साकोस एकरुपता प्रणाली के र किन ?

नेपालमा साकोस एकरुपता प्रणालीको अवधारणा सन् २०१४ देखि विस्तारित हुँदै गएको छ । नेफ्स्कूनले अगाडी सारेको यस अवधारणामा सदस्य संस्थाहरुको आकर्षण बढ्दो भएतापनि साकोस अभियानका केही स्वार्थपूर्ण अभ्यास यसको अवरोधकको रुपमा देखिएको छ

sanjay-timilsena

– सन्जय राज तिमिल्सीना

नेपालको बचत तथा ऋण सहकारी अभियानमा बढ्दै गइरहेको जोखिमको व्यवस्थापनका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले विभिन्न समाधान औजार (सोलुशन टुल्स) विकास गरेको छ । सहकारी विभागको पछिल्लो तथ्याङ्क (२०७२ असार मसान्त) अनुसार ३२ हजार ६ सय ६३ सहकारीहरु क्रियाशिल रहेकोमा बचत तथा ऋण सहकारीको संख्या मात्र १३ हजार ४ सय ६० र बहुउद्देश्यीय ४ हजार ३१ गरी १७ हजार ५ सय भन्दा बढि सहकारीहरुले मुख्य व्यवसायको रुपमा बचत तथा ऋणको कारोबार गरिरहेका छन् । बचत र ऋण दुबैमा प्रत्यक्षरुपमा नै नगदको कारोबार हुने हुनाले यस्तो व्यवसायमा अन्य व्यवसायको तुलनामा बढि जोखिम हुनु स्वभाविकै पनि देखिन्छ । यस्तो जोखिम नेपालमा मात्र नभएर विश्वभरी नै व्याप्त छ अनि सहकारीमा मात्र नभई बैंक तथा वित्तीय संस्थाहरुमा समेत उच्च तहमा रहने गर्दछ ।

सहकारी सदस्यहरुद्वारा सञ्चालित स्वायत्त उद्यम भएकोले नियन्त्रण प्रणाली अन्यको तुलनामा केही खुकुलो भएको पाईन्छ । यद्यपी केही देशहरुमा बैंक र अन्य वित्तीय संस्थाको भन्दा बचत तथा ऋण सहकारी नियमन र व्यवस्थापन कडा पारिएका उदाहरण समेत हामीले देखेसुनेका छौं । नेपालमा भने सहकारीको नियन्त्रण प्रणाली त्यति प्रभावकारी हुन नसकिरहेको सन्दर्भमा नेफ्स्कूनले आफ्ना सदस्य संस्थाको सुशासन व्यवस्थापन मार्फत सदस्यको बचतको सुरक्षा प्रत्याभुत गर्न र वित्तीय सुशासनयुक्त साकोस निर्माणको लागि एक्सेस, प्रोबेशन, जोखिम सुपरिवेक्षण जस्ता कार्यक्रमहरु अगाडी सारेको छ । यद्यपी यी कार्यक्रमका माध्यमबाट मात्र पनि वित्तीय सहकारी क्षेत्रलाई सुशासितरुपमा सञ्चालन गर्ने चुनौति पूर्णरुपमा समाधान गर्न त्यति सहज देखिंदैन । त्यसैले यस्ता चुनौतिको समाधानको निमित्त विकास गरिएको समाधान औजारको रुपमा साकोस एकरुपता प्रणालीलाई अगाडी सारिएको छ ।

आज बचत तथा ऋण सहकारी मात्र होइन कुनैपनि व्यावसायिक क्षेत्रमा जोखिम देखिएको छ भने त्यसको जडको रुपमा सिद्धान्तको गलत व्याख्या एवं प्रयोग भेट्न सकिन्छ

