२३ मंसिर २०८१, आईतवार

यसरी गरेको थियो नेपालले पहिलोपटक सार्क सम्मेलन

२०७१ मंसिर ९, मङ्गलबार
यसरी गरेको थियो नेपालले  पहिलोपटक सार्क सम्मेलन

 बि स २०४४ साल; नेपालसँग शिखर सम्मेलन गर्ने अनुभव त थिएन नै, सम्मेलनको लागी उपयुक्त सभागृह, शोभनीय अनि सुरक्षित विमानस्थल, छजना राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू र छजना परराष्ट्रमन्त्रीहरूसहितको ठूलो प्रतिनिधि मण्डलका लागि सुविधासम्पन्न आवास तथा ठूलो संख्यामा आउने सञ्चारकर्मीहरूलाई अत्यावश्यक सञ्चार सुविधाको पनि अभाव थियो । दयनिय अवस्थाको अन्तर्राष्ट्रिय विमानस्थलको ३० वर्ष पुरानो टर्मिनल भवन अनि १ दशकदेखी घाँस नकाटिएको धावनमार्ग क्षेत्र त थियो नै, यसका साथै अति विशिष्ट व्यक्तिहरूको स्वागतका लागि बनाइएको भवन मर्मत नभएको पनि डेढ दशक भइसकेको थियो । निकै पुरानो आगमन कक्ष, ससाना दुईटा कोठाको लाजलाग्दोे ‘विशिष्ट व्यक्तिहरूको कक्ष’ अनि यो कक्षको ढोकैअगाडि भन्सारको गोदाम, सडकमै छरपस्ट छरिएका सामानहरू र मानिसको सधैं हुने घुइँचो ।
तर श्री ५ वीरेन्द्रको नेतृत्व सशक्त थियो, प्रधानमन्त्री मरिचमान सिंहको लगनशीलता उल्लेखनीय थियो अनि आमजनतामा अपार उत्साह थियो । यसै क्रममा ०४४ जेठमा श्री ५ वीरेन्द्रको उपस्थितिमा राजदरबारमा उच्चस्तरीय बैठक बस्यो । बैठकमा प्रधानमन्त्री मरिचमान सिंहको अध्यक्षतामा शिखर सम्मेलन आयोजक समिति पनि गठन गरी श्री ५ वीरेन्द्रले दुइटा निर्देशन दिनुभयो । (१) देशको प्रतिष्ठा गाँसिएको हुनाले शिखर सम्मेलनमा कुनै पनि त्रुटि कसैबाट पनि नहोस् । (२) फजुल खर्च नहोस्, सबै व्यवस्था हामीले नै गर्नुपर्छ, विदेशीसँग हात थाप्नु हुँदैन ।
शिखर सम्मेलनमा भाग लिन आउने सार्कका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको आवासका लागि सोल्टी होटेलभित्र पस्नेबित्तिकै दाहिनेतिर रहेको भवन सोही समयमा निर्माण भएको हो । पाएसम्म स्वदेशी वस्तुबाटै सजाइएक विशिष्ट पाहुनाहरूहरुका छवटै सुइटहरू एकैखालका बनाइएका थिए । राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूलाई राजाका तर्फबाट स्वागत गर्ने कार्यक्रमको पूर्वाभ्यासका लागि आयोजक समितिका सदस्यहरूसँगै सम्मेलनको तीन दिनअघि त्यहाँ श्री ५ वीरेन्द्र स्वयं पुगेर सरिक भएका थिए । यसका साथै शिखर सम्मेलनका लागि सभास्थल र सार्क सचिवालय भवन खोज्ने काममा श्री ५ वीरेन्द्र बसमा चढेर आयोजक समितिका सदस्यहरूसँगै त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय सभागृह र प्रज्ञा प्रतिष्ठान पुगेका थिए, र अन्त्यमा विभिन्न पक्षमा विचार गरेपछि नेपाली पुँजीबाट बनेको प्रज्ञाप्रतिष्ठान सम्मेलनस्थलका रूपमा विकास चयन भएको थियो ।
शिखर सम्मेलनको तयारी पूरा हुने अवस्थामा थियो, अचानक भारतले आफना प्रधानमन्त्रीका लागि एउटा थप बुलेटप्रुफ मर्सिडिज बेन्ज गाडी चाहिने र यसको व्यवस्था हुन नसक्ने भए प्रधानमन्त्री सुरक्षाका कारण आउन नसक्ने जानकारी पठाएको समाचार आयो । काठमाडौंमा जगेडा बुलेट प्रुफ मर्सिडिज नभएको कुरा भारतलाई थाहा थियो । तर सम्मेलनको १० दिनअघि आएको भारतको यस्तो सर्तले शिखर सम्मेलन हुने कुरामै प्रश्न खडा भयो । नेपालले शिखर सम्मेलन गर्न नसकोस् भन्ने भारतको मनसाय भएको अथवा श्रीलंकामा भारतको सैनिक हस्तक्षेपको काठमाडौं शिखर सम्मेलनले विरोध गर्न सक्ने सम्भावना टार्न यो निहुँ बनाएको हुन सक्नेजस्ता विश्लेषण र अनुमान पनि बैठकमा गुन्जिए ।
अन्तत: समारोहका स्वागत, सत्कार तथा आवास समितिहरूको अध्यक्षतथा मन्त्री रमेशनाथ पाण्डेले लुफथान्सासंग भएको आफ्नो पुरानो सम्वन्धका कारण असम्भव जस्तै भएको यो कार्य पनि सफल हुन पुज्ञो, र हट्यो नेपालमा हुन थालेको पहिलो क्षेत्रीय शिखर सम्मेलन सामुन्ने भारतद्वारा खडा गरिएको अवरोध ।
शिखर सम्मेलन सुरु हुनु पाँच दिन पहिले फेरि अर्को गम्भीर छेकवार माल्दिभ्सबाट आयो । तत्कालिन राष्ट्रपति गयुमले राजालाई फोन गरेर आफ्नो देशको विमानसेवा नभएको र माल्दिभ्सबाट काठमाडाैं आउन अरू विमानसेवा नपाएर अप्ठ्यारो परेको बताउनुभएछ । श्रीलंका र भारतबीचको तनावपूर्ण सम्बन्धका कारण एयर श्रीलंकाबाट माले-कोलम्बो भएर काठमाडौं आउने इच्छा माल्दिभ्सका राष्ट्रपतिले नगरेको अनुमान गरियो । सार्क घोषणापत्रअनुसार एकजना राष्ट्राध्यक्ष वा सरकार प्रमुख आएनन् भने पनि शिखर सम्मेलन नै स्थगित हुने भएकाले चिन्ता भयो । त्यस पछी शानेवानिको नियमित सेवालाई कोलम्बोबाट माले पठाएर राष्ट्रपति गयुमलाई ल्याउन सकिने उपाय अनुरुप शिखर सम्मेलन सामुन्ने देखा परेको यो छेकवार पनि हटाइएको थियो ।
अन्तत: शिखर सम्मेलन समाप्त भएपछि स्वदेश फर्किने बेला बिदाइ भेटका क्रममा तत्कालिन भारतिय प्रधानमन्त्री राजिब गान्धिले भनेका थिए कि ‘यस्ता सम्मेलनहरू हामी पनि बरोबर गरिरहन्छौं । सम्मेलनको प्रारम्भ हामीकहाँ पनि त्रुटिहीन नै हुन्छ तर समापन भने तपाइर्ंहरूको जस्तो व्यवस्थित कहिलेकाहीं मात्रै हुन्छ ।’

अभिलेख

लोकप्रिय