‘सहकारीमा राजनीतिको रोग केन्द्रबाट जिल्लासम्म सरेको छ’

sudip dhakal

सुदिप ढकाल
अध्यक्ष : कास्की बचत तथा ऋण सहकारी संघ
प्रबन्ध सञ्चालक : विशाल को–अपरेटिभ लिमिटेड, पोखरा

म भन्छु, राजनीति गर्नेले गर । यदी सहकारी अभियानमा आउने हो भने विशुद्ध भएर आऊ । सहकारीमा राजनीतिको रोग केन्द्रबाट जिल्लासम्म सरेको छ । जिल्लाबाट प्रारम्भिक सहकारीमा आयो भने के होला ?

विगत १८ वर्षदेखि सहकारी अभियानमा क्रियाशिल हुनुहुन्छ सुदिप ढकाल । १८ वर्षअघि बिशाल को–अपरेटिभ लिमिटेड स्थापना गरि निरन्तर सहकारी अभियानमा सक्रिय छन् ढकाल । बिशाल को–अपरेटिभ पोखरा लेखनाथ महानगरपालिका– ४ बुद्धविशाल बजारमा रहेको छ । बिशाल को–अपरेटिभ पोखराको उत्कृष्ठ सहकारीको रुपमा परिचित छ ।

निजी व्यवसाय छाडेर सहकारी अभियानमा प्रवेश गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘म सधै सकारात्मक सोच राख्ने व्यक्ति हुँ । म र मेरो भन्ने व्यक्तिका लागि सहकारी साँघुरो होला तर हामी र हाम्रो सोच राख्नेका लागि यो भन्दा राम्रो फोरम कुनै छैन ।’

ढकालको कुशल व्यवस्थापनले उहाँको नेतृत्व क्षमता झन् चुलिएको छ । उहाँ कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष समेत हुनुहुन्छ । प्रस्तुत छ, कास्की जिल्लाका समग्रसहकारीको अवस्था, बचत संघले सदस्य संस्थाका लागि गर्दै आएको काम लगायत सहकारीका विविध पक्षमा केन्द्रित रहेर सहकारीखबरकर्मीले गरेको कुराकानी ।

कास्की जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुको अवस्था कस्तो छ ?
कास्कीमा बचत तथा ऋण सहकारी संस्थाहरुको अवस्था उत्कृष्ठ छ । २०५६/०५७ सालमा केही समस्या आएका थिए तर अहिले त्यस्ता समस्या छैन । सहकारी संस्थालाई डिभिजन कार्यालय, जिल्ला सहकारी संघ र बचत संगको विभिन्न अवस्थामा सहयोग गरिरहेको छ । समग्रमा जिल्लाको सहकारी अभियान व्यवस्थित र अनुशासित रहेको छ ।

जिल्ला बचत संघले सदस्य संस्थाहरुको लागि के कस्ता काम गर्दै आएको छ ?
सहकारीमा अभियान्ता र सहकारीका सञ्चालकबाटै केही गल्ती भएका छन् । गल्ती जानेरभन्दा पनि नजानेर भएका हुन् । सहकारीको नियमनकारी निकाय डिभिजन कार्यालयको जनशक्तिले ५० वटा सहकारीलाई पनि तालिम दिन पुग्दैन । ६ सय भन्दाबढी सहकारी कास्की जिल्लामा रहेका छन् । यस्तो अवस्थामा बचत संघको मूख्य काम भनेको शिक्षा, तालिम र सचेतना कार्यक्रम हो ।
सम्भावना र चुनौती बोकेको सहकारी भनेको बचत तथा ऋण सहकारी नै हो । अन्य विषयगत सहकारी धेरै भएपनि मुलुकको सहकारी अभियानलाई डो¥याउने काम बचत तथा ऋण सहकारीले गरिरहेको छ । बचत संघले विभिन्न तालिम दिँदै आएको छ । सहकारी नै नबुझेका सञ्चालक आउँदा गल्ती हुन सक्ने सम्भावना रहन्छ । मुख्यतः जिल्ला संघ शिक्षा, तालिममा केन्द्रित छ ।

शिक्षा, तालिमको अभावले धेरै सहकारी समस्या देखिएका छन् । यी कुरामा सहमत हुनुहुन्छ ?
अवश्य पनि । केही हदसम्म नियत नै गलत हुन सक्छ । मुख्यतः शिक्षा, तालिमको अभावका कारण समस्या देखिएको हो । बहुदलीय व्यवस्थापछि नै सहकारी अभियानले गति लिएको हो । ऐन कडा नहुँदा पनि समस्या देखिएको हो । सदस्यले १५ प्रतिशतभन्दा बढी लाभांश खान नपाउने व्यवस्था गरेको र २० प्रतिशत कर लगाउनु कत्तिको उपयुक्त हो ? यसले गर्दा नाफा लुकाउने प्रवृति सहकारीमा बढेको छ । धेरै सहकारीले नाफा लुकाउँछन् । यो कुरा डिभिजन सहकारी कार्यालयलाई पनि थाहा छ । नाफा लुकाउँदा सहकारीको दिगो विकास भने भएन । कोषहरुको विकास समेत हुन सकेन । संसदबाट भर्खरै पारित गरेको सहकारी विधेयकमा कर कम भएर आएको छ । अब सहकाले राम्रो फड्को मार्ने अपेक्षा हामीले गरेका छौं ।

