस्था गरी उत्पादनमूलक क्षेत्रमा लगाएको र चीनमा पनि उत्पादनसम्बन्धी सम्पूर्ण काम सहकारीमार्फत बढाइएको जानकारी दिँदै उप्रेतीले नेपालमा पनि उत्पादनमूलक सहकारीका लागि सहुलियत कर्जा र अनुदानको व्यवस्था गर्न सरकारसँग उनले माग गरे । 

राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समिति संयोजक धर्मदत्त देवकोटाले संघको निरन्तर सफलताको शुभकामना व्यक्त गर्दै सहकारीलाई राजनीतिक क्षेत्र नभई व्यवसायिक क्षेत्र भएको राजनीतिक प्रतिस्पर्धा कम गरी व्यवसायिकता र आर्थिक समृद्धिमा सहकार्य गर्नुपर्ने बताए । 

ललितपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरद कुमार महर्जनले सहकारी अभियानमा ललितपुर उर्वर जिल्लाको रुपमा परिचित रहेको बताए । जिल्लामा भएका सहकारीलाई सबल बनाउन संघहरु सक्रिय हुनुपर्ने बेला आएको बताउँदै महर्जनले डिभिजन सहकारी कार्यलयहरु पुनः स्थापनाको माग गरे । 

सभामा महालक्ष्मी नपाका मेयर रामेश्वर श्रेष्ठले तीन खम्बे अर्थनीति अुनसार राष्ट्रिय अर्थनीतिमा सहकारीको भूमिका बढाउनुपर्ने बताए । सहकारी क्षेत्रमा भएका विकृति र बेथितिलाई जिल्लाका नेतृत्व वर्गले सम्बोधन गर्न नसके आम जनमानसको सहकारीप्रतिको विश्वास घट्दै जाने उनल जनाए । ललिपुरमा के कति सहकारी चाहिन्छ, त्यसको यकिन गरी जोखिमलाई न्यूनिकरण गर्न, मर्जर र एक्विजिशनलाई अगाडि बढाउन श्रेष्ठले सुझाए । 

सभामा प्रदेश नं ३ सांसद शोभा शाक्य, ललितपुर क्षेत्र नं. १ का सांसद नवराज सिल्वाल, नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल, कास्कुनका अध्यक्ष दिपक पनेरु लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

सभामा संघका अध्यक्ष रामहरि बजगाईंले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै संघले संस्थाहरुको प्रवद्र्धन तथा सहकारीमैत्री नीति निर्माणमा पैरवी तथा पहल गर्दै आएको बताए । त्यसैगरी सदस्य संस्थाहरुको विकास र प्रवद्र्धनमा संघले शिक्षा, सूचना, तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया, गोष्ठी, समिट र सेमिनारमार्फत सदस्यहरुलाई व्यवस्थित गर्ने कार्यमा लागेको उनले जानकारी दिए । संघमा आवको अन्त्यसम्म ५११ संस्था आवद्ध रहेको, २ करोड ६८ लाख ५३ हजार शेयरपूँजी, २ करोड ९५ लाख ६८ हजार जगेडा तथा अनय कोषहरु, ७१ करोड २ लाख ११ हजार बचत तथा ४२ करोड ९० लाख ३७ हजार ऋण लगानी गरेको छ । संघले सोही अवसरमा रजत वर्षको अवसरमा प्रकाशित स्मारिका विमोचन तथा वेबसाइटको शुरुवात गरेको छ । 

सभामा संस्थापक अध्यक्ष रोहिणी जोशी, निवर्तमान अध्यक्ष रामशरण घिमिरे लगायत पूर्व अध्यक्षहरु, संस्थापक सदस्यहरु, पूर्व सञ्चालकहरु, पूर्व लेखा सुपरिवेक्षण समिति संयोजक र सदस्यहरुलाई सम्मान गरिएको थियो । 

त्यसैगरी ललितपुरमा महानगरपालिकाबाट सुप्रिम साकोस, महालक्ष्मी नपाबाट सिलुलाइट साकोस, गोदावरी नपाबाट कर्मठ सामुदायिक साकोस, बागमती गापाबाट धुसेल सामुदायिक साकोस, कोञ्ज्योसोम गापाबाट कल्पवृक्ष साकोस र महाकालबाट विश्वासिलो साकोसलाई उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत गरिएका थिए । 

सभामा संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तब्य राखेका थिए भने सभाको सञ्चालन सचिव श्यामकृष्ण महर्जनले गरेका थिए । 



प्रतिक्रिया दिनुहोस