२५ श्रावण २०७७, आईतवार

सहकारी पत्रकारिता : हिजो, आज र भोली

१९ मंसिर २०७६, बिहीबार
सहकारी पत्रकारिता : हिजो, आज र भोली

संचारमाध्यमको धर्मलाई निर्वाह गर्दै गलत काम गर्ने सहकारी र तिनका सचालक विरूद्ध लेख्दा अभियानका नेताहरूको टाउको दुखाइ किन ? के सहकारी नेताहरू सुधार चाहदैनन् ? उनीहरू संचारमाध्यमको आलोचनात्मक सुझाव सुनेर सुन्न आवश्यक छैन र सहकारीले गरेका राम्रा कामको बारेमा किन समाचार बन्दैन त ?

यादव हुमागाई

नेपालमा वि.सं २०१० सालमा सहकारी विभागको स्थापना र २०१३ सालबाट सहकारी संस्था दर्ता भएको इतिहास छ । तर, लामो समय तत्कालीन राजनीतिक घटनाक्रमसँगै सहकारी क्षेत्र फस्टाउने अवसर भने पाएन् । लामो समयसम्म सरकार नियन्त्रित संस्थाका रूपमा सहकारी संस्थालाई अघि बढाइयो । जव २०४६ सालमा प्रजातन्त्र उदय भयो । जसपश्चात सरकारले अवलम्बन गरेको उदारवादी अर्थनीतिका कारण सहकारी क्षेत्रले पनि स्वतन्त्रताको अवसर पायो । सहकारी ऐन, २०४८ र सहकारी नियमावली, २०४९ का व्यवस्थाका कारण आम सर्वसाधारणले सहकारी संस्थाको छातामुिन समूहमा रही आफ्ना आर्थिक सामाजिक आवश्यकता परिपूर्तिका गर्ने वातावरण सिर्जना भयो । यही कारण सहकारी एउटा आन्दोलनका रूपमा स—सानो पुँजी, श्रम, सीप एकीकृत गर्दै गरिबी निवारण, आर्थिक तथा सामाजिक विकासका लागि एक महत्वपूर्ण क्षेत्रका रूपमा विकसित हुदै गयो । २०७६ सालसम्म आइपुग्दा राष्ट्रिय अर्थतन्त्रमा सहकारीले एउटा दरिलो उपस्थिति जनाइसकेको छ । सहकारी अभियानलाई व्यवस्थित रूपमा अघि बढाउनका लागि आम संचारमाध्यमको भूमिका यस लेखमार्फत उजारग गर्न खोजिएको छ । यसमा सहकारी ऐन, कानुन तथा सिद्धान्तको व्याख्या भन्दा पनि छुट्टै विटका रूपमा सहकारी पत्रकारिता गर्दाका अनुभवहरूलाई यहाँसामु प्रस्तुत गरेको छु ।

प्रजातन्त्रको उदयसँगै संचार माध्यम पनि स्वतन्त्र भए । जसका कारण संचारमाध्यमको पनि विकास हुन थाल्यो । अझ २०६२/०६३ को जनआन्दोलनको सफलता पछि त संचारमाध्यमको तीव्र विकास भइरहेको छ । देशमा संघीय व्यवस्थाको कार्यान्वयसँगै राजनीतिक स्थायीत्व संकेतले पनि लगानीकर्ताको आकर्षण दिनप्रतिदिन बढ्दो क्रममा छ । फलस्वरूप संचारमाध्यममा पनि नयाँ नयाँ लगानी थपिने क्रम तीव्र छ । संघीय राजधानीका साथै प्रदेश राजधानी र स्थानीय तहसम्म केन्द्रित भई आमसंचारमाध्यम संचालन हुन थालेका छन् ।

