काठमाडौं । कतिपय उम्मेदवारले संविधासभा निर्वाचनमा आफु अध्यक्ष रहेको सहकारीकै रकम चुनाव खर्चमा दुरुपयोग गरेका खबरहरु प्राप्त भएका छन् । एमाले नेता राजेन्द्र पाण्डेदेखी खोटाङका काँग्रेस नेता नरेश श्रेष्ठसम्मले सहकारीका पैसा हिनामिना गरेको रिपोर्ट प्राप्त भएको छ । सयौं सदस्यहरुले जम्मा गरेको रकम हिनामिना गरिएको छ । नियम बमोजिम सहकारीको रकम सामूहीक हित र आयुमलुक काममा खर्च गर्नुपर्छ । तर आफुलाई सहकारी आन्दोलनका अगुवा भन्नेहरुले नै सहकारीको रकम चुनावमा लगाएका हुन् ।
एमाले नेता राजेन्द्रप्रसाद पाण्डेले चुनाव जित्न आफु अध्यक्ष रहेको सहकारीकै करीब पाँच करोड रुपैयाँ खर्च गरेको जानकारी प्राप्त भएको छ । सहकारी सुत्रका अनुसार पाण्डेले नेपाल स्वास्थ्य सहकारी संघको कोषमा रहेको पैसा चुनाव खर्चका लागि झिकेका हुन् । पाण्डे यो कोषका अध्यक्ष हुन् । उनले सहकारीका कोषाध्यक्ष एवं अर्का एमाले नेता वंशीधर मिश्रसँगको मिलेमतोमा यसरी कोषको पैसा आफुखशी खर्च गरेका हुन् ।
सहकारी आन्दोलनका अगुवा पाण्डेले धादीङबाट निर्वाचन जित्न करोडौं खर्च गरेका थिए । उनले धादिङका चेपाङ वस्तीहरुमा रक्सी र पैसा बाँडेका थिए । पटक–पटक खशी ढालेर भोज पनि लगाएका थिए । चुनाव खर्चका लागि उनले स्वयम्भूमा दुई रोपनी जमीनमा बनेको आफनो घर पनि बेचेका थिए । पाण्डेले त्यही घर बेचेको करीब ६ करोड रुपैयाँ चुनावमा खर्च गरेको हुनसक्ने धेरैको अनुमान थियो । तर, अहिले अर्को तथ्य के खुल्यो भने उनले घर बेचेको पैसा सुरक्षीत राखेका रहेछन् र सहकारीको पैसा चलाएका रहेछन् ।
एमालेका नेता कार्यकर्ता र धादिङका व्यवसायीको करोडौं रकम जम्मा भएको सहकारीमा पाण्डेले सहकारीका अन्य सदस्यको राय नलिई आफू खुशी करोडौं रकम खर्च गरेको खबरले सहकारी सदस्य रुष्ट बनेका छन् । ‘पाण्डेजीले ऋणको रुपमा करीब पाँच करोड निकासा गरेको भन्ने सुन्यौं, त्यसरी अध्यक्ष र कोषाध्यक्ष मिलेर आफु खुशी रकम खर्च गर्न पाइँदैन’, एक सहकारी सदस्य भन्छन् । सहकारीको रकम सहकारीको उद्देश्य र सामुहीक हित बमोजिमका काममा लगानी गर्नुपर्छ । सहकारीको रकम निर्वाचन प्रचारमा खर्च गर्नु सहकारी सिध्दान्त र उद्देश्य विपरीत भएको सहकारी आन्दोलनकर्मी बताउँछन् ।
मनमोहन अधिकारीजस्ता नेताको नाममा स्थापीत सहकारीलाई पाण्डेले दुहुनो गाइ बनाउन थालेपछि कतिपय सहकारी सदस्यले यसबाट हात झिक्ने मुड बनाइरहेको पनि बुझिएको छ ।
नेपाल स्वास्थ्य सहकारी संस्थाले देशका पाँचओटै विकास क्षेत्रमा सहकारी अस्पताल सञ्चालन गरिरहेको छ । यसले इटहरी, बुटवल, लालबन्दी, सुर्खेत र कैलालीमा सहकारी अस्पताल सञ्चालन गरेको छ । संस्थाले मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ मेडिकल साइन्सको नामबाट मेडिकल कलेजसमेत सञ्चालन गरिरहेको छ ।
उता, खोटाङमा काँग्रेस उम्मेदवार नरेशकुमार श्रेष्ठले पनि निर्वाचन खर्चका लागि आफु अध्यक्ष रहेको युगदर्शन तथा ऋण सहकारी संस्थाबाट प्रचलित कानुनी व्यवस्थाको उल्लंघन गरी दुई व्यावसायिक कम्पनीका नाममा बिना धितो सवा तीन करोड रुपैयाँ ऋण लिएका थिए । सहकारी संघरसंस्था दर्ता, सञ्चालन, लेखा परिक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड २०६८ विपरीत श्रेष्ठले सहकारीबाट आफ्नो लगानी रहेको ‘हाम्रो आवास कम्पनी हेटौंडा’ र ‘हाम्रो युगदर्शन इन्भेस्टमेन्ट’ नामक कम्पनीका नामबाट बिनाधितो सवा तीन करोड ऋण लिई अख्तियारको दुरुपयोग गरेका हुन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका श्रेष्ठले संविधानसभामा खोटाङ –२ बाट चुनाव जित्न यो रकम खर्च गरेका हुन् । खोटाङबाट राजधानीमा आइबसेका व्यक्ति मिलेर खोलेको यो सहकारी श्रेष्ठको लापर्बाहीकै कारण डुब्ने अवस्थामा पुगेको छ । संस्थाको वित्तीय स्थिति ऋणात्मक हुन पुगेको र शेयर होल्डर तथा डिपोजिटरहरूले जम्मा गरेको करिब ७ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको ठहर हालै बसेको सहकारीको साधारणसभाले गरेको छ । साभार : रातोपाटी डट कम