कस्कीमा बचत तथा ऋण सहकारीको संख्या कति छन् ?
जिल्ला भर करिब तीन सय ५० बचत तथा ऋण सहकारी छन् । बहुउद्देश्यीय सहकारी भनेपनि उहाँहरुको काम बचत तथा ऋण नै हो । यी बचत तथा ऋण सहकारी मध्ये २६० बचत संघमा आवद्ध भएको छ । बाँकी संस्थाहरुलाई सदस्यका लागि अनुरोध गरिरहेका छौं । भौगोलिक कठिनाईले पनि सदस्य बनाउन कठिन भएको छ ।

बचत संघमा सदस्य किन बन्ने ?, सदस्य बनेर के फाइदा हुन्छ ? भन्ने प्रश्न पनि उठ्ने गरेका छन् नि ?
जुन दिन समस्या पर्छ, त्यो समयमा सहयोग गर्ने हामी नै हौं । सहकारीको वर्तमान अवस्था, ऐन नियमको कुरा, भावी दिनमा आईपर्ने समस्या लगायतमा हामी जानकारी गराउँछौं । संघबाट विभिन्न तालिम सर्वसुलभ रुपमा प्रदान गर्दै आएका छौं । अहिले फाइदा नदेखिएपछि समस्या पर्दाको समयमा अभिभावक हुनेछौं ।

सहकारीमा आवद्ध भएका सदस्यहरुले सहकारीका बारेमा कत्तिको बुझेका छन् त ?
कास्की जिल्लाको हकमा सदस्यले सहकारी बुझेका छन् । सहकारी भनेको कम्पनी होईन, यो बैंक तथा वित्तीय संस्था होईन भनेर बुझाउन सकेका छौं । सहकरीबाट गर्ने सकिने उद्यमका बारेमा बुझाएका छौं । सहकारीका सिद्धान्त, मुल्य मान्यमा बुझाउने समय लाग्यो तर हामी सफल भएका छौं ।

उदाहरणको लागि विशाल साकोसले सदस्यहरु ७० वर्ष पूरा भएपछि सम्मान गर्दछौं । ७५ वर्ष पूरा भएपछि वार्षिक ४ हजार पेन्सन पाउनुहुन्छ । कडा रोग लागेमा सदस्य राहत कोष खडा गरेका छौं । मृत्यु भएको ३० हजार प्रदान गर्दछौं । कर्मचारी कल्याणकारी कोष रहेको छ । यस्ता सदस्य केन्द्रित सेवा बिशाल सहकारीले शुरु गरेपछि कास्कीमा धेरै संस्थाहरुले यस्ता सेवा प्रदान गर्दै आएका छन् । सर्टिफिकेट राखेर उच्च शिक्षाको लागि ऋण प्रदान गर्दछौं । यी कुराहरुले सहकारीका बारेमा बुझेका छन् ।

हाल सहकारीमा देखिएका समस्या के–के हुन् ?
दुःखका साथ भन्नुपर्दा राज्यले सहकारी अझै बुझ्न सकेको छैन । निम्न वर्गका लागि सहकारी मात्र भन्ने कुरा उहाँहरुले बुझ्नु भएको छ । संसार सहकारीबाट पनि विकास भएको हो भन्ने कुरा बुझ्नु भएन । सहकारीबाट धेरै विकास गर्न सकिन्छ । यो कुरा बुझाउन हामीलाई लागि रहेका छौं । एकदिन उहाँहरुले अवश्य बुझ्नुहुनेछ ।

जो सहकारीमा छैन त्यहि व्यक्ति सहकारीको नेता बनेर हालीमुहाली गरेर हिँडेका छन् । त्यहि व्यक्ति राजनीतिक दलको झण्डा बोकेर हिँड्छ ।

यी कुराहरु सहकारी अभियानले बुझाउन नसकेको पनि हुन सक्छ नि त ?
मुख्य कुरा सहकारी अभियानमा कम राजनीति हुनुपर्नेमा चरम राजनीति भयो । राजनीतिक भागवण्डाको आधारमा सहकारी अभियानको केन्द्रिय निकायमा पुगे । जो सहकारी चलाएर बसेका छन् उनीहरु प्रारम्भिक सहकारी मै छुटे । अहिले हेर्नुहुन्छ भने उत्कृष्ठ सहकारीका सञ्चालक केन्द्रिय पदमा छैनन् । जो सहकारीमा छैन त्यहि व्यक्ति सहकारीको नेता बनेर हालीमुहाली गरेर हिँडेका छन् । त्यहि व्यक्ति राजनीतिक दलको झण्डा बोकेर हिँड्छ । राजनीतिक दलको कुनै न कुनै पदमा बसेका छन् । यसकारण उसले सहकारी बुझ्न पनि सकेको छैन र बुझाउन पनि । यी कारणले समस्या आएको हो । सहकारी पवित्र मन्दिर हो । राजनीतिक जुत्ता ढोका बाहिर फुकालेर प्रवेश गर्नुपर्ने हो तर त्यसो हुन सकेन । यो दुर्भाग्य हो । म भन्छु, राजनीति गर्नेले गर । यदी सहकारी अभियानमा आउने हो भने विशुद्ध भएर आऊ । सहकारीमा राजनीतिको रोग केन्द्रबाट जिल्ला तहसम्म आईपुगेको छ । जिल्लाबाट प्रारम्भिक सहकारीमा आयो भने के होला ? संस्था भित्र एउटा पार्टीको पैसा चल्ने र अर्को पार्टीको पैसा नचल्ने भयो भने सहकारीको भविष्य कता जाला ?