राष्ट्रियस्तरदेखि स्थानीयस्तरसम्म पत्रपत्रिकाका साथै टेलिभिजन, एफ. एम. रेडियो र अनलाइन संचारमाध्यमहरू बढिरहेका छन् । आमसंचारमाध्ययमा नयाँ नयाँ प्रविधिको प्रयोग समेत भइरहेको छ । संचारमाध्यम र पत्रकारिताको व्यवसायिक विकाससँगै यसमा देखिएको अर्को सकारात्मक पाटो भनेको विशिष्टकृत संचारमाध्यम र विशिष्टकृत पत्रकारिता हो । राष्ट्रियस्तरदेखि स्थानीयस्तरसम्म विशिष्टकृत संचारमाध्यममा विट रिपोर्टिङका रूपमा कुनै विषयमा मात्र केन्द्रित रही विशिष्टकृत पत्रकारिताको प्रचलन पनि बढिरहेको छ । यही क्रममा सहकारीलाई क्षेत्रलाई केन्द्रीत गर्दै संचारमाध्यम संचालन गर्ने तथा सहकारी विटमा पत्रकारिता गर्ने क्रम विकास हुन थालेको छ । सहकारी क्षेत्रमा मात्र केन्द्रित रही संचारमाध्यम स्थापना गर्ने र सहकारी विषयलाई बिट बनाएर पत्रकारितातर्फ समेत आकर्षण बढिरहेको छ ।


नेपालमा कृषकलाई मल, बिउ र पुँजी पु¥याउनका लागि सुरू गरिएको सहकारी क्षेत्रको दायरा वृद्धि भइरहेकै छ । आम सर्वसाधारणहरू स्वस्फूर्त रूपमा आवद्ध भई सहकारी संस्थामार्फत बचत ऋणका साथसाथै कृषि, उपभोक्ता, स्वास्थ्य, शिक्षा, स्वास्थ्य, संचार, यातायातलगायतका क्षेत्रमा समेत सहकारीमार्फत काम भइरहेको छ । संविधानमा सहकारीलाई सार्वजनिक र निजीसँगै आर्थिक आधारको रूपमा स्वीकार गरिएको छ । यसैगरी सहकारी दर्ता र नियमनको अधिकार स्थानीय सरकारसम्म प्रदान गरिएकाले प्रत्येक तहमा सहकारी संस्था आर्थिक तथा सामाजिक विकासका बलियो आधार बन्ने सम्भावना देखिएको छ । बलियो कानुनी र नीतिगत प्राथमिकताका कारण पछिल्लो समय सहकारीप्रति आकर्षण दिनप्रतिदिन बढ्दो क्रममा छ । सहकारी विभागकै तथ्याङ्क हेर्ने हो भने करिब ३५ हजार सहकारीमा ६३ लाख सर्वसाधारण आवद्ध छन् । सहकारीले देशको कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत र वित्तीय पहुँचमा २० प्रतिशत भन्दा बढी योगदान पु¥याएको तथ्याङ्क छ । यसैगरी सहकारीमार्फत अरबौं आर्थिक कारोबारसमेत भइरहेको छ । सरकारले सहकारीलाई दिएको प्राथमिकता, राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान र अभियानमा सर्वसाधारणको सहभागिताका कारण सहकारी क्षेत्रका संचारमाध्यमका लागि एक सशक्त विट बनेको छ । सहकारीका समाचार आम सर्वसाधारणदेखि नीति निर्मातासम्म चासोको क्षेत्र बन्न थालेको छ । सहकारीका ऐन कानुनी व्यवस्थादेखि सहकारी अभियानका संघसंस्थाका गतिविधिहरू संचारमाध्यमका हेडलाइनमा समेटिन थालेका छन् । जसका कारण सहकारी क्षेत्रका कमी कमजोरीलाई चिरफार गर्दै यसका सकारात्मक योगदान सरोकारवाला माझ पु¥याउन र सहकारी क्षेत्रको विकासमा सहयोग पुगेको अनुभव गर्न सकिन्छ ।

