के हो सहकारी बैंकले सुरु गरेको सदस्य संस्थाको स्तरीकरण कार्यक्रम ?

ललितपुर, २० बैशाख
सहकारी संघ/संस्थाहरुको सञ्चालन प्रक्रियालाई व्यवस्थित, गुणस्तरीय र पारदर्शी बनाउदै सहकारी अभियानको छवि उच्च बनाउने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी स्तरीकरण कार्यक्रम सुरु गरेको छ ।


सहकारी संघ संस्थाहरुको स्तर र पहिकचान एवं स्तरोन्नतीका लागि सहकारी स्तरीकरण कार्यक्रम सञ्चालन गरेको हो । आधारभूत, शाखा कार्यालय, राष्ट्रिय र अन्तर्राष्ट्रिय चरणमा गरिने स्तरीकरण अन्तरगत पहिलो चरणको कार्यक्रम शुरु गरिएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो । बैंकले बचत तथा ऋण सहकारी र बचत तथा ऋण बाहेकका सहकारी संस्थाहरुका लागि छुट्टा छुट्टै सूचांकहरुबाट संस्थाको यथार्थ अवस्था पहिचान एवं स्तर मापन गरी सुधारका लागि सुझाव दिने गरी सफ्टवेयर निर्माण गरेको छ ।


सफ्टवेयरको पहुँचमा भएका संस्थाहरुले बैंकले विकास गरेको सफ्टवेयरको माध्यमबाट आवेदन फारम भरेर सिधै सफ्टवेयर भित्र गएर संस्थाको यथार्थ अवस्थाको जानकारीहरु दिएमा संस्थाको विद्यमान अवस्था पत्ता लाग्ने र सोही आधारमा बैंकले सुधारका लागि सुझाव प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।


सफ्टवेयरको पहुँच नभएका सहकारी संस्थाहरुले बैंकको केन्द्रीय कार्यालय वा पायक पर्ने शाखा कार्यालयमार्फत आधारभूत स्तरीकरण कार्यक्रमको आवद्धता फारम भर्न सक्ने व्यवस्था गरिएको बैंकको प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए । बैंकका सदस्य संस्थाहरुले आफ्नो संस्थाका गतिविधिहरु सफ्टवेयरमा राखेपति संस्थाको यथार्थ अवस्थाका बारेमा जानकारी हुने र सदस्य संस्थाहरुको आवश्यकता र मागको आधारमा बैंकले निशुल्क रुपमा ंस्थाको अवस्था र सुधारका लागि पहल गर्नेे गुरागाईको भनाइ छ ।


सदस्य सहकारी संघ संस्थाहरुको सहजताका लागि नेपाली शब्दहरु प्रयोग हुने सरल प्रकृतिको सफ्टवेयर निर्माण गरिएको बैंकका सूचना सञ्चार तथा प्रविधि प्रमुख नविनकुमार कार्कीले बताए । स्तरीकरण कार्यक्रममा सहभागी हने संस्थाहरुले standard@ncbl.coop मार्फत संस्थाको स्तर मापन गर्न सकिने कार्कीले जानकारी दिए ।


संस्थाले आफ्नो यथार्थ विवरण भरीसकेपछि एनसीबिएल बेसिक स्टाण्डर्ड ए देखि एफ सम्म स्टाण्डर्ड कायम हुने व्यवस्था गरिएको छ । ९० प्रतिशत भन्दा बढी नम्बर आएमा स्टाण्डर्ड ए, ७५ देखि ८९ सम्म प्रतिशत आएमा स्टाण्डर्ड बि, ६० देखि ७४ सम्म प्रतिशत आएमा स्टाण्डर्ड सी, ४५ देखि ५९ सम्म प्रतिशत आएमा स्टाण्डर्ड डि, ३० देखि ४४ सम्म प्रतिशत आएमा स्टाण्डर्ड इ र ३० प्रतिशत भन्दा कम आएमा स्टाण्डर्ड डी हुने र सोही आधारमा संस्थाको संस्थागत क्षमता विकासका लागि बैंकले सुझाव तथा सहयोग गर्ने जनाइएको छ ।

बैंक सञ्चालक समितिले सहकारी स्तरीकरण कार्यक्रम संचालन कार्यविधि—२०७५ का आधारमा स्तरीकरण कार्यक्रम सञ्चालनका लागि व्यवस्थापनलाई जिम्मेवारी दिएको र व्यवस्थापनले देशभरका सहकारीहरुलाई स्तरीकरण कार्यक्रममा सहभागिताका लागि आव्हान गरेको प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस