Search

सहकारीको भविष्यः दिगो संस्था र समृद्ध सदस्य

Krishna K

कृष्णकुमार श्रेष्ठ

दिगोपना भनेको सन्तुलित वातावरणमा परिवर्तनहरुलाई सुनिश्चित गर्नु हो जहाँ स्रोतसाधनहरुको दोहन, लगानी, प्रविधिको विकास र संस्थागत परिवर्तन एक अर्कासंग मिलेर मानवीय आवश्यकता र आकांक्षाहरु पुरा गरिन्छ । धेरै क्षेत्रमा आर्थिक, सामाजिक, साँस्कृतिक पर्यावरणीय, प्राविधिक र राजनीतिक अन्तर सम्बन्धहरुलाई दिगोपना अन्तरगत परिभाषित गर्ने गरिएको छ । सहकारी क्षेत्रको कुरा गर्दा समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय विकास गर्नु नै दिगो विकास गर्नु हो । दिगोको अर्थ दिर्घकाल सम्म टिक्नु हो । हामीले हाम्रो सहकारी संस्थाहरु सञ्चालन पद्दती कस्तो बनाएका छौं, सदस्यहरुको बचत र लगानी सुरक्षाको कस्ता तौरतरिका अवलम्बन गरेका छौं, सदस्यहरुको जीवनस्तर परिवर्तनका खाका हामीले कस्तो बनाउन सकेका छौं र कति ईमान्दार भएर हामीले सदस्यहरुलाई सेवा दिईरहेका छौं ? भन्ने कुराले नै हाम्रो सहकारी संस्था कहिले सम्म टिक्छ वा दिगो दिगो हुन्छ भन्ने कुरा निर्धारण हुन्छ ।

सहकारी संस्थालाईलाई चीर कालसम्म टिकाई राख्नको लागि सहकारीका सञ्चालक, कर्मचारी, सदस्य र सम्बन्धित सरोकारवालाहरुले ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरु यहाँ चर्चा गर्ने प्रयास गरेको छु ।

१. वित्तिय सुरक्षा र सक्षमता कायम गर्ने (Enable Financial Safety and Soundness )
सहकारी संस्थाहरुलाई वित्तिय रुपमा सुरक्षित र सक्षम बनाउनको लागि हरेक दिने ध्यान जानु पर्दछ । सहकारी संस्था एउटा सुरक्षित वित्तीय गन्तव्य हो भन्ने कुरामा समुदाय सुनिश्चित हुन सक्नु पर्दछ । त्यसका लागि देहायका कार्यहरु गर्नु उपयुक्त हुन्छ ।

१.१. प्रभावकारी अनुगमन प्रणालीको विकास :
संस्थाका सञ्चालकहरुले आफ्नो सहकारी संस्था भित्र प्रभावकारी नियमित अनुगमन प्रणालीको विकास गर्न सक्नुपर्दछ । दैनिक रुपमा वित्तिय तथा अन्य प्रगतिहरुको अनुगमन तथा विश्लेषण, मासिक रुपमा संस्थाको वास्तविक स्थिति(राम्रो नराम्रो दुवै)को बारेमा समिक्षा, कम्तिमा त्रैमासिक रुपमा लेखा तथा सुपरिवेक्षण समितिले आन्तरिक लेखापरिक्षण, वाह्य लेखापरिक्षकलाई साधारण सभाबाटै छनौट गरि अन्तिम लेखापरीक्षण पूर्व आर्थिक वर्षको विचविचमा तालिका वद्ध लेखापरीक्षण आदि कृयाकलाप सञ्चालन गर्नुको साथै नियमनकारी निकाय, जिल्ला तथा केन्द्रियस्तरका संघहरुलाई कम्तिमा वर्षमा १ पटक अनुगमन गर्ने वातावरण बनाउने ।

१.२. जोखिम नियन्त्रण तथा न्यूनिकरण गर्नेः

भाखा नाघेको ऋण, बजार, सञ्चालन तौरतरिका, तरलता, व्यवसाय आदिमा हुने जोखिमहरुको विश्लेषण गरी नियन्त्रण गर्न सकिने जोखिमलाई नियन्त्रण गर्ने र नियन्त्रण गर्न नसकिने जोखिमहरुलाई न्यूनिकरण गर्नको लागि आवश्यक कार्यहरु गर्नुपर्दछ ।