वर्तमान अवस्था अधिकांश सर्वसाधारण सहकारीसँगै कुनै न कुनै रूपमा जोडिएको र सहकारी आम चासोको विषय भएकाले सचारमाध्यमले समाचार तथा कार्यक्रममा सहकारीलाई प्राथमिकता दिन थालेका छन् । सबैभन्दा बढी प्राथमिकता छापा पत्रकारितामा पाएको देखिन्छ । राष्ट्रियस्तरमा आधा दर्जन सहकारी क्षेत्रका मासिक पत्रिका संचालनमा छन् । यसैगरी सहकारीलाई प्राथमिकता दिएका केही पाक्षिक र साप्ताहिक र आर्थिक दैनिक छन् । तरm ठूला मूलधारका दैनिकमा भने न्यून मात्र सहकारी समाचार आउने गरेका छन् । यस्तै सरकारले संचालन गरिरहेको रेडियो नेपालसहित अधिकांश एफएम रेडियोहरूले सातामा एक पटक भए पनि सहकारी कार्यक्रमहरू संचालन गरिरहेका छन् । छुट्टै कार्यक्रम बाहेक रेडियोका मुख्य समाचार बुलेटिनहरूमा भने सहकारी समाचारले कम प्राथमिकता नपाएको देखिन्छ । यसैगरी टेलिभिजनमा सहकारीसम्बन्धी एकाध कार्यक्रम छन् । पैसा लिएर प्रशारण हुने एडर्भोटेरियल प्रकारको कार्यक्रममा सहकारी बारे प्रशारण भए पनि समाचार बुलेटिनहरूमा भने प्राथमिकता कम पाएको अवस्था छ । यसैगरी पछिल्लो समयमा विकास भएको अनलाइन संचार माध्यममा भने तुलनात्मक रूपमा सहकारी विषयले प्राथमिकता पाएको छ । सहकारी विषयलाई नै प्राथमिता दिएर केही अनलाइनहरू पनि संचालनमा छन् ।

समग्रमा भन्ने हो भने सहकारी विषयमा संचार माध्यममा प्राथमिकता पाउने क्रम बढ्दो छ । तर, केही आर्थिक पत्रपत्रिकाबाहेक अझै अधिकांश संचार माध्यममा सहकारीको रिपोर्टिङका लागि छुट्टै पत्रकार राखेको अवस्था छैन । आर्थिक क्षेत्रकै बैकिङ, कृषि या अन्य विट गरिरहेको पत्रकारलाई सहकारीको जिम्मेवारी दिएको अवस्था छ । सहकारीका समाचार प्रकाशन÷प्रसारणमा कम प्राथमिकता भएकाले पनि पत्रकारहरू सहकारीका समाचार रिपोर्टिङमा त्यति उत्साहित नभएको यर्थाथता हामीसामु छ । संचारमाध्यममा पनि सहकारीका सकारात्मक काम भन्दा पनि नकारात्मक घटनाले बढी प्राथमिकता पाउने गरेको अवस्था छ ।

अबको बाटो ?

नेपालमा अहिलेसम्म सहकारीको संख्यात्मक वृद्धि उच्च भएको पाइन्छ । विशेष गरी आम सर्वसाधारसम्म सहकारीको बारेमा बुझाउन, सहकारीबारे जागरण गराउनमै संचारमाध्यम समेत उपयोग भएको देखिन्छ । सहकारीको संख्यात्मक विकाससँगै यस क्षेत्रमा विकृति विसंगतिसमेत देखिन थालेका छन् । अब सहकारीका विकृति विसंगतिलाई हटाउदै यसको गुणात्मक विकास अबको आवश्यक्ता हो । यही आवश्यकतालाई राज्यले पनि स्वीकार गरेर नयाँ सहकारी ऐन तथा नियमावली जारी गरेको छ । अब नयाँ ऐन र नियमावली अनुसार सहकारीलाई व्यवस्थित गर्न तथा सहकारीका विकृतिमा आम सर्वसाधारण तथा सरोकारवालाहरूलाई सचेत गराउनमा संचारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । संचारमाध्यम तथा संचारकर्मीको भूमिका नै गलत कामको खवरदारी र सकारात्मक कामको प्रचारप्रसार नै हो । तर, सहकारी क्षेत्रका विकृतिबारे लेख्दा संचारमाध्मप्रति गलत आक्षेप पनि लगाउने प्रवृति बढिरहेको छ । संचारमाध्यमको धर्मलाई निर्वाह गर्दै गलत काम गर्ने सहकारी र तिनका सचालक विरूद्ध लेख्दा अभियानका नेताहरूको टाउको दुखाइ किन ? के सहकारी नेताहरू सुधार चाहदैनन् ? उनीहरू संचारमाध्यमको आलोचनात्मक सुझाव सुनेर सुन्न आवश्यक छैन र सहकारीले गरेका राम्रा कामको बारेमा किन समाचार बन्दैन त ? संचारकर्मीको आँखाले हेर्दा सहकारीले गरेका राम्रा कामको पनि धेरै समाचार आएका छन् । तर, जुन रूपमा सहकारीकर्मीले चाहेका छन्, राम्रा कामको बारेमा पनि ब्यानर न्यूज बनोस् भनेर सो स्थान पाउने स्केलमा सहकारीको काम देखिएको छैन । फेरि सहकारी संस्थाले आफू कत्तिको पारदर्शी भएका छन त ? आफ्ना गतिविधि आमसंचारमाध्यममा पु¥याउन कत्तिको पहल गरेको छन् ? यसले पनि महत्वपूर्ण भूमिका खेल्दछ ।

