BREAKING NEWS:
Search

सहकारीको ४३ करोड हिनामिना गर्ने चारजना थुनामा

नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेड । तस्बिर : शंकरप्रसाद खनाल

शंकरप्रसाद खनाल

नेपालगन्ज : जिल्ला अदालत बाँकेले नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको ४३ करोड रूपैयाँ अपचलनको अभियोगमा चारजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। 

न्यायाधीश धनिश्वर पौडेलको इजलासले आइतबार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गंगाधर सुबेदी, बैंकिङ्ग प्रबन्धक अरुणकुमार पाठक र सह-उपसहायक बलराम यादवलाई बाँके कारागारमा थुनामा राख्न आदेश दिइएको हो। 

अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणी बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख रूपैयाँ धरौटी मागिएको छ । बज्राचार्य आइतबार दिउँसो २० लाख नगद धरौटी बुझाएर रिहा भएका छन् भने चौधरीले धरौटीमा जेथा (जग्गा) राखिपाउँ भनेर निवेदन दिएका छन् ।

जग्गाको मूल्याङ्कनलगायतका प्रक्रियामा कम्तीमा एक साता लाग्ने भएकाले चौधरी थुनामै बस्नु पर्नेछ । चौधरीसहित पाँच जनालाई आइतबार नै बाँके कारागारको थुनामा राखिएको छ। 

बाँके प्रहरीले गठन गरेको विज्ञ समूहको सहयोगमा भएको छानबिनमा सहकारीको कूल पूँजी ५२ करोडबाट ४३ करोड रूपैयाँ अपचलन भएको दाबी गरिएको छ।

जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना (अपचलन), ठगी र संगठित अपराध अन्र्तगत अभियोग पत्र दायर गरेको छ । चारजना कर्मचारी र दुईजना लेखा समिति सदस्य गरी ६ जना मात्र पक्राउ परेका थिए । ३५ जना अभियुक्त फरार छन्। 

प्रहरी छानबिनले सहकारीको प्रधान कार्यालय नेपालगन्जबाट बचततर्फको १६ करोड ११ लाख ९७ हजार, ऋणतर्फको २२ करोड ९४ लाख १७ हजार, नगद दुई लाख ३० हजार, बैंक मौज्जादको एक करोड ५१ लाख २८ हजार गरी  ४० करोड ५९ लाख ४७ हजार अपचलन भएको देखाएको छ । 

त्यसैगरी बैजापुर शाखाबाट नौ लाख ८३ हजार, खजुरा शाखाबाट ६६ लाख ८६ हजार र संस्थाको शेयर पूँजीबाट एक करोड ८५ लाख ६० हजार गरी ४३ करोड दुई लाख ५३ हजार रुपैयाँ अपचलन भएको देखाएको छ । 

सहकारीका ११ हजार नौ सय ८ निक्षेपकर्ता र एक हजार आठ सय ६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तलाई कारबाहीको माग गर्दै जाहेरी दिएका छन् । 

annapurnapost.com

http://annapurnapost.com/


प्रतिक्रिया दिनुहोस