१.३. संस्थागत पूँजिलाई प्राथमिकता दिनेः
सहकारी संस्थाको दिगोपनाको निमित्त संस्थागत पूँजि महत्वपूर्ण तथा अत्यावश्यक पूँजि हो । तसर्थ सहकारी संस्थाको संस्थागत पूँजिलाई बृद्धि गर्ने उपायमा जहिले पनि ध्यान जानुपर्ने हुन्छ ।

१.४. बृद्धि सुनिश्चित गर्नेः

सहकारी संस्था दिगो हुनको लागि यसको नियमित बृद्धि अपरिहार्य हुन्छ । विश्व ऋण परिषदले सिफारिस गरे अनुसार सहकारी संस्थाको सम्पत्ति हरेक वर्ष कम्तिमा मुद्रास्फितीदर भन्दा १० प्रतिशत थप भई बृद्धि हुनु पर्दछ र सदस्यता वार्षिक कम्तिमा १५ प्रतिशत बृद्धि हुनु पर्दछ ।

१.५. नकमाउने सम्पत्तिको अनुपात घटाउनेः
नकमाउने सम्पत्ति जस्तै भवन, जग्गा, गाडि, कम्प्युटर, फर्निचर, कार्यालय बनावट आदि कुराहरुको व्यवस्था गर्दा संस्थाले जहिले पनि यस्ता साधनहरुबाट संस्थाको कमाई गर्ने क्षमता ह्रास नहोस भन्ने कुरामा सजग रहनु पर्दछ । तसर्थ कुल सम्पत्तिको ५ प्रतिशतभन्दा बढि रकम कहिले पनि नकमाउने सम्पतिमा खर्च गर्नु हुँदैन वा संस्थागत पूँजिको ५० प्रतिशत रकम यस्ता स्रोतसाधनको व्यवस्था गर्नको लागि खर्च गर्न सकिन्छ ।

२. शुसासन कायम गर्नेः (Ensure Good Governance )
सहकारी संस्था शुसासनयुक्त ढंगबाट सञ्चालन गर्ने दायित्व सञ्चालकहरुको हो । सहकारी संस्था सञ्चालनका लागि आवश्यक पर्ने विनियम तथा नीतिहरु साधारण सभा तथा सञ्चालक समितिले तयार पार्ने र सो बमोजिम सहकारी संस्थाको दैनिक नियमित कृयाकलापहरु संस्थाको व्यवस्थापनले सञ्चालन गर्नु पर्दछ । दैनिक नियमित काम कारवाहीलाई सहज बनाउनको लागि आवश्यक कार्यविधि तथा निर्देशिका तपार पारी लागु गर्ने दायित्व व्यवस्थापनको हो । संस्थाको विनियम, नीति, निर्देशिका तथा कार्यविधि अनुरुप निर्णय लिने परिपाटीले निर्णय प्रकृयामा स्वेच्छाचारिताको अन्त्य गर्दछ र विधिको शासन प्रणालीलाई स्थापित गराउँछ । जिम्मेवार हरेक व्यक्तिलाई जवाफदेही बनाउँदै शुसासनको प्रत्याभुत गर्न सकियो भने संस्थामा कुनै व्यक्तिको आगमन र बहिर्गनले तात्विक अन्तर ल्याउँदैन ।

३. सदस्यहरुलाई खुसी र सन्तुष्ट बनाउने (Make Members Satisfy and Happy )
सहकारी संस्थाको अन्तिम लक्ष्य भनेको यसका सदस्य समुदायका खुसी र सन्तुष्टी हो । वित्तिय तथा अन्य गैर वित्तिय कृयाकलापहरुमा सदस्यहरुलाई सहभागी गराउँदै सुखी र समृद्ध जीवन व्यतित गर्नको लागि विभिन्न समाधानहरु दिन सक्नु सदस्य सन्तुष्टीको उपाय हुन् । सदस्यहरुलाई खुसी र सन्तृष्ट बनाउन संस्थाले निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।

३.१. संस्थामा नयाँ सदस्यहरु थप गर्ने मात्र नभएर प्रवेश भईसकेका सदस्यहरुलाई लामो समय सक्रिय बनाउन सदस्य सम्बन्ध व्यवस्थापनका रणनीतिहरु तयार पारी लागु गर्ने ।

