बचत कहाँ गर्ने ? सहकारी वा बैंक तथा वित्तीय संस्थामा ?

savingभविष्यको उपयोगका लागि वर्तमानको आम्दानीको केही अंश छुट्याएर राखिएको पैसा अर्थात् खर्च नगरी बचाएर राखिएको पैसालाई बचत भनिन्छ । हातमा पैसा रहेमा खर्च हुन सक्ने सम्भावना रहन्छ । यसबाट बच्न बैंक तथा वित्तीय संस्थामा खाता खोलेर राख्ने गरिन्छ । यस्तो पैसालाई बचत भनिन्छ । हुन त बचत घरमा पनि गर्न सकिन्छ । तर पनि, बचत भन्नाले बैंक तथा वित्तीय संस्थामा जम्मा गरिएको रकम भन्ने बुझिन्छ । यो एक किसिमको सम्पत्ति जोड्ने वा जम्मा गर्ने तरिका हो ।

बचत किन गरिन्छ ?
बचत मूलतः व्यक्तिगत आर्थिक व्यवहारका लागि गरिन्छ । मानिसको जीविका चलाउने क्रममा विभिन्न आर्थिक व्यवहार गर्नु पर्ने हुन्छ । जस्तै पुँजी निर्माण, सम्पत्ति खरिद, लगानी, दैनिक व्यवहारका खर्च, आपतकालीन खर्च, पुरानो कर्जा भुक्तानी आदिका लागि बचत गरिन्छ । यसका साथै सामाजिक व्यवहारका लागि पनि बचत गरिन्छ । जस्तै विवाह, ब्रतवन्ध, मृत्यु संस्कार, शिक्षा दीक्षा, तीर्थाटन÷भ्रमण, स्वास्थ उपचार आदि कार्यका लागि बचत गर्ने गरिन्छ ।

बैंकमा बचत गर्दा हुने फाइदा
तपाईँ हाम्रो खल्तीमा भएको पैसा खल्तीमै रहन्छ । यदि यो पैसा बैंकमा गयो भने पेसा वा व्यवसाय गर्न आवश्यक पर्ने व्यक्तिले सो पैसा कर्जाका रूपमा लैजान्छ र उसले उत्पादनशील क्षेत्रमा लगानी गर्दछ । यसले उसको आर्थिक उन्नति पनि हुन्छ र बचतकर्तालाई व्याज पनि प्राप्त हुने हुँदा दोहोरो फाइदा हुन्छ । यसका साथै आर्थिक विकासका लागि लगानी गर्नु पर्दछ । लगानीका लागि ठूलो पूँजीको आवश्यकता पर्दछ । तपाईँ हाम्रो स–सानो बचतले पनि बैंकमा ठूलो पूँजी जुट्न जान्छ र लगानीयोग्य पूँजी निर्माण हुन्छ । यसैले तपाईँ हाम्रो बचत भनेको पूँजी निर्माणको आधार हो र सो पुँजीको लगानी मार्फत्देश विकासमा योगदान गर्नु पनि हो ।

बचत कसरी गर्ने ?
आम्दानी भन्दा खर्च कम गरेर,
अनावश्यक खालका खर्चमा कटौती गरेर,
दैनिक/साप्ताहिक/मासिक/वार्षिक रूपमा केही न केही बचाएर ।

बचत कहाँ गर्ने ?
औपचारिक बैंक वित्तीय संस्थामा बचत : केन्द्रीय बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा बचत खाता खोली बचत गरेर । अर्ध–औपचारिक वित्तीय संस्थामा बचत :  सहकारी, आमा समूह, वन समूह, उपभोक्ता समूह आदिमा सदस्य भई नियमित बचत गरेर ।
अनौपचारिक निकायमा बचत :  साहु महाजन, ढुकुटी, साथीभाइ, इष्टमित्र, घरमै बाकस वा दराजमा राख्ने, सुन चाँदी, गरगहना आदिमा लगानी गरेर । यस्तो बचत फिर्ता हुने कानूनी आधार नहुने हुँदा बढी जोखिमयुक्त मानिन्छ ।
खुत्रुके बचत :  सानो काठको, फलामको वा माटोको भाँडोमा घरमै सानो सानो रकम जम्मा गरेर ।



प्रतिक्रिया दिनुहोस