१३ बैशाख २०८१, बिहीबार

'सहकारीको भिडमा अगल पहिचान स्थापित गर्न सफल भएका छौं'

१ फाल्गुन २०७३, आईतवार
'सहकारीको भिडमा अगल पहिचान स्थापित गर्न सफल भएका छौं'

२०६७ साल असोज २२ गते औपचारिक रुपमा सञ्चालनमा आएको शिखर बचत तथा ऋण सहकारी संस्था झापा विर्तामोडले स्थापनाको छैठौ वर्ष पार गरि रहँदा झापामा अब्बल सहकारी संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । झापामा ८५० भन्दा बढि सहकारी संस्थाको भिडमा शिखर साकोस अलग पहिचान रहेको छ । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ झापाले उत्कृष्ट सहकारीमा सम्मानित गरिसकेको यो संस्थाको स्थापना कालदेखिनै संस्थाको अध्यक्ष रहेका दिपेन्द्र राउत संग गरेको कुराकानी :

 

dipendraदिपेन्द्र राउत
अध्यक्ष
शिखर बचत तथा ऋण सहकारी लिमिटेड, बिर्तामोड

शिखर सहकारीको बारेमा केही बताईदिनुहोस् न ?

शिखर साकोस २०६७ सालमा ४४ जना स्थानिय युवाको सहभागितामा ४४ हजार सेयर पुँजीबाट संचालनमा आएको हो । सुरुका दिनमा यस संस्थामा ४ जना कर्मचारी रहेको थियो । यस संस्थामा धेरै युवा साथिहरु हुनुहुन्थ्यो उहाँहरु स्थानिय स्तरमा व्यवसायमा पनि अव्वल सावित भइसक्नु भएको छ । शिखर साकोसले शुरुका दिनबाटनै सदस्यहरुलाई व्यवसायिक र उद्यमी बनाउँदै आएको छ । सहकारी सामुदायमा आधारित भएको हुदां संस्थाले पनि सामुदायिक रुपमा विभिन्न परियोजनामा सदस्यहरुलाई आवद्ध गराई व्यवसायिक बनाउने गरेको छ ।

सहकारी संचालन गर्ने सोच कसरी आयो ?

मैले युनिलिभर जस्तो बहुराष्ट्रिय कम्पनीमा मेचीदेखि महाकाली सम्म १० बर्ष काम गरे । मार्केटिमा मेचिदेखि महाकाली सम्म काम गरि रहँदा विभिन्न मानिसहरु संग भेटघाट गर्ने अवसर मिल्यो भने देशका विभिन्न भुभागमा पुग्ने अवसरले मिल्यो साथै उक्त कम्पनीले कसरी व्यवसाय गर्ने भने सिकायो । १० बर्ष जागिरले सिकाएको शिक्षालाई समुदायमा मैले लागु गर्न सक्ने हो भने समुदायकै हित हुने भएको हुदाँ त्यो क्षेत्र सहकारी मैले देखेँ र सहकारी संचालन गर्ने सोच आयो ।

सहकारी संचालन गर्दा सहकारी को बारेमा केही जानकारी थियो कि थिएन ?

वास्तवमा सहकारी संचालन गर्दा हामीलाई सहकारीको बारेमा केही पनि जानकारी थिएन तर हामीलाई के विश्वास थियो भने मानिसले चाहदाँ सबै कुरा सिक्न सकिन्छ भन्ने थियो । नेपालमा सहकारीको जति पनि उपलब्धी भएको छ त्यो गर्दै सिक्दै भएको हुँदां हामी पनि त्यही अनुरुप चलिरहेका छौँ ।

शिखर साकोसको छैठौं वर्षको उपलब्धीलाई कसरी लिनु भएको छ ?

शिखर साकोसले छैठौं वर्ष पार गरी रहँदा हिजोका ४ जना कर्मचारीबाट आज ३२ जना भई सक्नुभएको छ । ५ गाविस कार्य क्षेत्रबाट झापाको माईखोला पूर्वका नपा र गाविस कार्य क्षेत्र विस्तार गरीएको छ । विर्तामोडमा मुख्य कार्यलय रहेको संस्थाको गरामनी,र राजगढ सेवाकेन्द्र खुलि सकेको छ । ४४ जना बाट शुरुवात भएको संस्थामा हालसम्म ४४०० शेयर सदस्य भई सकेका छन्, ४४ हजार सेयर रकमबाट २ करोडको हाराहारीमा पुगेको छ । सदस्यहरुको विश्वास निरन्तर कायम रहेको छ भने दिन प्रतिदिन विश्वास बढी रहेको छ । कर्मचारीहरुको मेहनत संचालक समितीको सक्रिय सहभागिताले संस्थाले सहकारीको भिडमा अगल पहिचान स्थापित गर्न सफल भएको छ । मेची अन्चलको व्यवसायिक केन्द्र विर्तामोडमा शिखर साकोसलाई विश्वास गरी कारोबार गरिदिनुहुने तमाम सदस्यहरुको विश्वास, भरोसा र सहभागिता संस्थाको उपलव्धी मानेको छु । सदस्यहरुको सामुहिक लगानीमा संचालित शिखर कृषि परियोजना, शिखर बजार, शिखर ट्राभल्स, मुख्य साझेदारी व्यवसाय रहेको छ ।