३.२ सदस्यको हरेक वित्तिय जीवनचक्रको लागि उपयुक्त वस्तु तथा सेवाको विकास गर्ने ।
३.३. सदस्यको जीवनलाई समृद्ध बनाउने वस्तु तथा सेवा र योजनाहरु बनाई लागु गर्ने ।
३.४. सदस्य सम्बन्ध विकास, विस्तार र सेवाको गुणस्तर सम्बन्धि कार्यक्रमहरु लागु गर्ने ।

krishna kumar shrestha

४. वास्तविक सहकारी संस्था हुने (Be originally Coop) 

सिमित स्रोतसाधनको समुचित परिचालन गरी आफ्ना आवश्यकताहरु परिपूर्ति गर्नको लागि समाजमा रहेका आर्थिक तथा सामाजिक हिसाबले तल्लो तहमा रहेका वर्गको हित गर्ने उद्देश्यले संसारमा सहकारीको अवधारणा सुरुवात भएको हो । सहकारीको विकास क्रम संगै यस अभियानमा मध्ययम तथा उच्च वर्गका व्यक्तिहरुको पनि सहकारी क्षेत्रमा सहभागीता रहँदै गयो । सहकारीले सिद्धान्ततः यसलाई खुल्ला रुपले स्विकार गर्दछ । आज संसारमा सबैभन्दा बढि सफल रहेको बचत तथा ऋण सहकारी संस्थाहरु झट्ट हेर्दा बैंक जस्ता देखिएता पनि वास्तवमा सहकारी संस्थाहरु बैंक मात्र हैनन्, बैंक भन्दा धेरै क्षेत्रमा काम गर्न सक्ने क्षेत्र हो । सहकारी संस्थाहरुले आफ्नो सदस्यहरुलाई वित्तिय रुपमा सक्षम बनाउनको लागि बैंकिङ सेवा दिन्छन् र यसको वास्तविक लक्षित समूह भनेको चाहि मध्यम तथा निम्न वर्ग नै हुन । तर सहकारी संस्थाको कुल सदस्य संरचनामा निम्न वर्गका मानिसहरुको सहभागीता न्यून भएमा त्यस्ता सहकारी संस्थाहरु वास्तविक सहकारी संस्था हुन सक्दैन । तसर्थ कुल सदस्य संख्याको कम्तिमा ३०% देखि ४०% सदस्यहरु न्यून वर्गका हुनु पर्दछ ।

५. दुरदृष्टिको सञ्चारः (Vision Communication)
सहकारी संस्थाको गन्तव्य भनेको त्यसका संचालक र व्यस्थापनले राखेको दुरदृष्टिमा निर्भर गर्दछ । हरेक सहकारी संस्थासंग एउटा स्पष्ट दुर दृष्टि हुनु पर्दछ । दुर दृष्टि संस्थाको संचालक, व्यवस्थापक, कर्मचारी र सदस्य समुदायसम्म अवगत गराउन सक्नु पर्दछ ताकी सबैलाई सामूहिक गन्तव्यको बोध हुन सकोस । सहकारी संस्थालाई कहाँसम्म पु¥याउने भन्ने कुरा केही सिमित व्यक्तिले मात्र जानेर वा थाहा पाएर पुग्दैन । जतिधेरै दुरदृष्टिको सञ्चार गर्न सकिन्छ त्यतिनै धेरै आफ्नो समूहलाई जिम्मेवार बनाउन सकिन्छ ।

६. रणनैतिक सोचाईः (Strategic Thinking)

सहकारीको व्यवस्थापन संस्थाको समग्र सफलताको लागि भूमिका खेल्ने महत्वपूर्ण पक्ष हो । जसले आफुलाई दैनिक नियमित काम कारवाहीहरु समान्य रुपले संचालन मात्र नगरीकन रणनैतिक सोचाईका साथ काम गर्न आवश्यक हुन्छ । सहकारी संचालक र व्यवस्थापले सहकारी संस्थाको अग्रस्थान तथा विकासको लागि आफ्नो सोचाईको दायरालाई फराकिलो बनाउन सक्नुपर्दछ । रणनैतिक सोचाई अन्तर्गत SMART (Stretching, Measurable, Attainable, Realistic, Time bound ) लक्ष्य तय गर्दै अगाडि बढ्ने कुराहरु पर्दछन् ।

