१५ चैत्र २०८०, बिहीबार

सहकारी नियमावली‚ २०७५ : बचत तथा ऋणको परिचालन

८ असार २०७६, आईतवार
सहकारी नियमावली‚ २०७५ : बचत तथा ऋणको परिचालन

परिच्छेद-5

बचत तथा ऋणको परिचालन

  • सन्दर्भ ब्याजदरको आधार र प्रक्रिया : (१) ऐनको दफा ५१ बमोजिमको समितिले सन्दर्भ ब्याजदर निर्धारण गर्दा देहायका आधार लिनु पर्नेछ :-

(क)  बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत सङ्‌घमा आबद्ध संस्था र सङ्‌घहरूको औसत ब्याजदर‚

(ख)  सहकारी बैङ्‌कहरूको औसत ब्याजदर‚

(ग)  बैङ्‌क तथा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम “क” वर्गको इजाजतप्राप्त बैङ्‌कहरूको औसत ब्याजदर‚

(घ)  ब्याजदरका सम्बन्धमा नेपाल सरकारका मन्त्रालय‚ निकाय‚ नेपाल राष्ट्र बैङ्‌कले गरेका अध्ययन प्रतिवेदनहरू‚

(ङ)  राष्ट्रिय सहकारी महासङ्‌घ‚ विषयगत केन्द्रीय सङ्‌घहरूबाट प्राप्त सुझाव‚

(च)  सन्दर्भ ब्याजदर निर्धारण समितिले उपयुक्त देखेका अन्य आधारहरू ।

(२) उपनियम (१) बमोजिम सन्दर्भ ब्याजदर निर्धारण गर्दा सामान्यतया देहायका सिद्धान्तहरू अवलम्बन गर्नु पर्नेछ :-

(क) बचतमा भारित औसत ब्याजदरभन्दा सामान्यतया बढी‚

(ख) ऋणमा भारित औसत ब्याजदरभन्दा सामान्यतया घटी‚

(ग) बचत र ऋणको ब्याजदरको अन्तर छ प्रतिशतभन्दा घटी ।

(३) यस नियम बमोजिम सन्दर्भ ब्याजदर निर्धारण गर्दा बचत तथा ऋणको किसिम एवं प्रयोजन हेरी शहरी तथा ग्रामीण क्षेत्रका लागि छुट्टाछुट्टै दर कायम गर्न सकिनेछ ।

(४) यस नियम बमोजिम निर्धारण भएको सन्दर्भ ब्याजदर आवश्यकता अनुसार पुनरावलोकन गर्नु पर्नेछ ।

(५) ऐनको दफा ५१ बमोजिमको समितिको निर्णय बैठकमा उपस्थित सदस्यहरूको बहुमतबाट हुनेछ ।

(६) ऐनको दफा ५१ बमोजिमको समितिले वार्षिक रूपमा सन्दर्भ ब्याजदर परिपालना अवस्थाको मूल्याङ्‍कन गरी सन्दर्भ ब्याजदरको सम्बन्धमा मन्त्रालयमा आवश्यक सुझाव सहितको प्रतिवेदन दिनु पर्नेछ।

(७) यस नियम बमोजिम सन्दर्भ ब्याजदर निर्धारण गरिएको जानकारी मन्त्रालय तथा नेपाल राष्ट्र बैङ्‌कमा पठाउनुका साथै कुनै एक राष्ट्रिय दैनिक पत्रिकामा समेत प्रकाशन  गर्नुपर्नेछ ।

(८) राष्ट्रिय सहकारी महासङ्‌घ तथा केन्द्रीय विषयगत सहकारी सङ्‌घहरूले सन्दर्भ ब्याजदर निर्धारणको जानकारी आफ्ना सदस्यहरूलाई गराउनुका साथै पालनाको अवस्थाको समेत अनुगमन गर्नु पर्नेछ ।

  • सदस्यको रकम फिर्ता : (१) सदस्यले सदस्यता त्याग गरेको अवस्थामा ऐनको दफा ६४ को उपदफा (१) बमोजिम निजले पाउनु पर्ने देहायको रकम सदस्यता त्याग गरेको आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित भएको तीस दिनभित्र सम्बन्धित संस्थाले निजलाई फिर्ता दिनु पर्नेछ :-

(क)  निजको शेयरको अङ्‍कित मूल्य बराबरको रकम‚

(ख)  निजले भुक्तानी लिन बाँकी शेयर लाभांश बापतको रकम,

(ग)  निजले भुक्तानी लिन बाँकी संरक्षित पूँजी फिर्ता बापतको रकम ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संस्था घाटामा गएको अवस्थामा सञ्‍चित घाटाको रकम शेयर पूँजीबाट समानुपातिक रूपमा घटाई बाँकी रहेको हिसाबमा मात्र सदस्यलाई दिनुपर्ने रकम कायम गरी फिर्ता दिनु पर्नेछ ।

(३) ऐनको दफा ६४ को उपदफा (२) बमोजिम संस्थामा जम्मा गरेको बचत रकम सदस्यले मागेका बखत ब्याजसहित तुरुन्त फिर्ता दिनु पर्नेछ ।

तर आवधिक बचतको रकम निर्धारित अवधि भुक्तान भएपश्चात् फिर्ता गर्नु पर्नेछ।

अभिलेख

लोकप्रिय