तपाईंले जिल्ला बचत संघमा प्रतिनिधित्व गर्ने बिशाल को–अपरेटिभको बारेमा केही बताईदिनुस् न ?
पोखराको बिशाल बजारमा बिशाल सहकारी रहेको छ । बिशाल बजारमा करिब तीय सय पसल रहेका छन् । यो बजारमा ८० जना जति घरबेटी हुनुहुन्छ । २७ जनाबाट संस्था स्थापना गरेका हौं । बिशाल बजारमा व्यवसाय गर्ने २७ जनाबाट सुरु गरेका छौं । व्यवसाय गर्दा बैंकमा ऋण माग्न जाँदा बैंकका कर्मचारीले सिधै पैसा मागे । हामी आफ्नो खाँचो टार्न गएको मान्छेलाई सेवा शुल्क, व्याज सहित साँवा तिर्छुभन्दा पनि छुट्टै पैसा तिर्ने कुरा भएन भनेर त्यसपछि सहकारीको सुरुवात गरेका हौं ।

संस्थामा बिशाल बजारमा रहेको व्यवसायी सहकारीको सदस्य हुनुहुन्छ । हाल संस्थाको करिब १३ सय सदस्य गुगेको छ । ४० करोडको निक्षेप र सोही अनुरुपमा लगानी संस्थाको रहेको छ । १२÷१५ लाखको जिल्ला संघ, राष्ट्रिय सहकारी बैंक लगायतमा सेयर रहेको छ । करिब २ करोड रुपैयाँ जगेडा कोषमा जम्मा भएको छ । विभिन्न कोषहरु समेत खडा गरेका छौं । दुर दराजमा गएर निःशुल्क स्वास्थ्य शिविर लगायत गर्दै आएका छौं । करिब ५५ करोडको ब्यालेन्स सिट संस्थाको रहको छ । संस्था १० जना स्थाय कर्मचारी रहेका छौं ।

संस्थाले सदस्यको व्यवसाय प्रर्वद्धन कसरी गरिरहेको छ ?
हाम्रा सदस्यलाई कसरी व्यवसाय गर्ने भन्ने बारेमा पनि तालिम दिने गरेका छौं । सदस्यहरु विना संस्था रहँदैन । संस्थाले सदस्यको व्यवसाय प्रवद्र्धन गरिरहेको छ । ७० लाखसम्म ऋण लगानी गर्ने गरेका छौं । हामीले अहिलेसम्म सदस्यको जाहेजेथा लिलाम गरेर ऋण असुल गरेका छैनौं र पत्रिकामा समेत नाम निकालेका छैनौं । संस्थाको खराब कर्जा ० प्रतिशत रहेको छ ।

हालै संसदबाट पारित भएको सहकारी विधेयकमा सहकारीका सञ्चालक कर्मचारीको रुपमा बस्न नपाउने व्यवस्था रहेको छ । यो कत्तिको व्यवहारिक छ ?
म संस्था स्थापनादेखि नै सचिव र प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हाल्दै आएको छु । अब दुबै भूमिकामा बस्न नपाउने कुरा आएको छ । अब एकातिर पक्कै पनि छाड्नुपर्ने हुन्छ । अर्को रमाईलो कुरा कास्कीमा उत्कृष्ठ २० सहकारीमा सचिव र प्रबन्ध सञ्चालक हुनुहुन्छ । के कारणले हटाउन खोजेका हुन् यसमा हामी दुविधामा छौं ।

अन्त्यमा के भन्नुहुन्छ ?
नेपालमा सहकारीको भविष्य उज्जल देखेको छु । सहकारीमा मूल्य, मान्यता र सिद्धान्त यत्तिकै पक्कै बनेका होइनन् । यसलाई हामीले अबलम्बन गर्नुपर्दछ । नेपालमा सहकारीको संख्या अत्याधिक छ । सहकारी एकीकरण गरिनुपर्दछ । सहकारीमा जुँगाको लडाईं छ । सहकारीको सिद्धान्त अनुसार सहकारी सञ्चालन गर्ने हो भने भविष्यमा कुनै पनि संकट आउँदैन ।



प्रतिक्रिया दिनुहोस