तामाकोसीको सेयरमा लगानी गर्न दोलखालीलाई सहकारीले ऋण दिने

tamakoshi

चरीकोट । दोलखाको सहकारीहरुले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयरको लागि लगानी गर्ने भएको छ । कुनै पनि स्थानीयबासी सेयर लिनबाट बञ्चित नहोस् भन्ने उद्देश्यका साथ सहकारीले ऋण दिन लागिएको जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष श्यामकाजी कटुवालले जानकारी दिए । सबै व्यक्तिहरु सँग सेयरमा लगानी गर्ने पैसा नहुने भन्दै उनिहरुकै सहजताको लागि प्रक्रिया पु¥याएर ऋण दिने विषयमा छलफल भएकोे अध्यक्ष कटुवाले बताए ।

दोलखाको लामाबगरमा स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखावासीलाई १० प्रतिशत सेयर पौष महिना भित्रमा खुलाउने तयारी गरिरहेको छ । दोलखाबासीहरुले मात्र १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर लिन पाउँने छन् । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँटफाड भइसकेको छ ।

जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले माथिल्लो तामाकोशी जलविद्युत आयोजना सस्तो र आकर्षक आयोजना भएकाले यसमा लगानी गरेको पैसा नडुब्ने भएकोले पनि सेयरको लागि रिण दिन लागिएको बताए ।

आयोजनाको मालिक हुन बाटै कुनै पनि स्थानीयबासीहरु नछुटुन भन्ने उद्धेश्य सहकारी सञ्चालक र सहकारी संस्थाहरुले लिएको समेत बताए । सहकारीका लागि आवश्यक ऋण व्यवस्थापन गर्न नेफ्स्कुन र राष्ट्रिय सहकारी बैंकमार्फत ४० करोड रुपैयाँसम्म व्यवस्थापन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । सेयर लगानी शीर्षकमा भने ऋण दिन नसकिने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस