१६ चैत्र २०८०, शुक्रबार

सहकारीका सञ्चालकलाई शिक्षा

२ आश्विन २०७४, सोमबार
सहकारीका सञ्चालकलाई शिक्षा

mm

बागलुङ । श्रमिक महिलाहरुलाई संगठित गरी उनीहरुको आर्थिक, सामाजिक रुपान्तरणका लागि सक्रिय बागलुङको एक महिला सहकारी संस्थाले संस्थाका नवनिर्वाचित सञ्चालक समिति, लेखा समिति र कर्मचारीहरुलाई एक दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।

महिला हित वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको हालै सम्पन्न संस्थाको १६ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत चयन भएका सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई उनीहरुको काम कर्तव्य र अधिकार लगायत सहकारी सञ्चालन विधि, प्रक्रियाका बारेमा जानकारी गराइएको हो ।

तालिममा सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीको काम कर्तव्य र अधिकारी, दीगो रुपमा संस्था सञ्चालनका लागि आवश्यक प्रक्रियाहरु, सहकारीमार्फत गर्न सकिने व्यवसायिक काम लगायतका विषयमा सहजीकरढा गरिएको थियो ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी संस्थालाई दीगो रुपमा सञ्चालन गरी सदस्यहरुको सन्तुष्टीका लागि सञ्चालक समिति क्षमतावान हुनु पर्नेमा जोड दिनुभयो ।

सञ्चालक समिति र लेखा समितिका छुट्टा छुट्टै काम भए पनि व्यवहारिक रुपमा सहकारीमा लेखा समितिको भूमिका प्रभावकारी नभएको भन्दै उहाँले सहकारीमा सुशासन कायम गर्न, नीतिगत सञ्चालन गर्नका लागि लेखा समितिलाई सक्रिय बनाउनु पर्नेमा जिसीको जोड थियो ।
सहकारी संस्थाको पहिचान बढाउन, वित्तीय रुपमा सक्षम संस्थाको रुपमा अगाडि बढाउन, प्रक्रियागत रुपमा सञ्चाल गर्नका लागि क्षमतावान सञ्चालक र सक्षम तथा दक्ष कर्मचारी आवश्यक हुने भन्दै जिसीले त्यसका लागि शिक्षा तालिम र भ्रमणका कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष लिलादेवी खड्काले विभिन्न कारणले हिंसामा परेका, श्रमिक तथा आर्थिक सामाजिक रुपमा पछि परेका महिलाहरुलाई समाजमा सक्षम नागरिकको रुपमा अगाडि बढाउन संस्थाले विगत १६ वर्षदेखि निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो ।

लेखा समितिका संयोजक सुमन बाँस्कोटाले तालिमले सहकारीलाई व्यवस्थित रुपमा अगाडि बढाउनका लागि महत्वपूर्ण योगदान गर्ने बताउनु भयो ।

कार्यक्रम संस्थाका सञ्चालक तथा शिक्षा उपसमितिका संयोजक मोहनमाया श्रेष्ठ केसीको अध्यक्षता, शिक्षा उपसमितिका सदस्य गौरी केसीको स्वागत र सदस्य राधाकुमारी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

२०५८ सालमा स्थापना भएको महिला हित बचत तथा ऋण सहकारी संस्थामा हाल ५ सय ५० जना शेयर सदस्य, १ करोड ८० लाख शेयर रकम, ५ करोड वचत, ५ करोड लगानी रहेको संस्थाक सहायक प्रवन्धक सावित्री केसीले जानकारी दिनुभयो ।

विपन्न वर्गका महिलाहरुको उत्थानका लागि संस्थाले बिना धितो कर्जा उपलब्ध गराएर धेरैको आर्थिक अवस्था सुधार गर्न सहयोग गर्दै आएको केसीले बताउनुभयो ।

अभिलेख

लोकप्रिय