७. प्रोडक्टको विकास (Product Development )
सहकारी संस्थाको वचत, ऋण तथा अन्य सेवाहरु सदस्यहरुको समृद्धि निर्माण गर्ने उद्धेश्यले विकास गर्नुपर्दछ । सदस्यहरुको आवश्यकताको आधार वस्तु तथा सेवाहरुको विकास गर्न सकियो भने मात्र सहकारी संस्था दिगो हुन सक्छ । एशियाली ऋण महासंघका अनुसार कुनै पनि बचत तथा ऋण सहकारी संस्था दिगो हुनको लागि कम्तिमा ५÷५ वटा बचत, ऋण , अन्य सेवाहरुको विकास गर्न सक्नु पर्दछ ।

८. बजार (Market)
सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रभित्र बजार हिस्सा बृद्धि गर्ने तर्फ विशेष ध्यान दिनु पर्दछ । किन भने बजार हिस्सा सानो भयो भने सहकारी संस्थाको व्यसायको आकार पनि सानै हुन्छ । सानो व्यवसायको आकारले सदस्यहरुलाई सम्पूर्ण सेवा प्रदान गर्न सकिँदैन र कर्मचारीहरुलाई सन्तुष्ट बनाउन सकिँदैन । त्यसकारण कार्यक्षेत्रको सदस्य बन्न योग्य कुल जनसंख्या मध्ये कम्तिमा ३० % व्यक्तिहरुलाई सहकारी संस्थामा आवद्ध गराउन सक्नुपर्दछ ।

९. मावन पूँजिको व्यवस्थापन गर्ने  (Manage Human Capital)
सहकारी संस्थामा मावन संसाधन २ थरीको हुन्छ । सदस्य, सञ्चालक र उप समिति स्वयम्सेवकीय भुमिकामा र दैनिक नियमित सेवा सञ्चालन गर्ने व्यवस्थापन व्यवसायीक भूमिकामा रहेका हुन्छन् । स्वयम्सेवकीय भूमिका रहेका मावव संसाधनलाई नीति निर्माण तहमा र व्यवसायीक भूमिका रहेका मानव संसाधनलाई कार्यान्वयन तहमा सक्रिय बनाउन सक्नु नै सहकारी संस्थामा मानव पूँजिको व्यवस्थापन गर्न सक्नु हो । यदाकता यी २ मानव पूँजिको विचमा आ आफ्ना भूमिका र जिम्मेवारी बोधको अभावका कारण द्वन्द्व हुन सक्दछ । तसर्थ सहकारी संस्थाले मानव संसाधन नीतिमा यी दुवै संसाधनको भूमिका स्पष्ट संग किटान गर्न सक्नु पर्दछ । सहकारी संस्थामा सामुहिक ऐक्यवद्धताको भावनाले काम गर्न सक्ने नेतृत्व र सदस्य पङ्ती तथा Career not a job को भावनाले काम गर्ने व्यवस्थापन पङ्ती सक्रिय रहन सक्यो भने त्यो संस्था दिगो हुन्छ ।

१०.कानुनी दायित्वको परिपालना (Compliant Legal Obligations)

व्यवस्थापक, सञ्चालक वा सदस्यहरु मध्ये कुनै पनि व्यक्तिको गलत निर्णयको, स्वार्थ तथा लोभको कारणबाट संस्था कानुनी जोखिममा पर्नु हुँदैन । सहकारी संस्थाले पालना गर्नको लागि राज्यले बनाएका ऐन, नियमावली, मापदण्डुसंग फरक हुने गरी संस्था सञ्चालन गर्नाले संस्थाको भविष्य जोखिममा पर्न सक्दछ ।

११.केन्द्रिय संघको मार्गनिर्देशनको परिपालना (Follow the way forward of Federation)

केन्द्रिय संघले सहकारी अभियानको बारेमा बहस, लबिङ्ग गरेर मात्र हैन, प्रविधिक सहयोग, साकोसको समाधानहरु तयार, अनुगमन तथा स्तरीकरणका मापदण्ड तयार तथा विभिन्न कार्यशाला गोष्ठिहरुको आयोजना गरेर सहकारी अभियानलाई प्रवद्र्धन गर्ने काम गर्दछ । त्यसैले केन्द्रिय संघले ल्याएका नयाँ प्रविधि तथा कार्यक्रमहरुमा संस्थाको सहभागिता गराउने, यसले जारी गरेका निर्देशनहरुको पालना गर्ने, यसले सञ्चालन गरेका अभियानहरुमा ऐक्यवद्धता जनाउने कार्य गर्नुपर्दछ ।

