सहकारीको साधारणसभामा नयाँ प्रयोग, सदस्यले पाए ‘स्वाथ्य टिप्स’

agm

काभ्रे । सहकारी संस्थाहरुका साधारणसभाका कार्यक्रम अतिथिको लामो सूची र लामा–लामा भाषणका कारण पट्यार लाग्दो हुन्छ । यातायात खर्च उपलब्ध नगराए त झन् सदस्य उपस्थित हुँदैनन् । केही अपवाद बाहेक सहकारी संस्थाका साधारणसभा कर्मकाण्डी मात्रैै हुने गरेको छ ।

तर, बनेपास्थित पब्लिक सुत्रधार बहुृउद्देश्यीय सहकारी संस्थाले आफ्नो तेस्रो साधारणसभामा नयाँ प्रयोग गरेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीलाई बोलाएर सहकारीले आफ्नो सदस्यलाई स्वास्थ्य टिप्स दियो । करिब ४५ मिनेट डा. रेग्मीले रक्तचाप र स्वास्थ्यकालागि चाहिने खानपानबारे कक्षा लिए । यसबाट धेरै सदस्य लाभान्वित पनि भए ।

सहकारी संस्थाका सचिव विधान जोशीले साधारणसभामा नौलो प्रयोग गरिएको बताए । ‘सहकारीका साधारणसभा पट्यारलाग्दा हुन थाले, हामीले नयाँ प्रयोग गरेका हौँ,’ जोशीले भने, ‘अरु प्रारम्भिक सहकारी संस्थाले पनि साधारणसभालाई अवसरको रुपमा प्रयोग गर्न सक्छन् ।’ जोशीका अनुसार, मान्छे जुटाउने झञ्झट पनि नहुने र एउटै खर्चमा दुईवटा कार्यक्रम सञ्चालन हुने भएकाले आर्थिक हिसाबले पनि फाइदाजनक छ । संस्थाले डा. रेग्मी र पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठलाई सम्मान गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक सदस्य दिपक पौडेल, जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष सोमप्रसाद हुमागाई, साहित्यकार मोहन दुवाल, नेपाल पत्रकार महासंघक काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, जिल्ला सहकारी संघकी सञ्चालक हिमाली श्रेष्ठ, सहकारी संस्थाका अध्यक्ष महेशकुमार कर्माचार्य लगायले सहकारी क्षेत्रबारे चर्चा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस