नेफ्स्कून अपटेड : साधारणसभा तयारी पुरा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को २५ औं वार्षिक साधारणसभाको तयारी पुरा भएको छ ।

मुलुकभरबाट बचत तथा ऋण सहकारी जिल्ला संघ र प्रारम्भिक संस्थाका प्रतिनिधिहरु नेफ्स्कूनको वार्षिक साधारणसभामा भाग लिन काठमाण्डौं आउनेक्रम सुरु भएको छ । २०७३ पुस १ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ९ बजे सहकारी तथा गरीवी निवारण मन्त्री मा. हृदयराम थानीको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा सुरु हुनेछ ।

सहकारी अभियानको सबैभन्दा सशक्त पाटोको रुपमा अघि बढेको वित्तिय सहकारी अभियानको राष्ट्रिय छाता संगठनको रुपमा रहेको नेफ्स्कूनको २५ औं वार्षिक साधारणसभामा राष्ट्रिय सहकारी अभियानमा योगदान पुर्याउने व्यक्तित्वहरु, सर्वोत्कृष्ट संघसंस्थाहरु, प्रदेश र विभिन्न विधामा उत्कृष्ट हुने वचत तथा ऋण सहकारी संघसंस्थाहरु, नेफ्स्कून सहकारी पत्रकारितालगायत सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै मुलुकभरका राष्ट्रिय स्ट्याण्डर्ड (प्रोवेसन) मा सफलता प्राप्त गरेका बचत तथा ऋण सहकारीहरुलाई गुणस्तर प्रमाणीकरण गर्ने कार्यक्रमसमेत रहेको छ ।

मुलुकको ७४ जिल्लामा सञ्जाल रहेको नेफ्स्कूनको वार्षिक साधारणसभामा कुल २ हजार ८ सय ४२ सदस्यहरुमध्ये करीव २ हजार ५ सय सदस्य संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ । वार्षिक साधारणसभाले नेफ्स्कूनको प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र वार्षिक कार्यक्रम तथा बजेट छलफल गरी पारीत गर्नेछ ।

वार्षिक साधारणसभाले अध्यक्षसहित १९ सदस्यीय सञ्चालक समिति र संयोजकसहित ३ सदस्यीय लेखा समिति निर्वाचित गर्ने कार्यक्रमसमेत रहेको छ । सञ्चालक समितिमा १ अध्यक्ष, १ बरिष्ठ उपाध्यक्ष, १ महिला उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, ७ प्रदेशबाट ७ जना, ३ महिला र ४ खुला सदस्य रहनेछ ।



प्रतिक्रिया दिनुहोस