हाल नेपालमा साकोस एकरुपता प्रणालीको बुझाईमा केही विरोधाभाषहरु देखिएका छन् । जसले गर्दा यसको कार्यान्वयन पक्षलाई देशव्यापी बनाउन र उपत्यकामा पनि प्रभावकारी बनाउन सकिएको छैन । साकोस एकरुपता प्रणालीको कार्यान्वयनले साकोस अभियानमा सुशासन स्थापित गर्दा आफूखुशी गर्न नपाईने र संस्था व्यक्ति वा परिवारको नियन्त्रणबाट बाहिर जान्छ की भन्ने सोचले केही व्यक्तिहरु यसको गलत अर्थ लगाउन प्रयासरत पनि देखिन्छन् । उनिहरुले एकरुपता प्रणालीले साकोसको प्रजातान्त्रिक नियन्त्रणलाई कमजोर पार्ने, बजारमा स्वस्थ प्रतिष्पर्धा नभई साकोसको एकाधिकार स्थापित गर्ने जस्ता गलत तर्क अगाडी सार्दै यो अभियानलाई असहयोग गर्न उद्धत देखिन्छन् । जुन तर्कमा सैद्धान्तिक र व्यवहारिक कुनै पनि कोणबाट हेर्दा पुष्ट्याईं हुने आधारहरु देखिंदैन । तर जो स्वच्छ भावनाका साथ सहकारी अभियानमा जोडिएको छ, उसलाई एकरुपता प्रणालीले सहजता उत्पन्न गर्दछ र बजारको अस्वस्थ प्रतिष्पर्धाको मारबाट मुक्त गर्छ । त्यसैले उनिहरु यसको पक्षमा वकालत गर्दैछन् अनि नेफ्स्कूनले अगाडी सारेको यो अभियानमा आफूलाई अग्रपंक्तिमा दर्जगर्न प्रयासरत छन् । यो अवधारणा अन्तर्राष्ट्रिय सहकारी महासंघको परिकल्पना (भिजन) २०२० को मार्गदर्शन (ब्लुप्रिन्ट) अनुरुप पहिचानको व्यवस्थापनमा साकोसको छुट्टै एवं सञ्जालिकृत परिचयका निमित्त एशियाली ऋण महासंघले एशियाली बचत तथा ऋण सहकारीहरुका निमित्त अगाडी सारेको समाधान हो । यसले समग्र साकोसहरुको सञ्चालन, व्यवस्थापन र प्रविधि जस्ता कुराहरुलाई मापदण्ड निर्धारण गरेकोछ । एशियाली ऋण महासंघ (आकु)ले सञ्जाल व्यवस्थापनको रुपमा अगाडी सारेको यो अवधारणा अहिले नेपालमा अभियानको रुपमा स्थापित हुँदै गइरहेको छ । एकरुपता प्रणाली वास्तवमा बचत तथा ऋण सहकारीहरुको सैद्धान्तिक पक्षलाई व्यवहारिक प्रयोगमा मार्गदर्शन गर्ने अभ्यास हो । आज बचत तथा ऋण सहकारी मात्र होइन कुनैपनि व्यावसायिक क्षेत्रमा जोखिम देखिएको छ भने त्यसको जडको रुपमा सिद्धान्तको गलत व्याख्या एवं प्रयोग भेट्न सकिन्छ । त्यसैले साकोस एकरुपता प्रणाली साकोसहरुको सुशासन व्यवस्थापनको मुख्य आधारशिला बन्न सक्दछ, जसले साकोसका मुख्यरुपमा चार पक्षको व्यवस्थापन गर्दछ ः (१) श्रोतहरुमा पहुँच र एकरुपता, (२) स्तरीय कार्य सञ्चालन, (३) करारीय ऐक्यवद्धता र (४) सुशासन एवं स्वनियमन

श्रोतहरुमा पहुँच र एकरुपता

आज साकोसको पहुँचमा रहेका श्रोतमा रहेको विविधता, त्यसको व्याख्या, बुझाई एवं प्रयोगमा रहेको फरकपनाको कारण पनि आज वित्तीय सहकारीहरुमा अस्वस्थ प्रतिष्पर्धा भई संस्थाहरुमा वित्तीय जोखिम बढिरहेको छ । यसको समाधानका लागि एकरुपता प्रणाली अन्तर्गत साकोस अभियानले केन्द्रमा विकास गरेका प्रविधिहरु, तालिम शिक्षाका सामाग्रीहरु, तरलता व्यवस्थापनका सेवाहरु, वित्तीय सेवालाई सरल बनाउने सफ्टवयर, एटिएम एवम् साकोसका सदस्यहरुलाई लक्षित गरी सञ्चालन गरिने एकिकृत वीमाका सुविधाहरुलाई केन्द्र मार्फत सदस्य साकोसले उपयोग गर्न सक्नेछन् । जसले गर्दा स्वस्थ प्रतिष्पर्धात्मक अवस्थामा साकोसहरुको व्यवसाय गतिशिल हुनेछ ।