हाल बैंक तथा वित्तीय संस्थामा तरलता कम रहेको भन्ने बुझिएको छ, यसले सहकारी संस्थाहरुलाई कस्तो असर परेको छ ?

बैक तथा वित्तीय संस्थाले लगानी अनुत्पादक क्षेत्रमा बढि लगानी भएकोले गर्दा त्यस्ता समस्या आएको छ । तर सहकारी संस्थाहरुले त्यस्ता क्षेत्रमा खासै लगानी गरेको पाईदैन तथापी शिखर साकोसले झनै त्यस्तो क्षेत्रमा लगानी गरेको छैन र हाम्रो संस्थालाई तरलताको कुनै अभाव छैन । हामीले नियमित रुपमा लगानी गरी रहेका छौं ।

सहकारी संस्थाहरुले तरलताको अभावमा बचतमा व्याज बढाएर निक्षेपका विभिन्न योजना ल्याएका छन् तपाईको संस्थाले के योजना लिएको छ ?

हाल बैंक तथा वित्तीय संस्थाहरुले दैनिक जसो ब्याज बढाएका छन् । सहकारी संस्थामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु लाइन लागेरै निक्षेप लिन विभिन्न योजना ल्याएका छन तथापी सहकारी संस्थाहरुमा त्यति धेरै निक्षेप वृद्धिका योजना आएका छैनन् । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहाकका लागि विभिन्न योजना ल्याउनु स्वभाविक हो तथा सहकारी संस्थामा ग्राहक नभएर सम्पूर्ण सदस्य मालिक रहने हुँदा संस्थाको निक्षेप वृद्धि गर्न क्षणिक कुनै योजना आवश्यक नपर्ने हुन्छ । जुन संस्थाले आफ्ना सदस्यलाई मालिक नसम्झेर ग्राहक सम्झीन्छन त्यस्ता संस्थाले क्षणीक निक्षेप योजना ल्याएका छन् तर हाम्रो संस्थाले हालसम्म त्यस्ता क्षणिक योजना ल्याउनु नपर्ने रहेको छ ।

संस्था सफलताको श्रेय कसलाई दिनुहुन्छ ?

शिखर साकोस जति तपाईहरुले सफलता पाएको देख्नु हुन्छ तर हाम्रो सफलताको लक्ष्य भनेको अहिले सम्म पुरा प्रयाप्त भएको छैन तथापी आज सबै सदस्यको विश्वास र भरोसा, कर्मचारीको अथक मेहनत र संचालक समिती, लेखा समितिका साथिहरुको सक्रिय सहभागिता, शुभेच्छुक शुभचिन्तकहरुको हौसलामा नै संस्था सफलताको श्रेय रहेको छ ।

झापाको सहकारीको बारेमा बताई दिनुहोस् न ?

झापाको सहकारी नेपालको सहकारी इतिहासमा नै अग्रणी स्थानमा आउँछ । झापाका सहकारीहरुले अन्तराष्ट्रिय स्तरमा समेत ख्याति कमाई सकेका छन् । झापाका सहकारीहरुले सदस्यहरुलाई वित्तिय कारोबारर गर्न बैंक भन्दा बढि पहुँच बचाएको छ । झापामा बैंक संग भन्दा बढि सहकारी संग बारोबार गर्न रुचाउने गरेका छन् । झापामा पुरुष भन्दा महिला सहकारीको पहुँचमा बढी रहेको पाइन्छ । सहकारीको पहुँचले गांउको दुर दराजमा समेत आर्थिक उन्नति भएको पाईन्छ । सहकारीको पहुँचले सदस्यहरुमा सहकारी शिक्षाको पनि विकास भएको छ । झापामा सहकारीकर्मीहरु बीचमा पनि अत्यन्त राम्रो सम्वन्ध रहेको छ । सहकारीहरु एक आपसका परिपुरकका रुपमा रहेका छन् । सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुरुप झापाका सहकारी संस्थाहरु चलेका छन् ।

अभिलेख

लोकप्रिय