सहकारी राजनीति गर्ने थलो होइन

Rabhi sir

रविरमण तिवारी
अध्यक्ष, जिल्ला सहकारी संघ, कास्की
प्रवन्ध सञ्चालक, माछापुच्छ्रे सहकारी संस्था, कास्की

कास्की जिल्लाका सहकारीहरूको अवस्था कस्तो छ ?
जिल्लाका समग्र सहकारीको अवस्था अन्य जिल्लाको तुलनामा राम्रो छ । यहाँका सहकारीले प्रभावकारी ढंगबाट काम गर्दै आएको छ । सहकारी सिद्धान्त, मुल्य र मान्यता अनुसार संस्था सञ्चालन भईरहेका छन् ।

कती सहकारी दर्ता छन् र जिल्ला संघमा कति आवद्ध भएका छन् ?
जिल्लामा तथ्यांक अनुसार करिब ६ सय १५ सहकारी पुगेका छन् । जिल्ला संघमा आवद्ध सहकारीको संख्या भने तीन सयको हाराहारीमा मात्र छ । सदस्यता बढाउने अभियाना हामी छौं ।

जिल्ला संघले के–कस्ता काम गर्दै आएको छ ?
हाल जिल्ला संघले विशेष गरी २ वटा काम गर्दै आएको छ । गाउँ गाउँमा उत्पादित दुधलाई प्रशोधन गरी बजारीकरणको काम गर्दै आएको छ । अर्को काम भनेको सहकारीको प्रवद्र्धनको काम गर्दै आएको छ । शिक्षा, तालिम र सूचनामा विशेष जोड दिएका छौं ।

शिक्षा, तालिम र सूचना प्रति सहकारीका सञ्चालक कत्तिको सचेत छन् ?
सचेत नै छन् । सहकारीले कसरी सेवा दिने लगायत अन्य कुरामा सचेत नै देखिन्छन् । जिल्ला संघले यी कुराहरुमा सु–सुचित गराउने काम गर्दै आएको छ ।

सहकारी नै नबुझेर संस्था सञ्चालन गर्नाले विविध समस्या आइपरेका छन् । कास्कीको हकमा यस्ता समस्या देखिएका छन् ?
सामान्य ज्ञान लिएर सहकारीमा प्रवेश गरेका उदाहरण धेरै छन् । सहकारीमा लागेपछि राम्रो हुँदो रहेछ भनेर पनि लागिरहेका छन् । रोजगारी, रकमको कारोबार, कृषिकोे काम गर्नका लागि सहकारीमा लागेका छन् । नियतबस समस्या भने देखिएको छैन तर नजानेर काम गर्दै जाँदा भने केही समस्या देखिएका छन् । त्यस्ता सहकारीलाई सही मार्ग निर्देशन गर्ने काम जिल्ला संघले गर्दैै आएको छ ।

जिल्ला संघमा आवद्धता भएर सहकारी संस्थालाई के फाईदा हुन्छ ?
संघमा आवद्ध भएर के पाईन्छ भन्नु र सहकारी अभियानमा लागेर के पाइन्छ भन्नु उस्तै हो । सहकारी संस्थाहरुले विस्तारै संघको महत्व बुझ्नु भएको छ । सुख र दुःखमा साथ दिने जिल्ला संघ रहेछ भनेर बुझ्न थाल्नु भएको छ ।

जिल्ला संघ राजनीति गर्ने थालो होईन । सदस्य संस्थाहरुको हितमा काम गर्नकै लागि स्थापना भएको हो ।

कास्कीमा सहकारीहरु कत्तिको व्यवसायीक छन् ?
कास्कीमा २०५६/०५७ बाट नै सहकारी स्थापना बढेको हो । सहकारीहरु विस्तारै व्यवसायीक हुन थालेका छन् । बचत ऋणको मात्र नभई बहुउद्देश्यीय, तरकारी खेति, पशुपालन, दुग्ध उत्पादन लगायतका काम सहकारीले गर्दै आएका छन् । यहाँका सहकारीले व्यवसाय गर्न खोजेका छन् तर के गर्दा उपयुक्त बाटो अवलम्बन गर्न सकिएको छैन । सिंगो सहकारी अभियान र सरकारले स्पष्ट बाटो निर्धारण गर्नुपर्दछ ।

सहकारीमा आवद्ध सदस्यलाई सहकारीको बारेमा कत्तिको ज्ञान छ ?
सहकारी सचेतना बढेको छ । २०५६/०५७ साल तिर सहकारीका बारेमा बुझाउन निकै कठिन थियो तर अहिले सहकारीमा आवद्ध नभएका मानिस भेटिनै मुस्किल छ । आवद्धताको हिसाबले धेरै उपलब्धी भएको छ । सहकारी मार्फत सामाजिक, आर्थिक विकास गर्न सकिने, सहजै ऋण लिन सकिने, सजिलै बचत गर्न सकिने कुराहरु बुझेका छन् । तर जीवन यापनको माध्यम बनाउने कुरामा भने लामो समय लाग्छ ।

सहकारीका गुनासो कत्तिको आउने गरेको छ ?
केही केही गुनासो पक्कै आएका छन् । दोहोरो सदस्यताका कुराहरुपनि आईरहेका छन् । बोनश थोरै पाईयो भन्ने खालका गुनासो पनि आउने गरेका छन् ।

माछापुच्छ्रे सहकारी संस्थाको बारेमा केही बताईदिनुस् न ?
२०५५ सालमा स्थापना भएको हो । सहकारीको माध्यमबाट केही गर्न सकिन्छ कि भनेर सहकारीको शुरुवात गरेका हौं । संस्थाको कार्यक्षेत्र कास्की जिल्लाभर रहेको छ । करिब ११ सय सदस्य हुनुहुन्छ । २ करोड पुँजी रहेको छ भने कुल कारोबार २५ करोड रहेको छ । विशेषगरी साना साना व्यवसायमा लगानी गर्दै आएका छौं । कृषि व्यवसायमा पनि लगानी गरेका छौं ।

अन्त्यमा ?
सहकारी माध्यम एक आर्थिक विकासको उपयुक्त माध्यम हो । सहकारीलाई परिचालन गर्न सक्यौं भने ठूला ठूला परिवर्तन गर्न सकिन्छ । सहकारीमा कारोबार गर्नुपर्छ भन्ने सन्देश फैलाउन आवश्यक छ । सहकारीमा केही विकृती होलान् तर सम्पूर्ण सहकारीलाई समेट्नु हुन्न । देखिएका समस्या तत्काल समाधान गर्नेतर्फ अभियान र राज्य लाग्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस