‘मर्यादित सहकारीको परिकल्पना’

दीपककिरण श्रेष्ठ

कुनै पनि व्यक्ति सहकारीमा आवद्ध भई सकेपछि उसले आफूलाई सहकारीमा लागेमा गर्व गर्न सक्ने वातावरणको सिर्जना हुनु सक्नु पर्छ ।

खुला समाजमा सहकारीको आवश्यकताको सम्बन्धमा खुलेर बहस गर्न सक्ने हुनु पर्छ । सहकारीमा आवद्ध भएको अवस्थामा अरुले आफूप्रति गर्ने व्यवहार सम्मानजनक हुनुपर्छ । त्यो दिन मात्र मर्यादित सहकारीको परिकल्पना साकार भएको मान्न सकिन्छ ।  के यो दिन आज आइसकेको हो त ? विशेषतः काठमाडौं शहर केन्द्रित सहकारीको अवस्था हेर्ने हो भने यस्तो अवस्था आइसकेको छैन । काठमाडौंका अधिकांश व्यक्ति कुनै न कुनै रुपमा सहकारीमा आवद्ध छन् । तर पनि सहकारीमा आवद्ध भएकोमा धेरै व्यक्तिहरु किन गर्व गर्न सक्दैनन् ? यो प्रश्नको जवाफ प्रत्येक व्यक्तिले खोज्न जरुरी छ । पहिलो प्रश्न त, सहकारी कसको ? सहकारीमा कारोवार गर्ने सदस्यहरुमा सहकारी मेरो पनि वा हाम्रो भन्ने आत्मिय भावको कमी नै सबैभन्दा समस्याको जड हो । जवसम्म सहकारीका सदस्यहरुले आफूले कारोवार गरेको संस्थामा आफ्नोपन महसुश नगरी मात्र व्यापारिक आँखाले हेर्छन्, तबसम्म सहकारी सहकारीमय हुन सक्दैन । त्यहाँ व्यापार मात्र हुन्छ, त्यहाँ सदस्य हुँदैनन् ग्राहक हुन्छन्, ग्राहकले आफूले सेवा लिने संस्था वा संगठनको कहिल्यै माया गर्दैनन् ।

आजको सहकारी क्षेत्रको पहिलो चुनौति भनेको सदस्यमा सहकारी सचेतनाको कमी हो । जवसम्म राज्य, सहकारी अभियन्ता वा संस्था आफैले आफ्ना सदस्यहरुलाई सहकारी सचेतना सही रुपमा दिन सक्दैनन् तवसम्म मर्यादित सहकारीको परिकल्पना साकार पार्न सकिदैन । सबै सदस्यले आफ्नो सहकारी संस्थामा आफ्नो भुमिका कस्तो हुनुपर्छ र आफ्नो सहकारीको आर्थिक क्षमता कस्तो छ भन्ने जान्न सक्ने क्षमता हुनुुपर्छ । संस्थामा आफ्नो नियमसंगत भुमिका खोज्दा संस्थामा सुशासन लागु हुन सहयोग पुग्छ भने आफ्नो संस्थाको आर्थिक क्षमता मुल्यांकन गर्न सक्ने ज्ञान भएमा आफ्नो संस्थाप्रति विश्वास बढ्नुका साथै संस्थामा कुनै कारणवश आर्थिक समस्या आउन सक्ने देखिएमा समयमै सचेत गराउन सकिन्छ । यदि आफ्नो संस्थाप्रति सबै सदस्य सचेत र सजग हुने हो भने त्यो सहकारी संस्थामा गैरजिम्मेवारी काम हुन सक्दैनन् । प्रक्रियासँगत तरिकाले संस्था संचालन हुन्छ । प्रक्रियागत रुपमा संचालन भएको कुनै पनि संस्थामा गम्भिर समस्या आउने सम्भावना ज्यादै न्यून हुन्छ । यसै कारणले मर्यादित सहकारी संस्थाको परिकल्पना साकार पार्ने पहिलो सुत्र हो – जागरुक र सुसचित सदस्य ।

कालीमाटी भ्वाईस



प्रतिक्रिया दिनुहोस