हो, सकारात्मक कामको पनि समाचार बन्नुपर्छ । जसको कारण राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन मिलोस् । तर संचारकर्मी आफै जादुको छडी त होइन, जसले सबै किसिमका सूचनाहरू थाहा पाओस्, उसले त जनताका सुचना आमसंचारमाध्यममा पु¥याउने मात्र हो । त्यसैले लुकेका समाचार बाहिर ल्याउनका लागि सम्बन्धित पक्षले पनि पहल गर्नु आवश्यक छ । सहकारीमार्फत भएका सकारात्मक कामको बजारीकरण गर्न सकेमा अहिलेको सहकारीहरूले अन्तर्र्रािष्ट्रय छवि बनाउन सक्छन् । यसका लागि प्रारम्भिक संस्थादेखि राष्ट्रिय संघसम्मले व्यवस्थित र योजनाबद्ध तरिकाबाट अघि बढ्न जरूरी रहेको छ ।

संघीयतामा प्रवेश गरेसँगै सहकारीको दर्ता र प्रवद्र्धनकारी निकाय फेरिएको छ । समुदायमा आधारित हुने सहकारी संस्थाहरू अब स्थानीय सरकारकै मातहतमा रहने स्थानीय आर्थिक तथा सामाजिक विकासका सहकारीको भूमिका अझै महत्वपूर्ण रहन्छ । सहकारीले गरेका सकारात्मक कामको प्रचार र सहकारीमार्फत उत्पादित वस्तुहरूको प्रवद्र्धन गर्न सके सहकारीताको विकास र उद्यमशीलताको विकासमा समेत थप बल पुग्दछ । यस काममा सहकारी संस्थाका विषयगत जिल्ला संघ, केन्द्रीय संघ र राष्ट्रिय सहकारी महासंघका साथै नियमनकारी निकायले पनि भूमिका निर्वाह गर्न आवश्यक छ । सहकारी बिटलाई सशक्त र प्रभावकारी बनाउनका लागि सहकारीको नियामक तथा प्रवद्र्धन गर्ने निकाय, सहकारीका संघहरू र नेपाल सहकारी पत्रकार समाजलगायत सरोकारवालाको भूमिका सशक्ति बनाउन जरूरी छ । यसैगरी सहकारी क्षेत्रको प्रवद्र्धनका लागि संचारकर्मीको पहुँच हुनेगरी सहकारीको व्यवस्थित तथ्याङ्क राख्नुपर्ने अवस्था छ ।

अहिलेसम्म नेपालका सहकारीले कहाँ के गरेका छन् भन्ने विषय स्पष्ट रूपमा आउन सकेको छैन । सहकारीको दर्ता तथा अनुगमन गर्ने निकाय विभागले सहकारी क्षेत्रको योगदानको तथ्याङ्क बाहिर ल्याउन सकेको छैन । सहकारी बारे अध्ययन, अनुसन्धान, विश्लेषणलगायत प्राज्ञिक कार्य आवश्यक छ भने व्यवस्थित सूचना प्रणाली पनि आवश्यक रहेको देखिन्छ । यसैगरी संचारकर्मीलाई सहकारी विषययमा दक्षता अभिवृद्धि गर्नका लागि राष्ट्रिय तथा स्थानीय स्तरका तालिम कार्यक्रम पनि आवश्यक छ ।

साभारः सहकारी दर्पण–२०७६
प्रकाशकः सहकारी विभाग

अभिलेख

लोकप्रिय