१२. वासलाताको अंकभन्दा पर पनि सहकारीको प्रभाव अध्ययन गर्नेः (Find the cooperative beyond the balance sheet) 

वासलातको बढ्दो अङ्क, बढ्दो नाफा मात्र सहकारी संस्थाको प्रगतिको सूचाङ्क हुन सक्दैन । सहकारी संस्थाका सदस्यहरुको जीवनमा के परिवर्तन आयो, सहकारी संस्थाको कार्यक्षेत्रमा कति उद्यमशीलताहरु प्रवद्र्धन भए भन्ने कुरा अझ बढि महत्वपूर्ण कुराहरु हुन । वचत गर्ने वानीको विकास गर्न र पैसा परिचालन गर्ने सिप विकासको लागि अभियानले लामो समय खर्च गरिसकेको छ । सहकारी अभियानले गरेको लगानीबाट कति उद्योग र उद्यमशीलताहरु प्रवद्र्धन भए भनेर हेरियो भन्ने नगण्य मात्रै पाईन्छ तसर्थ अब सहकारी संस्थाहरुको ध्यान वासलाताका अंकभन्दा पर पनि सहकारीको प्रभाव अध्ययन गर्ने विषयमा जानु आवश्यक देखिन्छ जुन सहकारीको दिगोपनाको लागि अपरिहार्य तत्व हो ।

१३. दिगो विकास लक्ष्य प्राप्तीमा सहयोग पुर्याउने  (Support to achieve SDGs )
संयुक्त राष्ट्रसंघका १९३ देशहरुले एकै ठाउँमा भेला भएर हस्ताक्षर गरी सन् २०३० सम्मको लागि साझा लक्ष्य तय गरिएको छ जसलाई हामी दिगो विकास लक्ष्य भन्छौं । अन्तराष्ट्रिय सहकारी महासंघले विश्वभरका सहकारीहरुले उक्त लक्ष्य हासिल गर्नको लागि भूमिका खेल्नुपर्ने कुरा उल्लेख गरेको छ । राष्ट्रिय सहकारी महासंघले यस वर्षको नारा नै “दिगो विकास लक्ष्य प्राप्तीमा सहकारी” तय गरी देशभरका सहकारी संघ/संस्थाहरुलाई यसमा योगदान गर्न आह्वान गरेको छ । विश्वमा भईरहेको आर्थिक संकट, द्वन्द, प्रकोप, असमानता, जलवायु परिवर्तन, शासकीय समस्या, अव्यवस्थित शहरीकरण, धान्नै नसकिने उपभोग र उत्पादन शैली एवम् रोजगारविहिन आर्थिक वृद्धिले विकासका समस्याहरूलाई अझ फराकिलो र गहिरो ढंगले सम्वोधन गर्नको लागि यी लक्ष्यहरु तय गरिएका हुन । यसमा १७ वटा लक्ष्य र १६९ वटा गन्तव्य राखिएका छन् । नेपालको सहकारी संस्थाहरुले हाम्रो परिवेश र भुगोल सुहाँदो नीति तथा कार्यक्रमहरु तय गरी दिगो विकास लक्ष्य प्राप्तीमा सहयोग पु¥याउनु पर्दछ ।

यसर्थ सदस्यहरुको समृद्ध भविष्यको खाका कोर्न सहकारी संस्थाहरु दिगो हुन जरुरी छ । दिगो विकासको लागि सहकारी संस्थाका सदस्य, सञ्चालक, व्यवस्थापन र सम्बन्धित सरोकारवाको भूमिका महत्वपूर्ण हुन्छ ।

(लेखक श्रेष्ठ विगत १९ वर्षदेखि सहकारी व्यवस्थापनको क्षेत्रमा कार्यरत छन् । अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्डीङ कार्यक्रममा काभ्रे पनौतीको सामुदायिक साकोस र दोलखाको जनसचेतन साकोसलाई सफलता हासिल गराउँदै २०७५ बैशाखदेखि चन्द्रागिरि साकोस थानकोट काठमाडौंमा कार्यरत छन् )

(याे लेखककाे निजी विचार हाे  । सं )



प्रतिक्रिया दिनुहोस