स्तरीय कार्य सञ्चालन

साकोसको पहिचान सहित समुदायमा बेग्लै छवी कायम गर्न हरेक साकोसमा स्तरीय नीति, कार्यविधि, लेखा, प्रविधि, सुरक्षित लगानी र लोगो तथा प्रतिनिधित्वमा केन्द्रले एकरुपता कायम गर्नेछ । जसले गर्दा नीति वा कार्यविधिका कारण आउनसक्ने जोखिम व्यवस्थित गर्न केन्द्रीय संघले निर्धारण गरेको मापदण्ड अनुरुपका छुट्टा छुट्टै नीतिहरु साकोसले अवलम्बन गर्न सक्नेछन् । केन्द्रले नीति र कार्यविधि निर्माण गर्दा छनौटका विकल्प सहित गर्नेहुनाले साकोसका नीति र कार्यविधिमा सामान्य फरकपना कायम रहनसक्नेछ । तर केन्द्रले तोकेको मापदण्डभन्दा बाहिर जाने वा पुरा नगर्ने गरी नीति निर्माण गर्न पाइने छैन । लेखा अभिलेखनको लागि केन्द्रले लेखामान र मापदण्ड कायम गर्नेछ भने साकोसहरुले उक्त लेखामान र मापदण्डका आधारमा आफ्ना कारोबारको अभिलेखन गर्नेछन् । जसले गर्दा अनावश्यक आम्दानी र खर्चलाई व्यवस्थापन गरी सदस्यहरुलाई न्यायोचित दायित्व निर्धारण एवं वितरणको प्रभावकारीता कायम हुनेछ । साकोसहरुले प्रयोग गर्ने प्रविधिहरुमा एकरुपता नहुँदा प्रतिवेदनको विश्वसनियता र तथ्याङ्कीय सुरक्षा समेत सुनिश्चित गर्न नसकिएको कारण थुप्रै संस्थाहरुमा जोखिम आएको पाइन्छ, यसको समाधान पनि साकोस एकरुपता प्रणाली अन्तर्गत गर्न खोजिएको छ । अझ मुख्यरुपमा लगानी सुरक्षाको लागि मापदण्ड कायम गरिएको छ । सदस्यको बचत र शेयरको रकम कुनै न कुनै किसिमले लगानीमा रहेको हुन्छ त्यसैले सुरक्षित लगानीको तात्पर्य लगानीलाई असहज बनाउने नभई सदस्यहरुको बचत र शेयर रकमको सुरक्षा भएकोले एकरुपता प्रणाली भित्रका मापदण्डको कार्यान्वयनबाट यसको सुनिश्चितता गर्न सकिन्छ । यी यावत् समाधानको लागि केन्द्रीय संघको सहयोग लिन सबै संस्थाहरु केन्द्रीय संघमा आवद्ध भई उनिहरुका प्रविधिलाई एउटै सञ्जालमा जोड्ने, केन्द्रीय संघमा ऐक्यवद्धता स्वरुप केन्द्रीय संघको लोगो प्रयोग गर्ने, संघमा प्रतिनिधित्वको लागि प्रतिनिधिको मापदण्ड निर्धारण गर्ने जस्ता विषयहरुलाई मुख्य रुपमा समावेश गरिएको छ ।

करारीय ऐक्यवद्धता

साकोसहरुले केन्द्रको आवद्धतालाई करारीय ऐक्यवद्धताको रुपमा लिई केन्द्रले जारीगर्ने मार्गदर्शन, निर्देशन, तोकिएको मापदण्ड अनुरुपका नीति, विधि, कार्यविधि र प्रविधिको प्रयोग, संस्थाको स्तर निर्धारण जस्ता विषयको कार्यान्वयन गर्न सबै सदस्य साकोसहरु मञ्जुर हुनु पर्नेछ । जसमा केन्द्रका वस्तु तथा सेवाहरु एवम् स्थिरीकरण कोषमा अनिवार्य आवद्धता जनाउनु पर्ने विषय समेत समावेश गरिएको छ । यसरी करारीय ऐक्यवद्धता नजनाउने वा केन्द्रले तोकेको मापदण्ड र मार्गदर्शन पालना नगर्ने साकोसहरुलाई केन्द्रीय संघले सदस्यताबाट निश्काशित गर्नसक्ने विषयहरु यस अन्तर्गत समावेश गरिएको छ । जसले सञ्जाललाई व्यवस्थित र बलियो बनाउँदै “एकका लागि सबै र सबैका लागि एक” भन्ने सहकारीभावको कार्यान्वयनलाई सुनिश्चित गर्दछ । हाल नेपालमा एकरुपता अन्तर्गतको दृष्यमा एकरुपता कायम गर्ने अभियान भने व्यापक भएको छ । जसले गर्दा अब नेफ्स्कूनका सदस्य संस्थाहरुको छुट्टै पहिचान स्थापित भएको छ ।

सुशासन एवं स्वनियमन

सुशासन र स्वनियमन अदृष्य तर संस्थाको सञ्चालनमा महत्वपूर्ण पक्षहरु हुन् । जो आफैं देखिंदैनन् तर अन्य कार्य, प्रणाली, नीति, प्रविधि र लाभ हानीकोरुपमा देखापर्दछन् । केन्द्रको नीति एवम् मार्गनिर्देशन बमोजिम स्वनियमनमा रहने, अनिवार्य प्रतिवेदन पेश गर्ने, तोकिएको ढाँचामा लेखा अभिलेख राख्ने र साकोसमा प्रजातान्त्रिक अभ्यासको प्रत्याभूति गर्नुका साथै सदैव जोखिम सुपरिवेक्षण गर्ने गराउने, जनशक्ति विकास र व्यवस्थापन, नेतृत्व विकास, अधिकार र कर्तव्यको बाँडफाँड जस्ता कुराहरु यस अन्तर्गत समावेश गरिएको छ ।

यसरी हेर्दा साकोस एकरुपता प्रणाली हाल साकोसमा देखिएका यावत् समस्या समाधानको औजारको रुपमा प्रयोग गर्न खोजिएको छ । यसले मापदण्ड भित्र रही प्रजातान्त्रिक अभ्यासलाई सुनिश्चित गर्ने हुनाले प्रजातान्त्रिक अभ्यास गुम्ने नभई सदस्यहरुको वास्तविक प्रतिनिधित्वको सुनिश्चितता पनि गर्दछ । नेपालमा एकरुपता प्रणालीको अवधारणा सन् २०१४ देखि विस्तारित हुँदै गएको छ । नेफ्स्कूनले अगाडी सारेको यस अवधारणामा सदस्य संस्थाहरुको आकर्षण बढ्दो भएतापनि साकोस अभियानका केही स्वार्थपूर्ण अभ्यास यसको अवरोधकको रुपमा देखिएको छ । यद्यपी हाल नेफ्स्कूनले एकरुपता प्रणाली कार्यान्वयनको लागि संघमा नीति र कार्यविधि निर्धारण गरी साकोसहरुको लागि नमुना नीतिको रुपमा बचत नीति, ऋण नीति, मानव संसाधन (कर्मचारी) नीति, आर्थिक नीति, सुशासन नीति, संगठन तथा सामान्य नीति, साधारण सभा सञ्चालन कार्यविधि, निर्वाचन निर्देशिका, योजना तर्जुमा कार्यविधि जस्ता नीतिगत आधारहरु तयार गरिसकेको छ । क्षेत्रीय र जिल्ला स्तरका अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गरी सदस्यहरुसँग करारीय सम्झौता मार्फत अगाडी बढेको नेफ्स्कूनले यसवर्ष दोलखा जिल्लालाई साकोस एकरुपता प्रणालीको नमुना जिल्ला बनाउने निर्णय गरिसकेको छ भने संघमा आवद्धहुने नयाँ सदस्य संस्थाहरु र सदस्य भइसकेका साकोसको हकमा तीन वर्ष भित्र अनिवार्य रुपमा एकरुपता प्रणालीमा आवद्ध हुनुपर्ने नीतिगत व्यवस्था समेत भएकोले आगामी तीनवर्ष भित्रमा नेपालका साकोसहरु एकरुपता प्रणालीमा आवद्ध हुने अपेक्षा गरिएको छ ।

(लेखक नेफ्स्कूनका सुचना अधिकारी हुन्)



प्रतिक्रिया दिनुहोस